११ मंसिर २०८१, मंगलबार

नागढुङ्गा सुरुङमार्ग निर्माण ९ प्रतिशत


सुरुङ निर्माण फाइल फोटो

काठमाडौँ । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । अहिले सुरुङमा चौबीसै घण्टा काम भइरहेको छ । उहाँले भन्नुभयो, “शनिबारबाहेक अरु दिनमा रातदिन काम भइरहेको छ ।” सुरुङ खन्ने कामसँगै अहिले आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणको कामसमेत अघि बढिरहेको छ ।

पूर्वतर्फबाट मुख्य सुरुङको ४९ किलोमिटर र पश्चिमतर्फबाट १४९ किमी खनिसकिएको आयोजनाले जनाएको छ । आपत्कालीन प्रयोगका लागि बनाइएको सुरुङ ४५ किमी खनिएको छ । शुरुमा कठिन भूगोलमा सुरुङ खन्ने काम भइसकेकाले अब खन्न सजिलो हुने प्रमुख शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अबको दिनमा सुरुङको गति बढ्नेछ ।”

सोही आयोजनाअन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुङ्गामा ‘ओभरपास’ निर्माण भइरहेको छ । सुरुङसम्म पुग्ने पहँुच सडक निर्माण अघि बढेको छ । आयोजनाका कारण खानेपानीको समस्या आउन सक्ने भएकाले विकल्पका रुपमा पूर्वाधार निर्माण अघि बढिरहेको छ । पहुँच सडक र ‘ओभरपास’ डेढ महिनामा निर्माण सकिने बताइएको छ ।

आयोजनाले सिस्नेरी खोलालाई अर्कातर्फ फर्काएर सम्याउन लागेको छ । सो स्थानमा स्थानीयवासीको उत्पादन सङ्कलन गर्ने केन्द्रलगायत विभिन्न पूर्वाधार निर्माणका लागि खोला पुरिइरहेको प्रमुख शाक्यले बताउनुभयो । ठूलो मैदान बनाउने काम एक चरणको पूरा भएको उहाँको भनाइ छ ।

आयोजनाले सुरुङ खन्नका लागि १६ महिना लाग्ने गरी तालिका बनाएको थियो । त्यसमध्ये अहिले एक महिना सकिएको प्रमुख शाक्यले बताउनुभयो । अबका समयमा १५ महिनामा खनिसकिने गरी काम अघि बढेको छ । खन्ने कामपछि सुरुङमा अन्तिम काम ( हुनेछ । त्यस क्रममा बत्ती जडान, आगो लाग्दा निभाउनका लागि बत्तीको व्यवस्थापन, सिसिटिभी राख्नेलगायत काम हुनेछ ।

निर्माणस्थलमा अहिले नेपाली र जापानी जनशक्ति कार्यरत छ । नेपाली इञ्जिनीयर झण्डै ९० र परामर्शदाता कम्पनीका तीन जना छन् । निर्माण कम्पनीका २४ प्राविधिक जनशक्ति त्यहाँ कार्यरत छन् । अदक्ष जनशक्तिमा भने सबै नेपाली नै छन् । अहिले झण्डै ३५० कामदार कार्यरत छन् । सडक विभागका १४ प्राविधिक जनशक्ति निर्माणस्थलमा रहेको प्रमुख शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको पहिलो सुरुङ भएकाले नेपाली प्राविधिकलाई पनि सिक्नका लागि अवसर भएको छ ।”

गत वर्ष असोजमा कम्पनीले सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबीसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारी साधन र व्यक्ति अलपत्र पर्ने गरेकामा समाधान हुनेछ । सोको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ ।

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा दुइटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुङ्गामाटालाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क र तरकारी सङ्कलन केन्द्रलगायत कक्ष हुनेछ ।

निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनीबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ । हाज्माआङ्दो कर्पाेरेशन र विभागबीच गत वर्ष असोजमा सम्झौता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिक ५ गते त्यसको उद्घाटन गर्नुभएको थियो । त्यसको केही समयपछि नै निर्माण शुरु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !