सर्लाही १४ असोज । जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
“उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको छ, अझै २.५ प्रतिशत बजेट कम निकासा हुन बाँकी छ”, कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले बताउनुभयो । गत आर्थिक वर्षमा किसानहरुले पाउनु पर्ने रकम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष पठाएको हो ।
जिल्लाको सर्वेअनुसार उखु किसानका लागि रु २१ करोड ७९ लाख ३८ हजार ६५ निकासा हुनुपर्ने थियो । आव २०७७/७८ को बजेट वक्तव्यमा अर्थ मन्त्रालयले मुलुकभरका उखु किसानलाई दिनुपर्ने सरकारी अनुदानका लागि रु ९५ करोड छुट्टयाएको थियो ।
हाल सो रकम दामासाहीका हिसाबले जिल्लागत रुपमा निकासा गर्दा २.५ प्रतिशतले कमी रकम सर्लाही आएको हो । केही दिनभित्रै जिल्ला भुक्तानी समितिको बैठक बसेर किसानलाई भुक्तानी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने कोलेनिका प्रमुख थपलियाले बताउनुभयो ।
बजेट कम भएकाले एकसरो भ्याएजति किसानलाई भुक्तानी सक्ने र बाँकी किसानलाई बाँकी रकम निकासा भएपछि भुक्तानी गर्न सकिने गरी काम अगाडि बढाउने भन्नेबारेमा छलफल भइरहेको समितिका सदस्यसचिव समेत रहनु भएका कोलेनिका प्रमुख थपलियाले बताउनुभयो ।
केही वर्षयता सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ५३६.५६ तोक्ने क्रममा उद्योगीले रु ४७१.२८ तथा सरकारले प्रतिक्विन्टल रु ६५.२८ अनुदानस्वरुप किसानलाई उपलब्ध गराएको छ । सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । तीनवटा चिनी उद्योग रहेको सर्लाहीमा २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको हरिवन११ स्थित इन्दुशङ्कर चिनी उद्योग लिमिटेडका उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो ।