७ बैशाख २०८१, शुक्रबार

चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’


पोखरा

पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटाँै जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा, “हाम्रो पोखरा राम्रो पोखरा” विषयमा प्रतिष्पर्धा भएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम भएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कास्की मोडनाइज्डका मानस तामा द्वितीय, सिद्धार्थ लवडेलका आशिष तिमिल्सिना तृतीय तथा सिद्धिविनायकका सोसिमा घले र ज्ञानज्योति विद्याकुञ्जका रुपा भुजेल सान्त्वना भएका छन् ।

विजयी विद्यार्थीलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा चित्रकार रमेश श्रेष्ठ र हरिराम जोजीजु रहनुभएको थियो । सो अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कोरोना भाइरस सङ्क्रमणका समयमा विद्यार्थीको प्रतिभा बाहिर आउन नसकेको जनाउँदै विद्यार्थीलाई सिर्जनात्मकरुपबाट अघि बढाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले अब छिट्टै नै भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारीसमेत दिनुभयो । उहाँले भन्नुभयो, “भौतिकरुपमा विद्यालय सञ्चालन गर्न हामीले धेरै प्रयास थालेका छौँ, कोरना सङ्क्रमित दर पनि घट्दै गएकाले कुनै न कुनै मोडालिटीमा हामी छिट्टै नै स्कूल सञ्चालन गर्ने तयारीमा छौँ ।”

नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराइले भौतिक उपस्थितिमा प्रतियोगिता गरेर विद्यार्थीको कला उजागार गर्न सफल भएको बताउनुभयो । चित्रकार रमेश श्रेष्ठले प्रतियोगिताले ललितकला क्षेत्रमा इँटा थप्ने काम गरेको बताउनुभयो ।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, निवर्तमान अध्यक्ष रामबहादुर मोची, अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसी, सदस्य शिवराज पौडेललेलगायतले वर्तमान अवस्थामा विद्यार्थीमा परेको असर र उनीहरुलाई सिर्जनात्मक बनाउनुपर्नमा जोड दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !