१४ बैशाख २०८१, शुक्रबार

छाडा गाईको बिजोक


धनगढी । कैलाली जिल्लाका विभिन्न पालिकामा रहेका छाडा चौपाया स्थानीयवासीको कुटाइ र लखेटाइमा परेर बिजोक भएको छ ।

छाडा चौपायाले बालीनाली खाइदिएको झोकमा स्थानीयवासीले भाला, लौरी तथा विभिन्न घरेलु हतियारले प्रहार गरेर घाइते बनाएकाले तिनकोे बिजोक भएको हो ।

दूध दिन छोडेपछि गाईलाई एकठाउँमा लगेर छोड्दा तिनले दिनरात अन्नबाली खान थालेकाले विभिन्न उपाय लगाएर धपाउने गरिएको स्थानीय किसान बताउँछन् । घोडाघोडी नगरपालिका– १का रमेश जोशी अहिले सडकमा रगताम्मे भएका गाई देख्दा दुःख लाग्ने गरेको बताउनुभयो ।

पशुको के दोष दूध खाउन्जेल पाल्ने अनि पछि छोड्नेलाई पो कारवाही हुनुपर्ने उहाँको भनाइ थियो । हिन्दू धर्ममा गाईको धेरै महत्व रहेकामा यस्तो स्थितिमा पु¥याउनु पाप लाग्ने घोडाघोडी नगरपालिका–१ व्यवसायी हरिलाल सापकोटाको गुनासो थियो ।

“ गाईको सेवा गर्न नजान्ने मान्छेको जन्म निरर्थक हुने, सन्तान नभएकाले गाईको सेवा गरे सन्तान हुने, गोबरले लिपेको स्थानमै बालक जन्मदा राख्ने र गोबरले लिपेर चोख्याउने भन्ने संस्कार सिक्यौँ र भोग्यौ तर अहिले त्यति पवित्र गाई सडकमा रगताम्मे भएर पल्टेको देख्दा साँच्चै कलियुग आएछ भन्ने भान हुन्छ”, उहाँले भन्नुभयो ।

चार वर्ष अगाडि स्थानीय तहको निर्वाचनका बेला यहाँका जनताको सबैभन्दा टाउको दुखाइ बनेको छाडा गाईलाई व्यवस्थापन गर्ने भन्दै जनताका भोट माग्न आएका निर्वाचित जनप्रतिनिधि अहिले समयअवधि सकिन लाग्दासमेत व्यवस्थापन गर्नु त परै जाओस् गाईको विजोक हुनाका साथै स्थानीयवासिन्दामा पनि समस्या थपिँदै गएको व्यवसायी सापकोटाले बताउनुभयो ।

घोडाघोडी नगरपालिका–१० का युवा यम कार्कीले रातभर जाग्राम बसेर बाली बचाउनुपर्ने अवस्था आउँदा पनि जनताका समस्या समाधान गर्नतर्फ राज्यका कुनैपनि निकायले चासो नदिएको गुनासो गर्नुभयो ।

नेपालको राष्ट्रिय जनावर रहेको गाईलाई लक्ष्मी माताको रूपमा पूजा गरिन्छ तर अहिले त्यही गाईको बिजोक हेर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर आफ्नो बालिनाली संरक्षण गर्नुपर्ने बाध्यताले सताएको अर्का किसान हर्क खड्काले बताउनुभयो ।

गाईको व्यवस्थापन गरी किसानलाई भोकमरीबाट बचाउन स्थानीय सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पुच्छर काटिएका, पेटमा भाला घोपिएका, टाउकोमा बञ्चरो प्रहार भएका गाई जीवन र मृत्युको दोसाँधमा छट्पटिँदासमेत मानिसमा दयाभाव हराएको देख्दा अचम्म लाग्ने गरेको स्थानीयवासी कैलाश दाहालले बताउनुभयो। आफूले उब्जाएको अन्न र फलफूल खाएर सत्यानाश पारेका कारण मानिसमा दया र करुणा हराए पनि स्थानीय सरकारले गाईको व्यवस्थापन नगर्नु दुःखद भएको उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाका अनुसार जिल्लाका १३ पालिकाका प्रमुख र उपप्रमुखसँग गाई व्यवस्थापनका लागि छलफल भइरहे पनि पनि कसरी गर्ने भन्ने निर्णयमा नपुगिएकाले व्यवस्थापनमा अझै केही समय लाग्नेछ ।

थौरै सङ्ख्यामा भए पनि एक–दुईपालिकालाई जिम्मा दिएर व्यवस्थापन गर्नुस् भन्नहुन्थ्यो तर छाडा चौपाया हजारौँको सङ्ख्यामा हुनु र दिन प्रतिदिन बढ्दै जानाले समस्या भएको उहाँको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !