६ बैशाख २०८१, बिहिबार

भीमदत्त नगरपालिकाले ल्यायो ‘म मेरो नगर बनाउँछु’


भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले ‘मेरो नगर म बनाउँछु’ भन्ने नारासहित स्वच्छ र हरियाली सहर बनाउन, प्रदेश र सङ्घ सरकारीसित साझेदारी गर्ने भएको छ । कार्यक्रम अन्तर्गत नगर सरसफाईसँगै हराभरा नगर बनाउने योजना नगरपालिकाले अघि सारेको छ ।

सामुदायिक विद्यालयको गुणस्तरमा सुधार्नका लागि एक वडा, एक नमूना विद्यालय बनाउने योजना समेत नगरपालिकाको रहेको छ । नगर क्षेत्रका शिक्षण संस्थाका शैक्षिक गुणस्तर सुधारका लागि एक वडा एक नमूना विद्यालयको नीति लिइएको छ ।

आगामी वर्ष पूर्ण साक्षर नगर घोषणा गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि सामुदायिक अध्ययन केन्द्र, स्वयं सेवक र विद्यार्थी परिचालन गर्ने कार्यक्रम आएको छ । आगामी वर्ष ‘म स्वस्थ मेरो नगर स्वस्थ, निरोगी भीमदत्त’ कार्यक्रमलाई समेत अघि सारिएको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई आगमी वर्ष पनि निरन्तरता दिइएको नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनुभयो । सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिएर प्रसूती सेवा विस्तार गर्ने नीति लिएको छ ।

आगामी वर्ष सार्वजनिक स्थानमा नगर योग केन्द्र सञ्चालन गर्ने, दुई सय विपन्न परिवारका लागि स्वास्थ्य बीमा गर्न बजेटको व्यवस्था गरिएको नगर प्रमुख बिष्टको भनाइ छ ।

आगामी वर्षका लागि महिलाका लागि सहेली नारी उत्थान कार्यक्रम, सुरक्षित नारी, समृद्ध नारी, एक वडा एक पर्यटन गन्तव्य, भरोसा कृषि प्रवद्र्धन कार्यक्रम, एक वडा एक उत्पादन लगायत कार्यक्रम पनि बजेटमा समावेश गरिएका छन ।

सहकारी क्षेत्र बलियो बनाउन एक सहकारी एक वस्तु उत्पादनको नीति लिइएको छ । मेयर उद्यमशिलता विकास कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षमा नेपाल बैंक लिमिटेडसँग साझेदारी गरी यो कार्यक्रम सञ्चालन गरिएको हो ।

नगरपालिका क्षेत्रका वन क्षेत्रलाई आय आर्जनसँग जोड्न एक वडा एक उद्यम कार्यक्रम सञ्चालनका लागि समेत बजेटको व्यवस्था गरेको छ । यसैगरी एक वडा एक उद्यान कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

फोहरबाट मोहर र मेरो सहर म आफैं सफा गर्छु अभियान सञ्चालनका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु एक अर्ब ५९ करोडको बजेट पारित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !