५ जेष्ठ २०८१, शनिबार

तातोपानी नाकाबाट आयात-निर्यात सहज गरिने


तातोपानी नाका

मेलम्ची, २ वैशाख । नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्य वस्तु आयातनिर्यात सहज रूपमा गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा भएको नियमित बैठकमा सो सहमति भएको जानकारी दिँदै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले अब नेपाली पक्ष सामान ढुवानी गर्न पहिले जसरी खासा पुग्नु नपर्ने बताउनुभयो ।

अब मितेरी पुलपारि चिनियाँ क्षेत्रमा सामान ढुवानी गर्न जाने नेपालीको स्वास्थ्य प्रमाणपत्र अनिवार्य हुनुपर्ने सहमति भएको छ । सामान ढुवानी गर्न जाने कन्टेनरका चालक, सहचालक र मजदूरले जाङ्मुपोर्टको भन्सार यार्ड प्रवेश गर्नुपूर्व स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्नेछ । ‘चिनियाँ पक्षले न्यालमबाट ल्याएका सामान मितेरी पुलपारि भन्सार यार्डमा अनलोड गर्ने र नेपाली कन्टेनरमा लोड गरेर लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्ने निर्णय भएको छ’, बैठकमा अध्यक्षता गर्नुभएका प्रजिअ ढकालले भन्नुभयो ।

निर्णयानुसार चिनियाँ पक्षले मितेरी पुलसँगै जोडिएको भन्सार यार्डमा सामान ल्याएर नेपाली पक्षलाई दिनेछन् । मितेरी पुलपारि भन्सार यार्डमा सामान आएपछि लार्चास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई चिनियाँ भन्सारले जानकारी गराउनेछ । पूर्वजानकारीअनुसार सामान डेलिभरी गर्ने व्यवस्था भन्सार कार्यालयले गर्ने जनाइएको छ ।

दुवै देशका नागरिकले पनि मितेरी पुल पार गर्दा ‘हेल्थ सर्टिफिकेट’ देखाउनुपर्नेछ । सीमामा नेपाल–चीन दुवैपट्टि हेल्थ डेस्क स्थापना गरिएका छन् । बैठकमा नेपालतर्फबाट प्रअिज ढकालसहित सुरक्षा निकाय, अध्यागमन, भन्सार, जिल्ला जनस्वास्थ्य र क्वारेन्टाइनका प्रमुख गरी नौ सदस्य तथा चीनका तर्फबाट स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लाका सिडियो फेङ लि वीलगायत सात जना सहभागी हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !