१४ जेठ, काठमाडौँ । अत्याधुनिक सञ्चार सेवा शुरु भएसँगै दूरसञ्चार सेवा प्रदायक तथा प्रयोगकर्ताको संख्या र त्यसको सेवामा गुणात्मक वृद्धि भएको छ ।
सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार टेलिफोनको ग्राहक संख्या तीन करोड ८१ लाख ६० हजार १४२ र टेलिफोन प्रयोगकर्ताको घनत्व १३.०३ प्रतिशत पुगेको छ ।
टेलिफोन घनत्वका लागि सन् २०१८ को प्रक्षेपित जनसंख्यालाई आधार मानिएको छ । मोबाइल फोन प्रयोगकर्ताको संख्या तीन करोड ७२ लाख ९७ हजार ७२७, आधारभूत टेलिफोन प्रयोगकर्ताको संख्या आठ लाख ६० हजार ६७३ र जिएसपिसिएस प्रयोगकर्ताको संख्या एक हजार ७४२ छ ।
त्यसैगरी देशका ७७ वटै जिल्लामा मोबाइल सुविधा पुगेको र करीब ९० प्रतिशत भूभागमा मोबाइल सेवाको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ । साथै काठमाडौँ उपत्यका र पोखरामा उच्च प्रविधिको मोबाइल फोरजी सेवा शुरु भएको छ । सर्वेक्षणमा भनिएको छ, “सूचना तथा सञ्चारको क्षेत्रमा क्रमशः सुधार हुँदै गएको छ । नेपाल टेलिभिजनबाट राष्ट्रिय च्यानल, एनटिभी प्लस, समाचार च्यानल र कोहलपुर गरी चारवटा च्यानलबाट २४सै घण्टा समाचार, सूचना तथा विविध कार्यक्रम प्रसारण हुँदै आएको छ ।”
उक्त टेलिभिजनले विभिन्न १९ स्थानमा प्रसारण केन्द्र स्थापना गरी आफ्नो भू–सतही प्रसारण सेवा पु¥याएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणको पहुँच जनसंख्याको ७२.५ प्रतिशत र भौगोलिक हिसाबले ५२ प्रतिशत छ । एनटिभी प्लसको प्रसारण पहुँच जनसंख्याको ४२ प्रतिशत र भौगोलिक हिसाबले ३० प्रतिशत छ । साथै भू–उपग्रहमार्फत मुलुकभर विश्वका १४६ मुलुकमा नेपाल टेलिभिजनको पहुँच पुगेको छ ।
त्यसैगरी भाषिक दृष्टिले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट आठसहित जम्मा २१ भाषामा समाचार तथा मनोरञ्जनात्मक र चेतनामूलक कार्यक्रम प्रसारण हुँदै आएको छ । रेडियो नेपालको प्रसारण पहुँच ८७ प्रतिशत जनसंख्या र ९० प्रतिशत भूभागमा पुगेको छ । संघ, प्रदेश र स्थानीय तहमा आफ्नो संरचना खडा गरी रेडियो नेपालले प्रसारण सेवा सञ्चालन गरेको छ ।
चलचित्र व्यवसायमा इ–टिकेटिङको व्यवस्थासहित २०७४ फागुन १ गतेदेखि चलचित्र वितरण र प्रदर्शनमा बक्स अफिस लागू गरिएको छ । अहिलेसम्म ८७२ वटा एफएम रेडियोले इजाजत लिएकामा ६२७ वटा नियमित प्रसारणमा छन् । त्यसैगरी १२४ वटा टेलिभिजनले इजाजत लिएकामा ३६ वटा नियमित प्रसारणमा छन् ।
हालसम्म ५७ जिल्ला हुलाक कार्यालय र आठ इलाका हुलाक कार्यालयमा हुलाक बचत बैंक डिजिटाइजेशन भएका छन् । काउन्टर अटोमेशन भएका ७० हुलाक कार्यालयहरु÷हुलाक सेवामा अनलाइन ट्रयाकिङ प्रणाली शुरुवात भएको छ । टिकट व्यवस्थापनको सफ्टवेयर तयार गरी आर्थिक वर्ष २०७२÷७३ सम्मको अभिलेख पोस्टिङ पूरा भई चालू आवको अभिलेख पोस्टिङ भइरहेको सरकारको भनाइ छ । सूचना विभाग, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति र प्रेस काउन्सिल नेपालले छापा सञ्चारमाध्यमबाट सूचना सम्प्रेषणका कार्य गरिरहेका छन् ।
गोरखापत्र संस्थानले दैनिकरूपमा गोरखापत्र र दि राइजिङ नेपाल, शुक्रबार साप्ताहिक पत्रिका तथा मासिक पत्रिकाका रूपमा मधुपर्क, युवामञ्च र मुना प्रकाशन गर्दै आएको छ । नयाँ नेपाल निर्माण अभियानअन्तर्गत विभिन्न ३७ भाषामा बहुआयामिक पृष्ठ प्रकाशन हुँदै आएको छ । यसबाट भाषिक तथा सांस्कृतिक उत्थानका लागि सहयोग पुगेको सरकारको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार हालसम्म सूचना विभागमा ७०५ वटा दैनिक पत्रिका दर्ता भएका छन् । त्यसैगरी ३७ अर्ध साप्ताहिक, दुई हजार ८७५ साप्ताहिक, ४७० पाक्षिक, दुई हजार २७१ मासिक, ३७५ द्वैमासिक, ६१६ त्रैमासिक, ३८ चौमासिक, ८४ अर्धवार्षिक र ९० वार्षिक गरी जम्मा सात हजार ५६१ पत्रपत्रिका दर्ता भएका छन् । भाषागत रुपमा नेपाली, अंग्रेजी, नेपाली÷अंगे्रजी, नेवारी, संस्कृति, हिन्दी, मैथिली, भोजपुरी, उर्दु, लिम्बू, तिब्बती, थारु, डोटेली, तामाङ, राई र अन्य भाषाका पत्रपत्रिका प्रकाशन हुँदै आएका छन् । दर्ता भएका पत्रपत्रिकामध्ये करीब ६८ प्रतिशत नेपाली, सात प्रतिशत अंगे्रजी र १८ प्रतिशत नेपाली÷अंग्रेजी भाषाका छन् ।
सरकारी एकीकृत डाटा केन्द्रको इलेक्ट्रोनिक इन्फर्मेशन सिस्टम तथा सूचना प्रविधि सुरक्षा सुदृढीकरण गरी सरकारी एकीकृत डाटा केन्द्रबाट प्रदान गरिएका सेवालाई भरपर्दो र सर्वसुलभ पारिएको छ । सरकारले दैवीप्रकोप तथा अन्य आपत्कालीन अवस्थामा क्षति हुन सक्ने सूचनाको सुरक्षार्थ मकवानपुरको हेटाँैडामा डाटा रिकभरी सेन्टर निर्माण भइसकेको छ ।
नेपाल सरकारको भुक्तानी प्रक्रिया अनलाइनबाटै गर्न सक्ने बनाउन इ–पेमेन्ट गेटवे निर्माण शुरु भएको छ ।
त्यसैगरी नेशनल पोर्टललाई अपग्रेट गरिनाका साथै मोबाइल एप्स निर्माण गरिएको छ । सम्बन्धित निकायबाटै सूचना अपलोड गर्न सकिने व्यवस्था गरिएको छ । कक्षा ४ देखि ७ सम्मको विज्ञान विषयको र कक्षा ४ देखि ९ सम्मको गणित विषयको डिजिटल कन्टेन्ट तयार भएको छ ।(रासस)