१६ जेष्ठ २०८१, बुधबार

प्रदेशसभा स्थापना दिवस


Pradesh-number-5

२१ माघ, बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठक बसेको पहिलो दिनका रुपमा आज प्रदेशसभा स्थापना दिवस मनाइएको छ । गत वर्ष मङ्सिर १० र मङ्सिर २१ गते सम्पन्न प्रदेशसभाको निर्वाचनपछि गठित प्रदेशसभाको पहिलोपटक माघ २१ गते बैठक बसेको दिनलाई स्थापना दिवसका रुपमा आज मनाइएको हो ।

प्रदेशसभाको स्थापना दिवसका अवसरमा आज आयोजिक कार्यक्रममा सभाले एक वर्षको अवधिमा सम्पन्न गरेका महत्वपूर्ण कामको विवरण सार्वजनिक गरिएको छ । प्रदेशसभाले स्थापनाको एक वर्षको अवधिमा प्रदेश सरकारलाई आवश्यक पर्ने १६ वटा कानून निर्माण गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको यस एक वर्षको अवधिमा हाल तेस्रो अधिवेशन चलिरहेको छ । यसअघि पहिलो अधिवेशनबाट आठ र दोस्रो अधिवेशनबाट सात वटा कानून निर्माण भइसकेको सचिवालयका कानून अधिकृत चन्द्रप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रदेशसभा स्थापनाका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अथिति प्रदेश प्रमुख उमाकान्त झाले नयाँ संवैधानिक व्यवस्था कार्यान्वयनको प्रथम चरणमा प्रदेशका सम्पूर्ण संरचना स्थापना गर्नुपर्ने भएको तर अनुभवी एवं पर्याप्त जनशक्ति तथा भौतिक पूर्वाधारको अभावका बाबजुद प्रदेशसभाले सम्पादन गरेका कार्यले प्रादेशिक संरचनालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मुख्यमन्त्री शङ्कर पोखरेलले संविधानले व्यवस्था गरेको सङ्घ र प्रदेशका साझा अधिकारका सूचीसम्बन्धी कानून निर्माणमा सङ्घीय सरकारबाट ढिलाइ हुनाले प्रदेश सरकारले कानून निर्माण गर्न नसकेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले निर्माण गर्नुपर्ने कानून फागुनभित्रमा निर्माण हुनेमा विश्वास व्यक्त गर्नुहुँदै कानून निर्माण हुन नसकेमा स्वतः निष्क्रिय हुने भएकाले प्रदेशमा कानून निर्माणमा थप तीव्रता आउने बताउनुभयो ।

उहाँले प्रदेशको नामाकरण र स्थायी केन्द्र तोक्ने मुख्य जिम्मेवारी प्रदेशसभाको भएकाले सत्तापक्ष वा विपक्षी दलका सदस्य यस्ता विषयमा सडकको मुद्दा, हठ र आग्रहबाट मुक्त भएर सबैको पायक पर्ने भविष्यको सुन्दर र भावी पुस्ताले गर्व गर्न लायक निर्णय लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीले स्थापनाको एक वर्षमा कानून निर्माणसँगै प्रदेशसभाको संस्थागत जग बसाल्ने काममा सबैको सहयोगमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । उपसभामुख कृष्णी थारुले प्रदेशसभाको यो एक वर्षको अवधि मुख्यरुपले सिकाइका रुपमा स्थापित भएकाले आगामी दिनका काम थप उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !