७ मंसिर २०८१, शुक्रबार

भरतपुर महानगरमा चार दिनदेखि फोहर उठ्न सकेन


fohor

भरतपुर, ६ भदौ । भरतपुर महानगरपालिकाको फोहर फाल्न स्थानीयवासीले अवरोध गरेका छन् । नारायणी नदी किनारस्थित नगरवन क्षेत्रमा फोहर फाल्न भरतपुर–३ का स्थानीयवासीले अवरोध गरेका हुन् । उनीहरुको अवरोधपछि चार दिनदेखि फोहर उठ्न सकेको छैन् ।

महानगरले नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ तर महानगरले ल्यान्डफिल्ड साइट निर्माण नहुञ्जेलसम्मका लागि जनाउँदै सो क्षेत्रमा फोहर फाल्ने गरेको छ ।

भरतपुर–३ को सन्सारीमाई टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले प्रदूषण बढेकाले फोहर फाल्न रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले खाल्डोमा फोहर फाल्ने गरिएको थियो, अहिले खुल्ला ठाउँमै फाल्न थालिएको छ । अस्पतालजन्य फोहरहरु पनि असरल्ल फाल्न थालेपछि विरोध गरेका हौँ ।” महानगरपालिकाभित्र कुहिने फोहर घरमै व्यवस्थापन गर्नुपर्ने भन्दै नकुहिने फोहर मात्र व्यवस्थापनका लागि समस्या नहुने उहाँको भनाइ छ ।

भरतपुर र नारायणगढ क्षेत्रमा फोहर उठ्न नसक्दा महानगरका शहरी क्षेत्र दुर्गन्धित बन्न थालेका छन् । भरतपुरको मुख्य बजार नारायणगढको लाइन्सचोकदेखि शहीदचोक हँुदै पुल्चोकसम्म ठाउँठाउँमा फोहरका थुप्रोहरु देख्न सकिन्छ ।

सबै मानिस भित्रै रहँदा सडक झनै सफा देखिनुपर्नेमा नारायणगढ बजार र भरतपुरको दृश्य भने झन् फोहर देखिन्छ । भरतपुर महानगरले फोहर व्यवस्थापन गर्नका लागि टेन्डरमार्फत व्यवसायीहरुलार्ई ठेक्का लगाएको छ ।

भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले कोरोनाका कारण फोहर उठाउन समस्या भइरहेको बताउनुभयो । “कोरोनाको त्रासले गर्दा डम्पिङ साइट क्षेत्रको स्थानीयवासीले अवरोध गरेका छन्”, उहाँले भन्नुभयो, “निरन्तर रुपमा समन्वय गरिरहेका छौँ तर कहिले फोहर उठ्छ भन्ने यकिन छैन ।”

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले तीन दिनदेखि फोहर उठ्न नसकेको बताउनुभयो । उहाँले स्थानीयवासीको अवरोधका कारण फोहर उठ्न नसकेको जानकारी दिनुभयोे । “प्रत्येक स्थानीयवासीका आ–आफ्ना माग छन्, फोहरमा राजनीति गर्ने गरिएको छ”, उहाँले भन्नुभयो । जोशीले भरतपुरमा व्यवस्थित ल्यान्डफिल्ड साइड निर्माणका लागि कोरियन कम्पनीले डिपिआर निर्माण गरिसकेको बताउनुभयो । उहाँले महानगरबाट स्वीकृत भएसँगै निर्माणको काम अघि बढ्ने जानकारी दिनुभयो ।

भरतपुर महानगरको ७ देखि १२ नं वडा क्षेत्र भित्रको फोहर व्यवस्थापनको जिम्मा लिएको बेष्ट म्यानेजमेन्ट गु्रपअन्तर्गत भरतपुर परियोजनाका संयोजक देवीप्रसाद घिमिरेले फोहर फाल्ने डम्पिङ क्षेत्रका स्थानीयवासीले अवरोध गरेपछि फोहर फाल्न नसकिएको बताउनुभयो ।

“विभिन्न हानिकारक तथा सङ्क्रमणयुक्त फोहर आउने र कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयवासीले फोहर फाल्न दिएका छैनन्, त्यसै कारण फोहर उठाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । महानगरपालिकालाई यसबारे जानकारी गराए पनि खासै चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो । स्थानीयवासीले फोहर फाल्ने ठाउँको विकल्प खोज्न माग गरेका छन् ।

संयोजक घिमिरेले फोहर उठाउने कर्मचारीको समेत स्वास्थ्य सुरक्षा हुन नसकेको गुनासो गर्नुभयो । आफूहरुले स्यानिटाइजर, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको भए पनि अस्पतालका सङ्क्रमित वस्तु ओसारपसार गर्दा जोखिम उच्च रहेको उहाँको भनाइ छ । संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीलाई स्थानीय तहले पनि राहत तथा स्वास्थ्य बीमा गरिदिनुपर्ने लगायतको माग गरिरहेको भए पनि महानगरले बेवास्ता गरेको उहाँको गुनासो छ । महानगरपालिकामा सामान्य अवस्थामा दैनिक ७० टन फोहर निस्कने गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !