काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री नियुक्त भएका छन् । उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ गत पुस ११ गते भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार पनि ग्रहण गरिसकेका छन् । श्रेष्ठ १० वर्षपछि पुन: गृहमन्त्री बनेका हुन् । यसअघि उनी २०६८ साउन १६ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए ।
जन्म
गोरखाको जौबारीमा, पिता मेघनारायण श्रेष्ठ र आमा ज्योतिमाया श्रेष्ठबाट जन्मिएका श्रेष्ठको चार पुस्ता अगाडिको पुर्खा उपत्यकाको पाटनबाट जौबारी पुगेको थियो । श्रेष्ठको बुवा-आमाको निधन भइसकेको छ भने पाँच दाजुभाइमध्ये उनी ठुलो कान्छो हुन् ।
शिक्षा
श्रेष्ठले कक्षा १ देखि १० कक्षासम्म गाँउकै विद्यालयमा पढेका थिए । उनले १५ वर्षको उमेरमा एसएलसी पास गरेका थिए । २०१७ सालमा एसएलसीको परीक्षा दिने बेलामा उमेर नपुगेकाले प्रमाणपत्रमा जन्म मिति २०१६ साल बनाइएको हो । उनले जनप्रशासन विषयमा स्नातकोत्तर सम्मको औपचारिक अध्ययन गरेका छन् । उनले अर्थशास्त्रमा स्नातक पनि गरेका छन् । मेडिकल साइन्सको प्राम्भिक अध्ययन गरेका श्रेष्ठसँग छोटो समय हेल्थ पोस्टमा र सिद्दार्थ वनस्थली विद्यालयमा शिक्षण गरेको अनुभव समेत छ ।
एक समय उनी पत्रकारितामा समेत थिए । राजनीतिक जीवन क्रममा मुल्यांकन, गर्जन जस्ता पत्रिकाको सम्पादनको जिम्मेवारी उनले वहन गरे । तर औपचारिकभन्दा अनौपचारिक अध्ययनलाई बढी जोड दिने श्रेष्ठले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे गहिरो अध्ययन गरेका छन् । उनलाई सबैभन्दा मनपर्ने पुस्तक लेनिन लिखित ‘राज्य र क्रान्ति’ हो ।
राजनीतिक यात्रा
सानै छँदा नै विद्रोही श्रेष्ठ प्रारम्भिक राजनीतिक जीवनमा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता थिए । तर नेपाली काँग्रेसले सामन्तवादसँग सम्झौतापरस्त नीति लिएको महसुस भएपछि कम्युनिष्ट आन्दोलनमा हेमिए ।
उनी नेकपा चौथो महाधिवेशन (चौम) मा संगठित भए । उनलाई गोर्खाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीले ०३८ सालमा पार्टी सदस्यता दिएका हुन् । उनी पार्टीको सेल कमिटीमा हुँदैगर्दा मोहनविक्रम सिंह र निर्मल लामाबीचको मतभेदले ०३९ सालमा पार्टीमा विभाजन भइ मोहनविक्रम समूह अलग भए । उनी चौमको काठमाडौं जिल्ला समिति सदस्य हुँदै २०४२/४३ सालतिर केन्द्रीय सदस्य भए ।
२०४८ सालमा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबीच एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य भए । एकता भएपछि २०४७ सालमा एकता महाधिबेशनबाट उनी नेकपा (एकता केन्द्र) को पोलिटब्युरो सदस्य भए ।
२०५१ सालमा पार्टी विभाजित हुँदा उनले एकताकेन्द्रको सचिवको जिम्मेवारी लिए । लगत्तै महासचिव भए । नेकपा(मसाल) सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा (एकता केन्द्र-मसाल) को महामन्त्री र उनी सहमहामन्त्री भए । २०६३ सालमा सो पार्टीमा विभाजन भएपछि उनी एकताकेन्द्र-मसालको महामन्त्री हैसियतमै रहे ।
तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्ध र राजाको सक्रिय निरंकुशताविरुद्ध आन्दोलनरत पार्टीहरूलाई संयुक्त जनआन्दोलनका लागि एकै ठाउँमा ल्याएर संविधानसभामार्फत देशको संघीय गणतान्त्रिक परिवर्तन गर्नमा श्रेष्ठको संयोजनकारी भूमिका छ । भारतको सिलगुडीमा वाम पार्टीहरूको संयुक्त बैठक गराउन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका लागि तत्कालीन सात राजनीतिक दलहरू र तत्कालीन नेकपा (माओवादी) बीच वार्ता एवं १२ बुँदे सहमति गराउन उनले कुशल र संयोजनकारी भूमिका खेलेका थिए । राजा ज्ञानेन्द्रको सत्ताले उनलाई समेत माओवादीका वरिष्ठ नेताहरूलाई झैं भेट्यो कि मारिहाल्ने सूचीमा राखेको थियो ।
ऐतिहासिक जनआन्दोलनको सफलतासँगै नेकपा एकता केन्द्र-मसाल र नेकपा माओवादीको एकता सम्पन्न भइ एकीकृत नेकपा माओवादी बनेपछि उनी त्यस पार्टीको उपाध्यक्ष बने । पहिलो संविधानसभा सदस्य उनी २०६८ साउन १६ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । तर उक्त कार्यकाल जम्मा २८ दिनको थियो । त्यसपछि २०६८ भदौ १८ मा तत्कालीन एकीकृत माओवादीका अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बने ।
कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको क्रममै नेकपा माओवादी केन्द्र बनेपछि उनी पार्टीको दोश्रो वरियताको स्थानमा उपाध्यक्ष भए । २०७५ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले नेकपा बन्दा श्रेष्ठ नौ जनामध्येको केन्द्रीय सचिवालय सदस्य भए । तर २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई अलग गराइदिएपछि उनी पूर्ववत् माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नै भए ।
राष्ट्रियसभा सदस्य श्रेष्ठ २०७९ पुस ११ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा उपप्रधानमन्त्री एवम भौतिक पुर्बाधार तथा यातायातमन्त्री भए । श्रेष्ठलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रीबाट बिभाग परिवर्तन गरी २०७९ चैत्र १७ गते उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारी दिइएको छ ।
जेल जीवन
श्रेष्ठ कलिलो उमेरमा नै जेल परेका थिए । २०३६ सालमा पञ्चायतविरुद्ध विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो । त्यहाँबाट छुटेपनि दोस्रो पटक २०३६ सालमै उनी आरोपमा गोर्खा जेलमा राखियो ।
तेस्रो पटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेला उनलाई राजकाज मुद्दा लगाई केही दिन ललितपुर डिएसपी कार्यालयमा हिरासतमा राखिएको थियो । नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ १८ वर्षको भूमिगत जीवनपछि २०६५ मा सार्वजनिक भएका थिए ।
प्रकाशन
भूमिगत हुँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, र ‘प्रकाश’ नामबाट उनले राजनीतिक गतिविधि गरेका थिए । उनले क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति भाग-१, माघ १९ र क्रान्तिकारी कार्यनीति, माओवादी र माओवादी जनयुद्घबारे, क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति -भाग २ लगायतका पुस्तकहरू लेखेका छन् ।