काठमाडौँ । नेपाल बैंक लिमिटेडले मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको परिवारलाई बिमा दाबी रकम भुक्तानी गरेको छ।
नेपाल बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहेका शिक्षक यादवकोे गत जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परी मृत्यु भएको थियो।
उनको परिवारलाई नेपाल बैंक लि. द्वारा दुर्घटना बिमा दावी रकम वापत रु. पाँच लाख भुक्तानी गरेको बैंकले जनाएको छ।
बैंककोे कर्मचारी तलब खाता अन्तर्गतको विशेषता बमोजिम खाता खोलेको एक वर्ष भित्र ग्राहकको मृत्यु भएमा रु. ५ लाख सम्मको दुर्घटना बिमा पाउनसक्ने व्यवस्था अनुसारको माग दाबीको अविलम्ब भुक्तानी गरिएको हो।
बैंकले असार २२ गते एक कार्यक्रम आयोजना गरी मृतक यादवकी श्रीमती अमिरा कुमारी यादवलाई बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले बिमा दाबी रकमको चेक हस्तान्तरण गरे।
सो समारोहमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंक लि. ले आफ्ना ग्राहकहरूका वित्तीय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आइरहेको र आगामी दिनहरूमा पनि उत्कृष्ट ग्राहक सेवा र सुरक्षालाई उच्च प्राथमिकता प्रदान गर्दै जाने बताए।
स्व. रघुनन्दन यादवकी पत्नी अमिराले दु:खको बेलामा बिना कुनै झन्झट नेपाल बैंक लि. बाट प्राप्त यो आर्थिक रकमले परिवारको भरणपोषणमा धेरै राहत पाएको महसुस गरेको बताइन्।












