३ असार २०८१, आइतबार

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए सपथ


चन्द्रप्रसाद ढकाल

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औं वार्षिक साधारण सभाबाट सञ्चालक समिति सदस्य र नव-निर्वाचित सञ्चालक समितिको पहिलो बैंठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिटेन्स सेवा प्रदान गर्ने सानो कम्पनीको रूपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति-निर्देशन अनुसार काम गर्दै जाँदा अहिलेको स्थानमा आइपुगेको बताए ।

बैंकलाई अहिलेको अवस्थासम्म पुर्‍याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पुर्‍याएको सहयोगबारे स्मरण गर्दै उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए ।

ढकालले नेपाली बैंकहरूले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको सपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरूलाई आजै सपथ गराएका छन् ।

ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरूमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायण प्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

सपथ ग्रहण समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरूको समेत उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !