७ बैशाख २०८१, शुक्रबार

राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहराको आज उद्घाटन गरिंदै

भूकम्पपछिको ६ वर्षमा बनेको धरहराको आज शनिबार उद्घाटन गरिंदै


पुन:निर्मित धरहरा

काठमाडौँ । राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहराको आज शनिबार औपचारिक रुपमा उद्घाटन गरिंदैछ । यो ऐतिहासिक धरहरा आज वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्दैछन् ।

विसं २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पबाट धरहरा लगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको ३ वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको थियो ।

विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो ।

गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका हुन् । पहिलोपटक प्रधानमन्त्री बन्नुभएका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान शुरु गरेका थिए ।

६ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए ।

कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न ६ वर्ष लागेको हो ।

भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित ४ तल्ले भूकम्प र टक्सार सम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ ।

यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ । धरहरा क्षेत्रमा विश्रामस्थल सहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरा समेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यसले आकर्षित गर्नेछ ।

धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको छ । धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिने छ । जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिने छ ।

भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ । सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिने भएको छ ।

६ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्मको समय कुर्नुपर्नेछ ।

यो पनि पढ्नुहोस्

भूकम्पको ६ वर्षमा बन्यो धरहरा, भोलि शनिबार उद्घाटन गरिने

यस्तो भयो सुनधारामा नवनिर्मित धरहरा (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !