१३ जेष्ठ २०८१, आइतबार

कोरोना सङ्क्रमितलाई आत्मबल बढाएर उपचारमा रहन मुख्यमन्त्रीको आग्रह


पृथ्वीसुब्बा गुरुङ

चिप्लेढुङ्गा, २७ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको धौलागिरि अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको स्वास्थ्यवस्था बुझ्नुभएको छ । मुख्यमन्त्री गुरुङले आज बिहान टेलिफोनमार्फत कुराकानी गरेर उनको स्वास्थावस्थाका बारेमा जानकारी लिनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङले उनलाई फोन गरी नआत्तिकन आत्मबल बढाएर उपचारमा रहन आग्रह गर्नुभएको हो । मुख्यमन्त्री गुरुङले युवतीसँगको कुराकानीमा मन दह्रो गरेर बसे छिट्टै निको हुने बताउँदै रोग निख्रेपछि मात्र घर जानुपर्ने सुझाव दिनुभएको न्यौपानेले जानकारी दिनुभयो ।

सङ्क्रमित युवतीले आफ्नो स्वास्थ्यावस्थामा क्रमिक सुधार हुँदै गएको र चिकित्सक एवम् स्वास्थ्यकर्मीले निरन्तर निगरानी गरिरहेको मुख्यमन्त्रीलाई जानकारी दिइन् । यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौं आउनुभएकी उनीसँग बेल्जियमबाटै ६५ वर्षीया एक अर्की महिला पनि आएकी थिइन् । त्यही दिन आन्तरिक उडानमार्फत पोखरा आएका उनीहरु पोखराबाट जीप रिजर्भ गरेर बागलुङ पुगेका थिए ।

चैत ४ गते कतार एयरवेजमा आएकी युवतीमा कोरोना देखिएपछि वृद्धाको पनि स्वाब परीक्षण गरिएको थियो । स्वाबको नमूना पोजेटिभ देखिएपछि दुवै अहिले दुवै धौलागिरि अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छन् । पैँसट्ठी वर्षीया महिलामा दम र रक्तचाप समस्या छ । युवतीको अवस्था सामान्य रहेको उपचारमा संलग्न डा प्रदीप श्रेष्ठले जानकारी दिनुभयो ।

गलकोट– नेपालमा पाँचौँ कोरोना संक्रमित बागलुङकी युवतीको स्वास्थ्यावस्थाबारे गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जानकारी लिनुभएको छ । मुख्यमन्त्री गुरुङले चैत १५ गते कोरोना पुष्टि भएसंँगै अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा उपचार गराइराखेकी १९ वर्षीया युवतीलाई फोन गरी स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले जानकारी दिनुभयो ।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनले आफ्नो स्वास्थ्यावस्था सामान्य रहेको मुख्यमन्त्रीसँगको कुराकानीमा जानकारी दिइन् । मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित युवतीलाई दुई मिनेट ३० सेकेण्ड फोनमा कुराकानी गर्दै पर्याप्त पानी पिउनसमेत सुझाव दिनुभयो । नआत्तिकन आइसोलेसनमा बस्न युवतीलाई मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !