१३ आश्विन २०८१, आइतबार

कोरोना नियन्त्रण अभियानमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह


डोटी, २४ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस भित्रिन नदिन जिल्लाका सबै स्थानीय तहलाई एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्री भट्टले आज डोटीका स्थानीय तहका प्रमुखसँंग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै सुदूरपश्चिम प्रदेशको छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमितको सङ्ख्या बढेकाले डोटीका नौ वटै पालिकाले कोरोना नियन्त्रण अभियानमा एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री भट्टले पालिका प्रमुखहरुसँग भन्नुभयो, “कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ, तपाईँहरु पनि एकजुट भएर नियन्त्रण अभियानमा लाग्नुस् ।”

सोही कार्यक्रममार्फत मुख्यमन्त्री भट्टले आगामी आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश र स्थानीय सरकारको साझेदारीमा डोटीमा १५ शय्याको अस्पताल निर्माणको काम शुरु गर्ने प्रस्ताव पनि स्थानीय तहका प्रमुखसंँग गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । छलफलका क्रममा मुख्यमन्त्री भट्टले थप भन्नुभयो, “आज हामी कोरोना भाइरससंँग लड्दैछौँ, भोलि अन्य नयाँनयाँ स्वास्थ्य समस्यासंँग लड्नुपर्ने हुन्छ, हामीले स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरेर जानु आवश्यकता छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा स्थानीय तहले समेट्नुपर्ने विषय, कोरोना भाइरसको रोकथाम, उपचार र राहत वितरणलगायत विषयमा समीक्षा र आगामी वर्षको बजेटसम्बन्धी छलफल गर्नका लागि मुख्यमन्त्री र स्थानीय तहका प्रमुखसंँगको भिडियो कन्फ्रेन्स गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बजेटको तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकाले सुझाव सङ्कलन गर्नका लागि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका स्थानीय तहका प्रमुखसंँग क्रमिक रुपमा भिडियो कन्फ्रेन्समार्फत छलफल अगाडि बढाएको छ । एक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्नका लागि मुख्यमन्त्रीले राखेको प्रस्ताव राम्रो भएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो, प्रदेश सरकारको कदम सकारात्मक छ । प्रदेश सरकारले वित्तीय समानीकरणको रकम ५० प्रतिशतलाई बढाएर प्रदेश सरकारको ७० र स्थानीय तहको ३० प्रतिशत गर्ने हो भने सुदूरपश्चिमका ८८ स्थानीय तहले यो कार्यक्रम आगामी आर्थिक वर्षभित्रै अघि बढाउन सक्छन् ।”

भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्री भट्टलाई डोटीका स्थानीय तहका प्रमुखले रोजगारी सिर्जना गर्ने गरी कृषि क्षेत्रमा प्रदेश सरकारले बढी लगानी गर्नुपर्ने सुझाव दिनुभयो । बेरोजगारको सङ्ख्या बढ्दै गएका कारण कृषिकै माध्यमबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रमुख व्यवसाय भनेकै कृषि हो, यसको आधुनिकीकरण गरी व्यवसायीकरण गरे विकास र रोजगारीका लागि ठूलो सहयोग हुन्छ ।”

सोही कार्यक्रममा डोटीका नौ वटै स्थानीय तहका प्रमुखले भारतमा अलपत्र नेपालीलाई नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने माग गरे । भारतमा राशन कार्ड नभएका नेपालीलाई राहत पाउन असहज भएका कारण पनि तिनलाई नेपाल ल्याउने व्यवस्था गर्नका लागि संघीय सरकारसंँग सहकार्य गर्न मुख्यमन्त्री भट्टलाई उनीहरुले आग्रह गरे । भारतमा रहेका नेपालीलाई सरकारले नेपाल ल्याउनका लागि आवश्यक प्रबन्ध गर्नुपर्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले सुझाव दिनुभयो ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले कम्पनी तथा होटलमा काम गर्ने मजदूरलाई खानबस्न समस्या भएको हुँदा तिनलाई उचित प्रबन्ध गर्न दुई देशस्तरीय छलफल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !