१३ बैशाख २०८१, बिहिबार

वाग्मती प्रदेश : प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज


हेटौडा । कोभिड-१९ बाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै वाग्मती प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै सो कार्यक्रम खारेज गरेको घोषणा गरे ।

प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमको नाममा विनियोजन हुने बजेटको चरम दुरुपयोग हुने गरेको गुनासो आउने गरेको थियो । गत वर्ष सरकारले सो कार्यक्रममार्फत प्रदेश सभा सदस्यले रु ३ करोडका दरले खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको थियो ।

सङ्घीय सरकारको सांसदमार्फत खर्चहुने निर्वाचन क्षेत्र विकास कोषसँग मिल्दोजुल्दो हुने गरी सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ ल्याइएको थियो । सरकारले सो कार्यक्रम खारेज गरेर कोभिड-१९ को प्रभाव न्यूनीकरण र जनताको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रम’ कार्यान्वयन गरिने मन्त्री ढुङ्गेलले जानकारी दिए ।

उनले भने, “यो कार्यक्रममार्फत भौतिक पूर्वाधार निर्माण लगायत स्वास्थ्य पूर्वाधार संरचना र उपकरण खरिदजस्ता कोभिड-१९ को प्रभाव न्यूनीकरण गर्ने प्रकृतिका आर्थिक पुर्नस्थापनाका कार्यक्रमहरु सञ्चालन गर्न रु २ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !