१३ जेष्ठ २०८१, आइतबार

शुरु भए महत्वपूर्ण आयोजनाका काम


बलेवा, २४ वैशाख । लकडाउन र कोरोना भाइरस सङ्क्रमणका कारण अवरुद्ध भएका विकास योजनालाई बागलुङमा निरन्तरता दिइएको छ ।

विशेषगरी राष्ट्रिय गौरवका आयोना तथा नगर विकास कोषको अनुदानमा गरिने काम थालिएको हो । दुई महिनादेखि अवरुद्ध भएपछि तोकिएको समयमा सक्नैपर्ने बाध्यताका योजनामा काम थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दण्डपाणि शर्माले बताउनुभयो ।

नेपाल सरकारको गृहमन्त्रालयले जारी गरेको सात बँुदे निर्देशन पालना गर्ने गरी स्थानीय मजदुरबाट सामाजिक दूरी कायम गरेर गर्न सकिने काम मात्रै थालिएको हो । “हामीले नयाँ सम्झौता गरिएको छैन, पुराना सक्नैपर्ने काममा हात हालेका हौँ”, शर्माले भन्नुभयो, “असार मसान्तसम्म नसक्दा अनुदान गुम्ने आयोजनामा स्थानीय मजदुर प्रयोग गरेर सक्न निर्देशन दिएका हौँ ।

बागलुङ बसपार्कको काम पनि थालिएको छ । वैशाख २५ गते म्याद सकिनै लागेको बसपार्कको कामलाई लकडाउनकै समस्या देखाएर असार मसान्तसम्म लम्ब्याउन पाइने भएपछि काम थालिएको हो । तर बसपार्कको सबै काम सकिनेमा भने नगरपालिका पनि विश्वस्त छैन । ठेकेदार कम्पनीले स्थानीय मजदुर खोजेर काम गर्न थालेको बताएको छ । तर कामदार अभावले समयमा नसकेमा म्याद थप्न आग्रह पनि गरेको छ ।

नगर विकास कोषको अनुदानमा गत भदौमै बसपार्क निर्माण सकिने गरी निर्माण थालिएको थियो । करोडाँै रकम फ्रिज गर्नुभन्दा तीन महिनामा धेरै काम सकिएला भनेर लगाएका हौँ”, शर्माले भन्नुभयो, “काम नसकिएमा नगर विकास कोषमा थप अनुरोध गरेर काम सक्न पहल हुनेछ ।” नगरपालिकाले बलेवातर्फ कुश्मीसेरा जाने सडक, भीरलाँकुरीमा निर्माण गर्न लागिएको खानेपानीट्याङ्की बनाउने तथा खानेपानी विस्तार योजना र प्रदेश सरकारको अनुदानबाट गरिने काममा शर्तसहित थालिएको हो । यसअघि अन्य पालिकाले पनि लकडाउनको समयमा बसेका मजदुर प्रयोग गरेर विकास निर्माण थाल्ने तयारी गरेका थिए । तीमध्ये बरेङ गाउँपालिकाले मजदुर खोजेर काम थाल्ने बताएको थियो । जैमिनी, गलकोटलगायतका नगरपालिकाले भएकै मजदुर प्रयोग गरेर सडक, पुल र खानेपानी आयोजना निर्माणमा तीव्रता दिएको बताएका छन् ।

अधिकांश विकास योजनामा बाहिरी जिल्लाका मजदुर आउने चलनले धेरैजसो विकास प्रभावितसमेत भएका छन् । बागलुङभित्रैका मजदुरबाट सदरमुकामको ढल निकासलगायतका अन्य काम पनि गर्ने तयारी छ । नगरपालिकाले झण्डै एक हजार १०० जनालाई राहत वितरण गर्दा अधिकांशले मजदुरी गर्ने भन्ने बताएका थिए । उनीहरुमध्ये धेरैजसो नगरभित्रै अस्थायी बसोबास भए पनि चाडपर्वबाहेकका समयमा घर नजानेहरु भेटिएकाले काममा लगाउन सकिने नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । नगरभित्रका साना आयोजना भने चालू वर्ष शुरु गर्ने÷नगर्ने अझै स्पष्ट भएको छैन । “कतिपय बजेटलाई स्वास्थ्य र उद्धारका क्षेत्रमा लगाउनुपर्नेछ, असारमा सक्नैपर्ने ठूला आयोजना थाल्ने, अन्यलाई पछि गर्ने कुरा छ”, उहाँले भन्नुभयो, “केही आयोजना सकेर तयारी हालतमा पनि पुगिसकेका छन् ।”

रामरेखादेखि पाङ जोड्ने झोलुङ्गेपुल तयार भएको उहाँले बताउनुभयो । औपचारिक उद्घाटन गर्न मात्र बाँकी रहेको यो पुल संसारकै लामो झोलुङ्गेपुल भएको अनुमान छ । नगरपालिकाले उक्त पुललाई गिनिजबुकमा नाम लेखाउन प्रयास पनि थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !