१६ जेष्ठ २०८१, बुधबार

अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण


Nepalpatra

११ कात्तिक, पर्वत । अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालोउकालो गर्नुपर्ने बाध्यता रहेको थियो ।

पुल २८७ मिटर लामो तथा १३५ मिटर उचाइको रहेको छ ।
निर्माण समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष हिमबहादुर गुरुङले वर्षौँदेखिको आफूहरुको सपना पूरा भएको भन्दै सहयोगी कादुरी संस्थाप्रति धन्यवाद अर्पण गर्नुभयो । उहाँले पुल निर्माणमा करीब रु एक करोड खर्च भएको जानकारी दिनुभयो ।
उक्त पदमार्गमा वार्षिक रूपमा एक लाखसम्म बाह्य पर्यटक राउण्ड अन्नपूर्ण पदयात्राका लागि जाने गरेका छन् ।

प्रवासीद्वारा बाढीपीडितलाई घर निर्माण

रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउँपालिका–७ धाइरिङ लस्तीका पहिरोपीडितका लागि घर निर्माण गरिएको छ । गत साउन १ गते रातिको वर्षातका कारण पहिरोले क्षति पु¥याएर विस्थापित जलजला गाउँपालिका–७ लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

धाइरिङ वास्वोट घर भई रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहनुभएका नारायण आचार्यको विशेष पहलमा नेदरल्याण्डमा रहेका पर्वतवासीको आर्थिक सहयोगमा शौचालयसहित तीन कोठे घर निर्माण गरिएको हो । नेदरल्यान्डवासीको रु तीन लाख २९ हजार र स्थानीय महिला समूह तथा व्यक्तिको श्रमदाना गरी रु पाँच लाखभन्दा बढीको लागतमा घर निर्माण गरिएको हो ।

शनिबार आयोजित कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल, पर्वत समाज नेदरल्यान्डका वरिष्ठ सल्लाहकार गुणनिधि रिजाल, पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नरबहादुर रोकाले पहिरोपीडित शर्मालाई घरको साँचो हस्तान्तण गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !