४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्र बैंकद्वारा ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण माग


नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण माग गरेको छ । राष्ट्र बैंकले सुपरीवेक्षण विभागले वाणिज्य बैंकहरुलाई पत्र काटेर ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको हो ।

अनुसन्धान गर्नका लागि भन्दै यस्तो विवरण उपलब्ध गराउन २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । विभागका निर्देशक रोशनकुमार सिग्देलले ढाँचासहित पत्राचार गरेर यस्तो विवरण उपलब्ध गराउन भनेका छन् ।

अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो ? लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ । माघ २४ गतेसम्म उक्त विवरण पठाई सक्न राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ ।

हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । यसबाहेक शंकास्पद कारोबार सम्बन्धमा अनिवार्यरुपमा वित्तीय जानकारी इकाईमा बैंक तथा वित्तीय संस्थाले जानकारी दिनुपर्ने प्रावधान छ । तर, अहिले ७ लाख रुपैयाँभन्दा माथिका सबै नगद कारोबारको विवरण राष्ट्र्र बैंकले बैंकहरुसँग मागेको छ ।

सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे गैरस्थलगत सुपरिवेक्षणको क्रममा यस्तो विवरण माग गरेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।

खासगरी पछिल्लो समयमा क्रिप्टोकरेन्सी लगायत गैरकानुनी डिजिटल कारोबारमा बैंकहरुको निक्षेप उपयोग भएको आशंकामा राष्ट्र बैंकले नगद कारोबारको विवरण मागेको स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !