६ बैशाख २०८१, बिहिबार

को हुन् शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ ?


कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ, असोज २९ । पृष्ठभूमि : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधवार मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री भएका छन् । यो मन्त्रालय भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्त कुमार नेम्वाङले सम्हाल्दै आएका थिए ।

काठमाडौं-९ बाट निर्वाचित सांसद श्रेष्ठ ओलीका सधैंका बफादार हुन् । ओली अध्यक्ष भएपछि उनले तत्कालीन एमालेको कार्यालय सचिवका रूपमा काम गरे । उनी लामो समय काठमाडौँ उपत्यकाको पार्टी नेतृत्वमा रहेका थिए । उनी यसअघि एक पटक स्थानीय विकास राज्यमन्त्री भएका थिए । मन्त्रीका रूपमा भने पहिलो पटक भित्रिएका हुन् ।

जन्म र पारिवारिक अवस्था 

मन्त्री श्रेष्ठको जन्म वि.सं. २०१५ साल असोज १५ गते विजया दशमीको दिन काठमाडौंमा भएको हो । हाल काठमाडौं महानगरपालिका वडा नम्वर १४ बल्खुमा बस्दछन् । उनका बाबुआमा काठमाडौंको राणा थर भएका एक व्यक्तिको घरमा डेरा गरी बस्दथे । डेरामा नै कृष्णगोपालको जन्म भएको हो । आमाले ज्याला मजदुरी गरेर हुर्काएको सम्झना उनलाई अहिले पनि ताजै छ । उनको बुबाको नाम हरिलाल श्रेष्ठ र आमाको नाम हरिमाया श्रेष्ठ हो । उहाँका एक छोरा र दुई छोरी छन् ।

शिक्षा र बाल्यकाल

उनले अर्थशास्त्रमा एमए गरेका छन् । राणा परिवारका बालबालिकाले पढेको देखेर उनले सानो उमेरमा अक्षर चिन्ने मौका पाए । स्कूल जान त पाएनन् । तर घरबेटीका छोराहरुले लेखपढ गरेको देखेर उनले धेरै कुरा सिके । पछि एकैपटक ५ कक्षामा भर्ना भएर आफ्नो पढाई पूरा गरेका थिए । सानै उमेरमा गरिवी, अभाव र पछौटेपन भोगेका नेता श्रेष्ठलाई त्यही बेलादेखि प्रगतिशील विचारधाराले प्रभावित बनायो ।

राजनीतिक यात्रा

२०३७ सालमा अनेरास्ववियुले गरेको पहिलो नेपाल बन्दमा उहाँ सकृयतापूर्वक सहभागी भएका थिए । विद्यार्थी र पार्टी आन्दोलनमा सहभागी हुँदा उनी पटकपटक जेल समेत परेका थिए ।

श्रेष्ठ २०३८ सालमा पार्टीको काठमाडौं जिल्ला कमिटी सचिव भए । श्रेष्ठ २०४२ सालमा भक्तपुर र २०४६ सालमा ललितपुरको पार्टी सचिव भएका थिए । यसअघि २०३६/०३७ सालमा उनी उपत्यका समन्वय कमिटीको सदस्य बनेका थिए ।

२०४७ सालमा अखिल नेपाल किसान संघको सचिव भएका श्रेष्ठ २०५४ सालमा नेकपा एमालेको काठमाडौं उपत्यका कमिटी सचिव बने । २०५४ सालदेखि उनी नेकपा एमालेको केन्द्रीय सदस्य भएका थिए ।

२०४८ सालको आम निर्वाचनमा मदन भण्डारीले छाडेको काठमाडौं क्षेत्र नम्बर ५ मा भएको उपनिर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भए । यस्तै २०५१ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भए । २०५६ मा काठमाडौं-९ बाट उम्मेद्वारी दिएका श्रेष्ठ पराजित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि उनी त्यही क्षेत्रबाट उम्मेद्वार बनेका थिए तर पराजित भए ।

२०६१ सालमा उनी स्थानीय विकास राज्यमन्त्री भएका थिए । पार्टीका हरेक काममा सक्रिय हुने श्रेष्ठले २०४६ सालमा एउटा महत्वपूर्ण जिम्मेवारी सम्हालेक थिए । त्योबेला सिरहामा भूमिगत रुपमा भएको पार्टी सम्मेलनमा उनलाई काठमाडौंबाट प्रतिनिधि बनाइएको थियो । त्यतिबेला काठमाडौंमा रहेका नेताहरु राधाकृष्ण मैनाली, केपी शर्मा ओली र मोदनाथ प्रश्रितलाई लुकाएर सिरहासम्म लैजाने जिम्मेवारी उनले सफलतापूर्वक सम्पन्न गरेका थिए ।

यो पनि पढ्नुहोस्

को हुन् नवनियुक्त महिलामन्त्री लीलानाथ श्रेष्ठ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !