जन्म र पृष्ठभूमि
नन्दकिशोर पुन ‘पासाङ’ ले परिचित उहाँको वास्तविक नाम नन्दबहादुर पुन हो । ‘पासाङ’ जनयुद्धले जन्माएको नाम हो । जनयुद्ध तयारी र सुरुवात चरणमा ‘लिफङ’ बाट परिचित उहाँ पछि ‘पासाङ’ बन्नुभएको हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनुभएको उहाँ पाँच भाइमध्ये माइलो हुनुहुन्छ । उहाँका तीन दिदिबहिनी हुनुहुन्छ । किसान परिवारका रामसुरलाई छोराहरू पढाउन निकै समस्या थियो । एकातिर धेरै सन्तान अर्कोतिर गाउँका ठालुले सम्पत्ति खोसिदिनु । त्यसका बाबजुद पनि सबै छोरालाई अध्ययन गराउनुभयो । प्युठान अड्डाबाट मुद्दा जितेर खोसिएका सम्पत्ति फिर्ता लिनुभयो । पाँचै भाइ छोरालाई रामसुरले त्यतिबेला आईएभन्दा माथिको अध्ययन गराउनुभयो । ८३ वर्षीय रामसुर कृषि कर्ममा सक्रिय हुनुहुन्छ ।
पासाङको जेठा दाजु वीरबहादुर पुन इन्जिनियर, साइँला भाइ भीमप्रकाश पुन उच्च माध्यमिक विद्यालय प्राचार्य, काइँला भाइ दीपक पुन शिक्षण पेसा छाडेर खेतीकिसानी गर्नुहुन्छ । कान्छा भाइ कमल पुन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रहँदा जनयुद्धक्रममा २०५९ मा राज्यपक्षबाट मारिनुभयो । उहाँले नौ कक्षामा पढ्दै गर्दा २०३९ मा जङ्कोट–१, माडिचौरनिवासी हस्तमाली पुनसँग प्रेमविवाह गर्नुभयो । हस्तमाली पुनले जनयुद्धमा स्थानीय पार्टी कमिटीमा रहेर काम गर्नुभयो । उहाँको जेठो छोरा जितेन्द्र र कान्छो छोरा दीपेशसमेत पढाइ छाडेर जनयुद्धमा सहभागी हुनुभयो । नयाँ संविधान जारीपछि २०७२ कात्तिक १४ मा व्यवस्थापिका संसद्मा भएको उपराष्ट्रतिको निर्वाचनमा उहाँ मुलुकको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित हुनुभयो । तत्कालीन सत्तारूढ गठबन्धन (एकीकृत नेकपा माओवादी), नेकपा एमाले, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चालगायत १५ दलको संयुक्त उम्मेदवार उहाँले कुल ५४७ मध्ये ३२५ मत प्राप्त गरेर उपराष्ट्रपतिमा विजयी हुनुभयो । उहाँ दोस्रो कार्यकालकोलागि भने २०७४ चैत ३ मा निर्बिरोध निर्वाचित हुनुभएको हो ।
शिक्षा
नन्दबहादुर आठ वर्षको हुँदा स्कुल भर्ना हुनुभयो । प्राथमिक विद्यालय, जाखरबाट तीन कक्षा उत्तीर्णपछि तत्कालीन निम्नमाध्यमिक विद्यालय राङ्सीमा भर्ना हुनुभयो । त्यहीँबाट २०३७ सालमा सात कक्षा उत्तीर्ण गर्नुभयो । माध्यमिक तहको अध्ययन पूरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माध्यमिक विद्यालयमा भर्ना हुनुभयो । तर, विद्यार्थी सङ्गठनमा आबद्ध भएर सक्रिय राजनीति गरेको आरोपमा विद्यालय प्रशासनबाट उहाँलाई अवरोध भयो । प्रहरीले वारेन्ट जारी गर्यो । विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनी दिएपछि २०३९ सालमा नौ कक्षा पढ्न थबाङ पुग्नुभयो । त्यहीँबाट २०४२ मा एसएलसी उत्तीर्ण गर्नुभयो । २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर उच्चशिक्षा हासिल गर्नुभयो । उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । औपचारिक शिक्षाबाहेक उहाँले सैन्यविज्ञान, राजनीति दर्शन अध्ययन गर्नुभएको छ ।
एसलसी उत्तीर्णपछि पासाङले पार्टी कामको साथसाथै शिक्षण पेसा अँगाल्नुभयो । २०४३ देखि नौ वर्षसम्म आफूले पढेको निमावि राङ्सीमा अध्यापन गर्नुभयो । उहाँ जाँदा निमावि मावि बनिसकेको थियो । अहिले उमावि बनेको छ । उहाँले पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादी नेतृ तारा घर्तीलगायतलाई पढाउनुभयो । पूर्णकालीन भइसक्दा पनि अध्यापन जारी राख्नुभयो । उहाँ स्थायी शिक्षक हुनुहुन्थ्यो ।
उहाँलाई खेलकुदमा धेरै रुचि थियो । विभिन्न खेलमा रुचि भए पनि भलिबल प्राथमिकतामा पर्छ । लिबाङमा मावि तहमा पढ्दै गर्दा उहाँ नेपालगन्जमा क्षेत्रीयस्तरको भलिबल प्रतियोगितामा सहभागी हुनुभएको थियो । राष्ट्रिय खेलकुदका लागि मध्यपश्चिमबाट भलिबलमा छनोट भए पनि स्वास्थ्यमा समस्या देखिएपछि उहाँले सो अवसर गुमाउनुभयो । उहाँले विद्यालयमा खेलकुद शिक्षकको भूमिकासमेत निर्वाह गर्नुभयो ।
राजनीतिक यात्रा
२०३७ सालमा राङ्सीमा कक्षा सातमा पढ्दा उहाँ अनेरास्ववियू छैटौँको इकाइ अध्यक्ष हुनुभयो । त्यहीँबाट दोस्रो जिल्ला सम्मेलन प्रतिनिधि भएर जानुभयो । प्रहरीले अवरोध गरेपछि दिनभरि ओडारमा लुकेर फर्कनुभयो । लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित गरेको थियो । महराको सरल स्वभाव र अध्यापन शैलीले उहाँलाई आकर्षित गर्यो । सङ्गठन बनाउन र कम्युनिस्ट आन्दोलनबारे अध्ययन गर्न महराले प्रेरित गर्नुभयो ।
२०३९ सालमा अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलन बुटवलमा भयो । उहाँ लिबाङमा आठ कक्षामा पढ्दै गर्दा रोल्पा जिल्ला प्रतिनिधि भएर जानुभयो । सो सम्मेलनबाट लीलामणि पोखरेल अध्यक्ष हुनुभयो । सम्मेलनमा जनगायक खुसीराम पाख्रिनले गाउनुभएको गीत अहिले पनि उहाँलाई सम्झना छ । जनगायक पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली–ओह्राली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ गीत पासाङले बिर्सनुभएको छैन । सम्मेलनबाट फर्केपछि प्रशासनले वारेन्ट गर्यो । त्यसपछि आठ कक्षा उत्तीर्ण गरी थप अध्ययनका लागि पासाङ सोही वर्ष थबाङ पुग्नुभयो । त्यहाँ पनि प्रहरीले समातेर तीन रात हिरासतमा राख्यो । २०४५ मा दाङमा क्याम्पस भर्ना भएर उहाँ मशाल समूहको अध्यक्ष हुनुभयो ।
पासाङ २०४६ मा तत्कालीन मशालको पार्टी सदस्य बन्नुभयो । उहाँलाई वासुदेव भन्ने नेताले पार्टी सदस्यता दिनुभएको थियो । उहाँले शैक्षिक गुरु कृष्णबहादुर महराबाट पार्टी सदस्यता नवीकरण गर्नुभयो । २०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकताकेन्द्र मशालको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ देखि पूर्णकालीन सदस्य भएर काम गर्नुभयो ।
एकताकेन्द्र बनेलगत्तै रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । कृष्णबहादुर महरा सेक्रेटरी रहनुभएको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य हुनुहुन्थ्यो । जनयुद्ध तयारी गर्दा वाईसीएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहनुभएका पासाङ २०५२ फागुन १ मा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरुवात गर्दा देशका चार ठाउँमा गरेको आक्रमणमध्ये रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तर–पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर हुनुभयो ।
पासाङ २०५४ मा पार्टीको क्षेत्रीय व्युरो सदस्य हुनुभयो । २०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा २०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटव्युरो सदस्य हुनुभयो । २०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिनुभएको उहाँ २०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनुभयो । लगत्तै जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको निर्वाचनमा उहाँ स्थायी समिति सदस्यमा निर्वाचित हुनुभयो ।
पुस्तक र साहित्य
जनयुद्धमा माओवादीले बनाएको सैन्य संरचनाका लागि आवश्यक सैन्य पाठ्यक्रम पासाङले नै बनाउनुभएको हो । उहाँले माओको ‘बेसिक ट्याक्टिस’, क्लसविथको ‘अन वार’, सन्जुको ‘आर्ट अफ वार’ लगायतका सैन्यविज्ञानका पुस्तक अध्ययन गर्नुभयो । आफ्नो अनुभव र पुस्तक अध्ययनका आधारमा उहाँले ‘आधारभूत सैन्य शिक्षा’ पाठ्यक्रम तयार पार्नुभयो । त्यो पाठ्यक्रम भाग १ देखि ५ सम्म छ । त्यही पाठ्यक्रमका आधारमा माओवादीले युद्ध लडेको थियो ।
उहाँको साहित्यमा पनि विशेष रुचि छ । थुपै्र फुटकर गीत तथा कविता लेख्नुभएको उहाँका केही गीत सङ्गीतबद्ध हुन बाँकी छन् । वर्गसङ्घर्षको चरणमा उहाँले लेख्नुभएको ‘जनताहरू जाग्दै छन् जाग्दै छन्’ गीत चर्चित थियो । युद्ध उत्कर्षमा पुग्दै गर्दा उहाँले लेखेको ‘हामी राता मान्छे’, ‘हुरीका सन्तान हौँ हामी’ गीत चर्चित थिए । शान्तिप्रक्रियापछि उहाँले लेख्नुभएको पुस्तक ‘इतिहासको रक्तिम पाइला’ नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित छन् ।
विदेश भ्रमण
जर्मनी, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, बेल्जियम, चीन, भारत, बर्मा, थाइल्यान्ड ।
महत्वपूर्ण योगदान
शान्तिप्रक्रिया टुङ्ग्याउन पासाङको संयमताले धेरै काम गरेको थियो । दलहरूले जतिसुकै सहमति वा सम्झौता गरे पनि उहाँले नचाहेको भए शान्तिप्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्तिप्रक्रिया जारी रहँदा उहाँले तत्कालीन जनमुक्ति सेनालाई संयमसाथ जिम्मेवार बनाएर राख्नुभयो । सातै डिभिजनका कमान्डरले उहाँलाई साथ दिए ।
शान्तिप्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसङ्घअन्तर्गतको जीएमसीसीको भाइस कमान्डर रहेर काम गर्नेक्रममा उहाँले जर्मनी, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, बेल्जियम, चीन, भारत, बर्मा, थाइल्यान्डलगायतका मुलुक पुगेर नेपालको शान्तिप्रक्रियाबारे ‘क्लास’ दिनुभयो ।
पासाङ सैनिक कमान्डर तथा राजनीतिज्ञमात्र नभएर दक्ष प्राविधिक पनि हुनुहुन्छ । जनयुद्ध सुरु भएको वर्ष दिनपछि उहाँ आफैँले बार बोर बन्दुक बनाउनुभयो । त्यसपछि प्राविधिक विभागप्रमुखको जिम्मेवारी लिएर थ्रीनट थ्री राइफल, कटुवा पेस्तोल, टु इन्च मोर्टार, ८१ एमएम मोर्टार सेल बनाउनुभयो ।
२०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि आफू पराजित भएको क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा उहाँ सक्रिय हुनुभयो । आफू डेरा बसेको कपनबमे घर चर्किएपछि उहाँ उपराष्ट्रपति निर्वाचित हुनुअघिसम्म अस्थायी टहरामै बस्नुभएको थियो । उहाँ उपराष्ट्रपतिमा निर्वाचितपछि अस्थायी टहरोबाट उपराष्ट्रपतिको सरकारी निवासमा सर्नुभयो ।