७ बैशाख २०८१, शुक्रबार

नवनियुक्त लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन ?


अमिक शेरचन

चितवन । नवनियुक्त लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन् । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताएका उनी निर्भीक, निडर र इमान्दार मानिन्छन् ।

विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा बडिबहादुर र उमादेवीका पुत्रका रूपमा शेरचनको जन्म भएको हो । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । तत्कालीन समयमा पञ्चायतविरोधी अभियानमा सक्रिय उहाँले विभिन्न समयमा कारागार जीवन बिताएका छन् ।

विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य थिए । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रूपमा घोषणा गरिएको वामपन्थी नेता साध्यबहादुर भण्डारीले जानकारी दिए ।

नेता भण्डारीका अनुसार पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको थियो । शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष थिए । त्यसको केन्द्रीय अध्यक्षमा डा. बाबुराम भट्टराई थिए ।

नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।

एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेकाशेरचन चितवन क्षेत्र नं ३ बाट निर्वाचित भए । विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी)मा समाहित भएको थियो ।

उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उहाँले पार्टीको अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरे । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत बनेका थिए ।

विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नं ५ बाट विजयी भए । राज्य विद्रोहको मुद्दा लागेर पटकपटक हिरासतमा रहँदा त्यहीँ प्रहरीलाई समेत कुटपिट गर्नुभएका शेरचन कम्युनिष्ट नेताहरुमध्येका साहसी नेता भएको उनीसँग निकट रहेर राजनीति गरेका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताए।

शेरचन नेकपा (एमाले) र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य थिए । यसअघि उनी गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँको ठाउँमा चितवनकै सीता पौडेललाई नियुक्त गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !