१२ असार २०८१, बुधबार

यस्तो छ हेर्नुहोस् चित्रा नक्षत्रको जन्मफल


चित्रा नक्षत्र

चित्रा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् : पे, पो, र, रि । तर यस नक्षत्रका सुरुका दुईवटा अक्षरहरु पे र पो मात्र कन्या राशिमा पर्दछन्, त्यसैले यी दुईवटा अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको चित्रा नक्षत्र र कन्या राशि हुन्छ ।

यस नक्षत्रमा जन्म लिने जातकको प्रकृति यस्तो हुन्छ :

१. यिनीहरू आकर्षक हुन्छन् तथा तिखा र चंचल आँखा तथा विनम्र स्वभाव भएका व्यक्तित्व हुन्छन्, यद्यपि संयमता र धैर्यको कमी हुने गर्दछ । हतार र हडबड गर्ने स्वभाव हुन्छ, कतिपय काममा कुरो बिग्रिएपछि मात्र होस आउँछ ।

२. तीक्ष्ण मस्तिष्क र उच्च मानसिक शक्ति हुन्छ । मिलनसार हुन्छन्, सबैसँग राम्रो सम्बन्ध हुन्छ, मित्रताका क्रममा आफूसामु आएका जोसुकैसँग खुल्ला व्यवहार गर्ने बानी हुन्छ ।

३. आन्तरिक ऊर्जाले भरिपूर्ण हुन्छन् तथा साहस, हिम्मत र पर्याप्त आत्मबल हुन्छ । कुनै पनि काममा पछि हट्दैनन् र आफ्नो आन्तरिक ऊर्जा शक्तिको उपयोग गरी कार्य पूरा गर्छन् ।

४. विपरीत परिस्थितिमा पनि डराउँदैनन्, बरु त्यसलाई डटेर सामना गर्दछन् र कठिनाइमाथि विजय प्राप्त गरी छाड्छन् अनि निरन्तर उन्नतिप्रगतिको दिशामा अघि लम्की रहन्छन् ।

४. स्वभावमा पूर्ण रूपमा व्यवहारिकताको समावेश हुन्छ, त्यसैले जीवनमा निरन्तर सफल हुन्छन् । कुनै पनि काममा आलटाल गर्ने बानी हुँदैन, जुन काम गर्नु छ, त्यसलाई शीघ्रताका साथमा पूरा गरेर निश्चिन्त हुने गर्दछन् । व्यवहार र स्वभावमा मानवीय गुण देख्न पाइन्छ, समाजमा मानसम्मान र आदर प्राप्त गर्दछन् ।

५. चाँडै रिसाउनु यिनीहरूको कमजोरी हुने गर्दछ, ससाना कुरामा उत्तेजित हुनु स्वभाव जस्तै बनिदिन्छ । त्यसैले यस बानीलाई संयम भई दबाउन सके राम्रो हुन्छ । यिनीहरू जागिर/नोकरीका तुलनामा व्यवसायलाई महत्त्व दिने गर्छन् ।

६. बन्द व्यापार र व्यवसायिक कारोबारमा आफ्नो बुद्धि पक्षलाई उपयोग गर्छन् र त्यसैको बलमा व्यवसायिक जीवनमा अत्यधिक उन्नति गर्छन् ।

७. बोल्ने कलामा प्रवीण हुन्छन्, त्यसैले राजनेता, उद्घोषक, शिक्षक, लेखापरीक्षक र वकिलका रूपमा यिनीहरू प्रतिष्ठित हुनसक्छन् । लगनशीलता र परिश्रमका कारण यिनीहरूले जुन काममा पनि हात हाले पनि त्यसलाई पूरा गरेर मात्र विश्राम लिने गर्छन् ।

८. आशावादी हुन्छन् । जीवनमा सांसारिक सुखहरूको कमी हुँदैन । हरेक प्रकारको सांसारिक र भौतिक सुखको उपभोग गर्दछन्, अत्यधिक धनवान हुन्छन् र धनसञ्चयको राम्रो क्षमता हुन्छ । जेजस्तो भए पनि आफूसँग सवारी साधनको जोहो हुन्छ ।

९. पारिवारिक जीवन सुखमय र आनन्दप्रद हुन्छ, जीवनसाथीबाट पूर्ण सहयोग र सुख प्राप्त गर्दछन् । सन्तानका दृष्टिकोणले पनि भाग्यशाली ठहरिन्छन् । सन्तान अत्यधिक ज्ञानी र चलाख हुन्छन्, तिनले बुद्धि र ज्ञानको उपयोग गरी उन्नति गर्दछन् ।

१०. मित्रवर्ग र नातेदारबाट साथसहयोग प्राप्त हुन्छ । समग्रमा चित्रा नक्षत्रमा जसको जन्म भएको छ, उसको जीवन आनन्दप्रद र सुखमय हुन्छ ।

११. चित्रा नक्षत्रका अधिदेवता त्वष्टा हुन् । त्वष्टा शब्दले इन्द्रलाई बुझाउँछ, त्यसैले यस नक्षत्रका जातकले इन्द्रदेवताको पूजाआजा गर्ने चलन छ । चित्रगुप्तलाई पनि यस नक्षत्रको देवता मानिन्छ ।

१२. बेलको रुखलाई चित्रा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने मान्छेले बेलवृक्षको पूजा गर्ने गर्छन्, त्यस्तै यस नक्षत्रका जातकले आफ्नो घर वा घरवरिपरिको खाली भागमा बेलको रुख रोपी त्यसको पूजाअजा गर्ने र त्यसको स्याहार-सम्भार गर्दछन् ।

शुभ दिन !

ज्यो. खगेन्द्र सुवेदी
महर्षि भारद्वाज ज्योतिष सेवा केन्द्र,
इटहरी, सुनसरी, नेपाल
९८६५८०७३४३/९८१७९००७५०

धन्यवाद !

यो पनि पढ्नुहोस्

यस्तो छ हेर्नुहोस् हस्ता नक्षत्रको जन्मफल

यस्तो छ हेर्नुहोस् उत्तराफाल्गुनी नक्षत्रको जन्मफल

यस्तो छ हेर्नुहोस् पूर्वाफाल्गुनी नक्षत्रको जन्मफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !