१६ जेष्ठ २०८१, बुधबार

मध्यपहाडीमा रातारात काम


बागलुङ

२३ असोज, बागलुङ । डोजर, ट्रिपरसहित मजदूर सोमबार मध्यरातमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–बिहुँ खण्डको काममा व्यस्त देखिन्थे । सडक चौडा गर्ने, ‘ग्राबेल’ ओसार्ने, बिछ्याउने, पेल्ने काम चलिरहेको थियो । नजिकिएका चाडपर्व, सयममै काम सक्नुपर्ने दबाब आदि कारणले ठेकेदार कम्पनी काममा कस्सिएको हो ।

तेह्र किमिको उक्त खण्ड ‘सिद्धिसाई प्रकाश कन्सट्रक्सन’ को जिम्मामा छ । चाडबाडमा यात्रुको सहजताका लागि दिनरात नभनी काम गरिएको साइट इञ्जार्च पुष्पकुमार शाहीले बताउनुभयो । उहाँका अनुसार अहिले साढे दुई सय मजदूर काममा खटिएका छन् । सडक चलाउने, नाली, पर्खाल निर्माण र ‘ग्राबेल’को काम तीव्र गतिमा भइरहेको छ ।

‘समयमै कामको लक्ष्य पूरा गर्ने गरी अघि बढेका छौं,’ इञ्चार्ज शाहीले भन्नुभयो, “चाडपर्वको बेला पनि काम रोकिन्न ।” ठेक्का सम्झौतामा सडक कालोपत्रेको लागि २०७६ माघ १४ सम्मको म्याद तोकिएको छ । विवादित जग्गा, खानेपानीका पाइप र विद्युत्का खम्बा समयमै नहटाउँदा काममा बाधा पुगेको ठेकेदार कम्पनीको गुनासो छ ।

जिल्लाको पश्चिम क्षेत्रमा लोकमार्ग कालोपत्रे भइसक्दा पनि सदरमुकामसँग जोडिएको खण्ड अझै कच्ची छ । मार्ग खोल्न शुरु भएको २० वर्षपछि बल्ल कालोपत्रेको तयारी अघि बढेको हो । वर्षामा हिलो र हिउँदमा धुलोको सकस व्यहोरेका स्थानीयवासी आयोजना व्यवस्थापनसँग रुष्ट बन्दै आएका थिए । अहिले देखिएको कामको गतिले भने आशा जगाएको छ ।

बागलुङ–बिहुँ खण्डसँगै बिहुँ–घोडाबाँधेसम्मको १२ किलोमिटर सडक पनि कालोपत्रे हुन बाँकी छ । उक्त खण्डमा पनि कालोपत्रेको लागि काम अघि बढेको छ । त्यस्तै पश्चिम बूर्तिवाङदेखि पूर्वी रुकुमको सीमा पातीहाल्नेसम्म ४५ किमि कालोपत्रे हुन बाँकी छ । घोडाबाँधे–बूर्तिवाङ ६४ किमि कालोपत्रे भइसकेको छ । कालोपत्रे हुन बाँकी खण्डमा पूर्वाधार तयारीको काम धमाधम भइरहेको छ ।

यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा लोकमार्गको बागलुङ खण्ड पूरै कालोपत्रे हुने आयोजनाले जनाएको छ । ‘वर्षायाम हटेसँगै कामले गति लिएको छ’ लोकमार्गको बागलुङ खण्डका इञ्जिनीयर सुरज महर्जनले भन्नुभयो ।

बिहुँ–घोडाबाँधेसम्मको १२ किमि निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ । त्यस्तै बूर्तिवाङदेखि पूर्वी रुकुम सीमा पाती हाल्नेसम्मको ४५ किमि ‘कालिका प्यासेफिक’ र ‘इसिआर÷कन्काई’ ठेकेदार कम्पनीको जिम्मामा छ । उक्त खण्डको २४ किमिमा ‘ग्राबेल’ भइसकेकाले कालोपत्रे छिटो हुने भएको छ । सदरमुकाम तर्फको खण्डमा पनि केही वर्षअघि नै कालोपत्रे भइसक्नुपर्नेमा ठेकेदार कम्पनीकै लापरवाहीले ढिलो भएको हो ।

लोकमार्ग आयोजनाले ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी हटाएर नयाँलाई जिम्मा दिएको हो । जिल्लाको मेरुदण्ड मानिएको लोकमार्ग कालोपत्रे हुँदासाथ यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने ठानिएको छ । नेपालको पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गले बागलुङको सबैभन्दा बढी १४२ किमि दुरी समेटेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !