१५ जेष्ठ २०८१, मंगलबार

बलेवा विमानस्थल पुनः सञ्चालनमा


Nepalpatra

१९ असोज, बलेवा । तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको छ ।

नेपाल एयरसँग रहेका दुई ट्वीनअटर विमानमा समस्या आएकाले मर्मतमा समय लागेको र तारा एयरका विमान दुर्घटनामा परेका कारण नियमित उडान रोकिएकोमा अब पुनः उडान सञ्चालन हुने बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार असोज २५ गते बिहीबारका दिन नेपाल एयरको विमान काठमाडौँबाट यात्रु बोकेर बलेवामा अवतरण गर्नेछ । विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यात्रुको चापसमेत बढेको छ । तारा एयरको उडान तत्काल नहुने भए पनि नेपाल एयरले हरेक बिहीबार नियमित उडान भर्नेछ । असोज २५ गते बिहीबार काठमाडौँबाट आउने नेपाल एयरको विमानका सबै सिट बुकिङ भइसकेको बताइएको छ ।

“अहिले बागलुङदेखि काठमाडौँसम्म पुग्नका लागि ठाउँ–ठाउँको जाम र सडक निर्माण तथा मर्मतले धेरै यात्रु हैरानीमा परेका छन्, अबदेखि त्यस्तो हैरानी भोग्नु नपरोस् भनेर विमानस्थल नियमित सञ्चालनका लागि प्रयास गरिरहेका छौँ”, पौडेलले भन्नुभयो ।दुई दशकभन्दा लामो समयदेखि प्राय बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि विमान कम्पनीहरू तयार नभएपछि उक्त नगरपालिकाले यात्रुको सङ्ख्याका आधारमा कम्पनीलाई वित्तीय सुरक्षाको प्रत्याभूति दिलाएकाले उडान भर्न तयार नेपाल एयर र तारा एयर पुनः तयार भएका हुन् । नगर प्रमुख जनक पौडेलले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !