२३ चैत, चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको बताएका छन् ।
उद्योग संघ चितवनले आयोजना गरेको पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनीको आज उद्घाटन गर्दै उनले अधिकारको लडाइँ सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताए ।
चितवन र मकवानपुरलाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ मा शक्तिखोरको औद्योगिक क्षेत्रबाहेक अन्यत्र पनि औद्योगिक क्षेत्रको आवश्यकता रहेको बताए । भूगोल र आवश्यकताअनुसार औद्योगिक क्षेत्र निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।