१४ बैशाख २०८१, शुक्रबार

धितोपत्र बोर्डको अध्यक्षमा १५ जनाले दिए आवेदन


नेपाल धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएको छन् । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तका लागि गठित छनोट तथा सिफारिस समितिले १५ पुस गते दोस्रो पटक सूचना प्रकाशन गरेकोमा आवेदन दिने अन्तिम दिन आजसम्म १५ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याललले आवेदन दिएका छन् ।

यसअघि आवेदन दिएका आईक्यानका पूर्व अध्यक्ष कृष्ण आचार्यले भने यसपटक आवेदन दिएका छैनन् । यसअघि नै आवेदन दिएका ११ जना र अन्य खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेल गरी थप ४ जनाले आवेदन दिएसंगै आवेदकको संख्या १५ जना पुगेको हो ।

अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेपनि सो आवेदनलाई रद्द गर्दै पुनः दोस्रो सूचना प्रकाशन गरेको थियो ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछि लामो समयदेखि बोर्ड अध्यक्षविहीन रहेको छ । रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भन्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र आज पुस २९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरेको थियो ।

आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको समेत हुनुपर्ने सूचनामा उल्लेख गरिएको थियो । बोर्ड अध्यक्ष सिफारिस समिति योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा जीवनाथ भुषाल रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !