७ बैशाख २०८१, शुक्रबार

कुमारी बैंकको सिष्टम नै ह्याक गर्ने अपरिचित समूहद्वारा चेतावनी


सिस्टम ह्याक

काठमाडौँ । अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिए । उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको छ ।

धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जनाएको छ । बैंकले आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ । धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ ।

कुमारी बैंकमा आएको चेतावनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन आग्रह गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको जानकारी दिए ।

“हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौँ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन”, उनले भने । यसअघि गत साउनमा राष्ट्रिय वाणिज्य बैंक लगायतका बैंकलाई समेत सिष्टम ह्याक गर्ने धम्की आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !