९ असार २०८१, आइतबार

अव घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री प्रवर्द्धन गरिने


रमेश रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्द्धन गरिने बताएका छन् । आज बिहिबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले यस्तो बताएका हुन् ।

ठुला उद्योगी हावी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रबर्दनको व्यवस्था मिलाइने मन्त्री रिजालले स्पष्ट पारे । मन्त्री रिजालले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने बताएका हुन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ । सोहि अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवर्द्धन सम्वन्धी रोड म्याप समेत प्रस्तुत गरिएको थियो ।

छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङको समेत उपस्थिति रहेको थियो । छलफलमा बोल्दै अर्थमन्त्री महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा बिशेष ध्यान पुर्याउनु पर्ने बताए । त्यसैगरी कानुनमन्त्री गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्द्धनका लागि स्पष्ट कानुनप्रति संबेदनशील हुनुपर्ने बताए ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थिति रहेको थियो । त्यस्तै, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, वाणिज्य तथा आपूर्ती सचिव नारायणप्रसाद दुवाडी तथा प्रदेशका मूख्य सचिवहरुको उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !