६ बैशाख २०८१, बिहिबार

पेप्सीकोला-सल्लाघारी सडक विस्तार शुरु


पेप्सीकोला-सल्लाघारी सडक विस्तार शुरु

भक्तपुर । विगत एक वर्षदेखि रोकिएको काठमाडौँ पेप्सीकोलादेखि सानो थिमि, पुरानो थिमि बाहखा बजार, निकोसेरा हुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ पुलसम्मको सडक विस्तार कार्य पुनः सञ्चालन भएको छ ।

शुरुमा मापदण्डअनुसार सडक खाली नहुँदा केही समय अवरोध आएको यो सडक विस्तार कार्य बीचमा शुरु भए पनि पछि बाहखा बजारका घर भत्काउनुपर्ने भएपछि निस्किएको विवाद सुल्झिएसँगै सडक विस्तारले पूर्णता पाउने भएको हो ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७४ साल असारमा ठेक्का सम्झौता भएर सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले शिलान्यास गरी शुरु भएको सडक विस्तार उहाँकै पहलमा समस्या सुल्झाउँदै पुनःविस्तार शुरु भएको हो ।

भक्तपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई आएलगत्तै यही मङ्सिर १८ गते सांसदसमेत रहनुभएका बस्नेतकै पहलमा जिल्ला प्रशासन कार्यालयमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सुरक्षा निकायका प्रमुख एवं सरोकारवालाको छलफलमा बाहखा बजारका घर नभत्काउने र वैकल्पिक सडक निर्माण गरेर एकतर्फी यातायात सञ्चालन गर्ने सहमति जुटेसँगै रोकिएको सडक विस्तार आयोजना पुनःशुरु भएको हो ।

बाहखा बजारबाट नगदेश–बोडे हँुदै नगरपालिका निस्कने आठ मिटर सडकलाई कालोपत्र गरिने भएको छ । हाल साँघुरो सडकका कारण जाम हुने बाहखा बजार–हुलाक रोड सडक र नगदेश–बोडे हुँदै नगरपालिका हुलाक रोड जोड्ने सडकलाई एकतर्फी यातायात सञ्चालन गर्नेगरी स्तरोन्नति गरिने भएको छ ।

फुटपाथ, ढलसहित २० मिटर चौडा सडक रहने गरी कूल रु ४३ करोडमा ठेक्का सम्झौता भएको उक्त सडक पेप्सीकोलादेखि सानोथिमिस्थित नेपाली सेनाको व्यारेक तलसम्म निर्माण सम्पन्न भएको छ ।

वि.सं २०३४ मा सडकको मापदण्ड तोक्नु अगाडि नै निर्माण भएका बाहखा बजारका पुराना बस्तीका घर भत्काएर सडक विस्तार गर्ने भए घरसहित जग्गाको मुआब्जा दिनुपर्ने स्थानीयले माग राखेपछि सडक विस्तार रोकिएको थियो ।

पुराना बस्ती रहेको बाहखा बजारका घर भत्काउने सन्दर्भमा मुआब्जा विवाद भएपछि सडक निर्माण कार्य रोकिएकामा हाल सहमतिपछि सडक विस्तारको बाँकी काम शुरु भएको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिनुभयो । सानोठिमीको एसओएस बालग्रामबाट पेप्सीकोला पुलसम्म रहेका केही पुराना घरलाई तत्काल नभत्काउने गरी यस क्षेत्रमा बाँकी रहेका निर्माणका काम सम्पन्न गरिने भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी थिमिको सिद्धिकालीबाट नेपाल कोरियामैत्री नगरपालिका अस्पताल अगाडि जोड्ने गरी पाइपलाइनको सडकलाई समेत आठ मिटर चौडामा विस्तार एवं स्तरोन्नति गरी कालोपत्र गरिने भएको छ ।

सडक विस्तारका क्रममा बाहखा बजार हँुदै खस्याङ्खुसुङ खोलाको बीचमा रहेको निकोसेरा बस्तीको समस्या समाधान भएपछि यस क्षेत्रमा अवरोध भएको काम पनि सञ्चालन हुने भएको छ । निकोसेरामा अधिकांश गुठी जग्गा रहेको तर सडकमा परेको जग्गाको समेत तिरो तिर्नुपर्ने बाध्यता रहेकाले सडक विस्तारको विरोध हुँदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा यहाँका गुठी जग्गाको सरकारले लगतकट्टा गरी तिरो तिर्नु नपर्ने व्यवस्था गरी स्थानीयको माग सम्बोधन गर्ने सहमति भएपछि यस क्षेत्रमा पनि रोकिएको काम अगाडि बढाउने भएको हो । आगामी पुस मसान्तसम्म यो सडकको निर्माण कार्यलाई पूर्णता दिने गरी तीव्र गतिमा काम शुरु गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !