लिच्छविकालमा केन्द्रमा सोझै राजाको शासन चल्दथ्यो । पूर्व-पश्चिमका प्रदेशहरुमा केन्द्रको अधिनमा रहेर सामन्त शासकहरुले शासन गर्दथे । केन्द्रीय सत्ता कमजोर भयो भने सामन्त शासकहरु स्वतन्त्र हुन कोसिस गर्दथ्ये । धर्मदेवको अकाल मृत्यु भएपछि उनका छोरा युवा अवस्थाका मानदेव राजा भए । त्यो मौका छोपेर पूर्व- पश्चिमका सामन्त शासकहरुले स्वतन्त्र हुने प्रयत्न गरे तर मानदेवले पूर्व-पश्चिमका सामन्तहरुलाई तह लगाएर नेपालको अखण्डतालाई कायम राखे । त्यसपछि शक संवत् ३८६ (वि. सं. ५२१) ज्येष्ठ शुक्ल प्रतिपदा, रोहिणी नक्षत्रमा चन्द्रमा बसेको शुभ दिनमा अशल अभिजित् मुहूर्तमा चाँगुनारायणमा गरुडध्वज स्थापना गरेर प्रसन्न भई ब्राह्मणहरुलाई अक्षय धन दान गरे । ब्राह्मण भनेका प्राज्ञिक वर्ग हुन् । यसरी मानदेवले प्राज्ञिक वर्गको सहयोगबाट ठूलो पराक्रम गरेर नेपालको अखण्डता कायम राख्न समर्थ भएको हुँदा आफुलाई गरुडको रुप मानेर भगवान् चाँगुनारायणप्रति विनितभावले आफ्नो सामर्थ्य अर्पण गरेका छन् ।
ब्राह्मण भनेका प्राज्ञिक वर्ग हुन् । यसरी मानदेवले प्राज्ञिक वर्गको सहयोगबाट ठूलो पराक्रम गरेर नेपालको अखण्डता कायम राख्न समर्थ भएको हुँदा आफुलाई गरुडको रुप मानेर भगवान् चाँगुनारायणप्रति विनितभावले आफ्नो सामर्थ्य अर्पण गरेका छन्।
मध्यकालको अन्ततिर काठमाण्डौका राजा जगज्जय मल्लको पालामा काठमाण्डौमा ठूलो महामारी फैलियो। केरुङ भोटका निमा सेङ्गे लामाले मन्त्र तन्त्र गरेर उक्त महामारी शान्त गरिदिएको हुँदा जगज्जय मल्ल खुशीभई त्यसको रिझ गुण बापत जगज्जय मल्लले निमा सेङ्गे लामालाई ने. सं.८४३ (वि. सं. १७८०) चैत्र कृष्ण प्रतिपदाका दिन सिन्धुपाल्चोकको तार्क्येमा ६६ रोपनि खेत र घर घरेडी समेत ६ रोपनि जग्गा विर्ता दिई तामापत्र गरिदिए । त्यसपछि पनि जगज्जय मल्ल खुशी भई ने. सं. ८४७ (वि. सं.१७८४) चैत्रकृष्ण अष्टमिका दिन निमा सेङ्गे लामालाई २४ रोपनि जग्गा दान दिए । नेपाल सरकार, राष्ट्रीय अभिलेखालयबाट प्रकाशित अभिलेख पत्रिकाको अंक २ (२०४१), पृ. १४५-१४६ मा यो तामापत्र छापिएको छ ।
देवाधर्मा (भूटान) का लामाको मन्त्र तन्त्र र पूजा पाठबाट आधुनिक नेपालको एकीकरणका अभियन्ता पृथ्वीनारायण शाह जन्मेका थिए । नेपाल सरकार, परराष्ट्र मन्त्रालयको जैसीकोठामा यश संबन्धी थुप्रै दस्ताबेजहरु सुरक्षित छन् । यसरी छोरा जन्मेको खुशीयालीमा नरभूपाल शाहले वि. सं. १७९८ फाल्गुण क्रुष्णपन्चमी, शनिवार ह्लोपा लामालाई रसुवाको नकथली गुम्बा, थुंबन, गोल्जुङ र चिलंतिको २ खेत, धुंबा र गदलां २ गाउँ र क्षोड लामालाई दिएको यजमानी समेत ब्राह्मण सरह कुशविर्ता दिई तामापत्र गरिदिएका थिए ।
देवाधर्मा (भूटान) का लामाको मन्त्र तन्त्र र पूजा पाठबाट आधुनिक नेपालको एकीकरणका अभियन्ता पृथ्वीनारायण शाह जन्मेका थिए ।
जब पृथ्वीनारायण शाह अघि बढ्दछ, त्यसबेला बाइसे र चौबिसे राज्यहरु उठेर गोरखा माथि आक्रमण सडयन्त्र रचिएको थियो । यो अरिष्टलाई टार्न पृथ्वीनारायण शाहले ज्ञानकर बाँडालाई गोरखाको मनकामनामा बसेर तन्त्र साधना गरि पश्चिमतिरको कटक (युद्ध) रोक्न लगाएका थिए । जुन जुन मोहोडामा पृथ्वीनारायण शाहले युद्ध जित्दथे, त्यति त्यति नै ज्ञानकर बाँडालाई शिरपाउ दिएर सम्मान गरिन्थ्यो। पृथ्वीनारायण शाहले विभिन्न मितिमा ज्ञानकर बाँडालाई लेखेका पत्रहरुबाट यो रहस्य पुष्टि हुन्छ ।
बहादुर शाहको नायवीकालमा पश्चिमतर्फको विजय अभियानमा हिँडेका देवान जीव शाहले युद्धमा आफ्नो विजय होस् भन्ने कामनाले शक संवत् १७०८ (वि. सं.१८४३) ज्येष्ठ कृष्णसप्तमी ।धनिष्ठा नक्षत्र। शनिवार मध्याह्न सिंह लग्नमा श्याङ्जा, लसर्घाका आलमदेवी कुलदेवतालाई नगरा र कर्णाल सहित १५० मुरी खेत गुठी चढाएर त्यही साइतले कालीगण्डकी तरेका थिए । आलमदेवीको नगरामा उक्त व्यहोरा अङ्कित गरिएको छ ।
नेपाल र भोट- चीनको युद्धमा पनि यस्तै घटना घट्यो । चीनका बादशाहका ज्वाइँ उजिर टुङथाङ भोट र चिनको विशाल सेना लिएर वि. सं.१८४९ भदौ ८ गते वेत्रावती आइपुग्यो । राजधानी काठमाण्डौबाट एक दिनको दरम्यानमा वैरी आएर थुप्रिनु नेपालको लागि ठूलो संकटको कुरा थियो । त्यस अवसरमा नेपालले युद्ध जित्नका लागि विभिन्न देवी देवताहरुको भाकल गरेका थिए । नुवाकोटको भैरव मन्दिरमा सुनको ढोका चढाउँला, सुनको छाना हालौँला भनेर भाकल गरे।हनुमानढोका राजदरबारमा ज्योतिषी र तान्त्रिकहरुले ज्योतिषशास्त्रका मङ्गलादी नव योगिनीको पुरश्चरण गरे । यसरी नुवाकोटका भैरव भैरवीको भाकल र पूजा अनुष्ठान र नव योगिनीको पुरश्चरणको प्रभाव चिनियाँ छाउनिमा पय्रो । यसले गर्दा वेत्रावतिको युद्धमा नेपालको विजय भयो र वि. सं. १८४९ असोज २४ गते उजिर टुङथाङ चीन फर्के ।
चीनसंग सन्धी भएपछि नुवाकोट भैरवको मन्दिरमा सुनको ढोका र सुन कै छाना हालेर वि. सं. १८४९ चैत्रशुक्ल अष्टमिका दिन सुवर्णपत्रमा त्यसको व्यहोरा अंकित गरेर भैरव भैरवीलाई सुनको ढोका र छाना अर्पण गरियो । भैरवको मन्दिर भनिएतापनि उक्त सुवर्णपत्रमा भैरवीको स्तुति र प्रशंसा गरिएको छ । भैरवीको शक्तिले गर्दा नेपालको पश्चिमतिर गङ्गासम्म साँध लागेको र नेपाललाई ध्वस्त पार्न आएका चीनियाँहरु भागेको उल्लेख छ ।
बुटवलको युद्धमा १९ वर्षका कर्नेल उजीरसिंह थापाले अंग्रेजका अनुभवी कर्णेल उडलाई जितेपछि तानसेनमा रणउजीरेश्वरी भगवती स्थपना गरेका थिए । यसैगरी किल्ला काँगडाको लडाईँमा हिँडेका बडाकाजी अमरसिंह थापाले डोटीको काँडा गाउँमा बडीमालिकाको मन्दिर बनाएर पूजाको लागि गुठीको व्यवस्था गरेर मात्र अघि बढेका थिए ।
भारत र पाकिस्तानको युद्ध हुँदा प्रधानमन्त्री ईन्दिरा गान्धीले गोरख्पुर, गीताप्रेसका संस्थापक पं. हनुमानप्रसाद पोद्दारसंग युद्ध जित्न सक्ने उपाय सोधेका छन् । पं. हनुमानप्रसाद पोद्दारले शतचण्डीको पुरश्चरणद्वारा युद्ध जित्न सकिन्छ भनेर उपाय बताएकाछन् । क्ल्याण भाग ३९,ई. १९६३ अक्टुवर ५, पृ. १३१७-१३२१ मा यो तत्त्वज्ञान लेखिएको छ ।
यसरी तान्त्रिक साधना र भगवत्कृपाबाट माहामारी, दुर्भिक्ष्य-अनिकाल र शत्रुलाई जितेर देशको रक्षा गर्न सकिन्छ भन्ने गुह्यज्ञान रहेको बुझिन्छ ।
शङ्करं शङ्कराचार्य, भगवान् लोकशङकरले चराचर जगतको कल्याण गरुन् ।।
।।शुभम्।।
*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्