धर्म शब्द संस्कृत शब्द हो । संस्कृतको “धृञ” धातुबाट आएको हो । “धारणात् धर्ममित्याहुः इति बेद बिदो बिदुः” अर्थात् यसको अर्थ धारणा गर्न योग्य शाश्त्र सम्मत शुभ–कर्म र परहितका कर्महरू भन्ने हुन्छ । गुण, वस्तु वा कार्य जुन धारणा गर्न योग्य हुन्छ, त्यो धर्म कहलाउंछ । धर्मको अर्को अर्थ यस्तो पनि छः घृणा, लोलुपता जस्ता अवगुणहरूले रहित र वेदमा पारंगत बिद्वान एवं गुणवान व्यक्तिद्वारा मान्य नियम जुन हो त्यो धर्म हो । मनुका अनुसार बेद, सदाचार, कर्तव्य र स्वयं सन्तुष्टि यी चार कुरा धर्मका साक्षात स्रोत हुन् । धर्म अन्तर्गत मानिसका धार्मिक, नैतिक, सामाजिक तथा बिधि सम्मत कर्तव्य सामेल हुन्छ ।
धर्मका ४ भाग हुन्छन् ।
(१) शौचः – शौच भनेको बाह्य पवित्रता नै हो ।
(२) दानः – दान भनेको पूर्ण बोध गराउने ज्ञान, परोपकार र सन्मार्ग देखाउनु नै हो ।
(३) दयाः – दया भनेको अहिंसा, प्रेम र सद्भावना मैत्री सम्पूर्ण ईश्वरमय जान्नुलाई भन्निछ ।
(४) तपः – तप भनेको अन्तस्करण पवित्र गर्नु, वाणीले भगवतनाम लिनु र पवित्र विचार गर्नु नै तप हो ।
भाष्यकार मेघातिथिले कर्तव्यलाई धर्म भनेका छन् । समस्त हिन्दू धर्मशास्त्रहरूको रचना कर्तव्यकै जसमा अडेको छ । कर्तव्य भनेको ग्राह्य र त्याज्य वस्तुको बोध हुनु हो । हिन्दू शास्त्रहरूले धर्ममाथि ठूलो जोड दिएका छन् । धर्मले हिन्दू–दार्शनिक–चिन्तन र हिन्दू सामाजिक–रचना समस्तलाई व्याप्त गर्दछ । धर्मलाई यस व्यापकताको दृष्टिबाट हेर्दा कानून धर्मको एक शाखा जस्तो मात्र देखिन्छ । मनुका अनुसार धर्मात्मा एवं रागद्वेषरहित विद्वानहरूद्वारा सर्वदा सेवित र ह्दयदेखि नै स्वीकार्य भएको चीज नै धर्म हो ।
मनुका अनुसार धर्मात्मा एवं रागद्वेषरहित विद्वानहरूद्वारा सर्वदा सेवित र ह्दयदेखि नै स्वीकार्य भएको चीज नै धर्म हो ।
धर्मको तत्व जान्न इच्छुक व्यक्तिले वेदमूलक बिविध श्रुति एवं स्मृति आदि गरिएका शास्त्रहरूको ज्ञान राम्ररी हासिल गर्नु पर्दछ । प्रत्यक्ष अनुमान र शास्त्र यी कुराहरू मनुसम्मत प्रमाण हुन् । जो मानिस ऋषि, वेद र वेदमूलक स्मृति शास्त्रहरूको बेदकै अनुकूल तर्कबाट विचार गर्दछ, उही धर्मज्ञ कहलाउछ, अरू कहलाउँदैनन् । शास्त्रहरूमा प्रतिपादित धर्मको स्वभाव अत्यधिक जटिल हुन्छ । फराकिलो दृष्टिले हेर्दा धर्मलाई शास्त्रबाट पाइएका सिद्धान्तहरूको अड्डको रूपमा मान्न सकिन्छ । धर्मको सही अर्थ कर्तव्यमा निहित रहन्छ भनी मनुका टिप्पणीकारहरूमध्येका मेघातिथिले भनेका छन् । यसै दृष्टिकोणबाट हिन्दू धार्मिक पद्धतिलाई कर्महरूमा आधारित पद्धति भनी भन्ने गरिन्छ । हिन्दू ऋषिमुनिहरू र विधि निर्माताहरू समेतले एकै स्वरमा कर्महरूलाई नै जोड दिएका छन् । कर्महरूको मतलब व्यक्तिले आफ्नो जीवनको हरक्षणमा गरेका निजी रूपमा र सामूहिक रूपमा दुबै कर्महरू भन्ने हो । दुबै कर्ममा :
१) सकाम
२) निष्काम कर्म हुन्छ ।
१) सकाम कर्म भनेको पुनर्जन्म हुनु हो जस्मा फलको आशा लिनु, धनको आशा लिनु, मोक्षको आशा लिनु नै सकाम कर्म हो ।
२) निष्काम कर्म भनेको फलको आशा नलिनु नै मोक्ष हुनु हो । तसर्थ मोक्ष हुने मानिसले सबै कर्म भगवान्मा अर्पण गर्नुपर्दछ । निष्काम कर्म बारे गीतामा भनिएको छ कि –
यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत् ।
यत्तपंस्यासि कौन्तेय तत्कुरुष्व मदर्पणम् ।।
अर्थात् जति यज्ञ दान कर्म जे गरिन्छ सो सबै ईश्वरमा अर्पण गर्नु नै निष्काम कर्म हो ।
हिन्दूहरूले वेदलाई ईश्वरीय वाणी भन्दछन् । जस्तो ॐकारबाट नै वेदको शब्द उच्चारण भयो । त्यसैलाई श्रुति भनिन्छ । त्यसैले हिन्दूहरूले हिन्दू कानूनलाई दैवी उत्पत्ति भनेका छन् । हिन्दूको अर्को विस्वास केमा छ भने प्राचीन ऋषिमुनिहरूले आध्यात्मिक शक्तिको खुब बिकास गरेका थिए । त्यसैको बलले उनीहरूले ईश्वरको साक्षात्कार गरे ।
हिन्दूहरूले वेदलाई ईश्वरीय वाणी भन्दछन् । जस्तो ॐकारबाट नै वेदको शब्द उच्चारण भयो । त्यसैलाई श्रुति भनिन्छ । त्यसैले हिन्दूहरूले हिन्दू कानूनलाई दैवी उत्पत्ति भनेका छन् ।
याज्ञबल्क्यका मतानुसार वेद, धर्मशास्त्र, सज्जनहरूको आचरण, आफ्नो मनमाफिकको शास्त्रोक्तकार्य र बिवेकपूर्ण सड्ढल्पबाट उत्पन्न इच्छा यी सब धर्मका मूल मानिन्छन् । फेरि याज्ञवल्क्यले चारवेद, बेदाड्ड, धर्मशास्त्र, न्याय पुराण र मीमांसा यी कुराहरूलाई कानूनको ज्ञानको श्रोत भनी बताएका छन् । अर्थ र काममा अनासक्त मनुष्यको लागि धर्मकै उपदेश गरिन्छ । धर्मका जिज्ञासुहरूको निम्ति वेद नै मुख्य प्रमाण हो ।
१) वेद (श्रुति): श्रुति शब्द “श्रु” धातुबाट प्राप्त भएकोले यसले सुन्नु वा सुनिएका भन्ने अर्थ बुझाउँछ । श्रुतिका सम्बन्धमा विश्वास के छ भने यो ईश्वर स्वयंले ऋषिहरूसमक्ष प्रकट गरेको कुरा हो । यसरी प्रकट गरिंदा ऋषिहरूले ईश्वरबाट जो सुने त्यो त्यही रूपमा अड्ढित गरे भनी भनिन्छ । वेद व्यावहारिक प्रयोगमा त्यति आउन सक्ने नदेखिए पनि श्रुतिलाई सर्वोपरि प्रमाण ठानिन्छ । श्रुतिभित्र चार वेद, चार उपवेद, खण्ड उपनिषदहरू र षट्शास्त्रहरू समावेश हुन्छन् । यसको प्रयोजन अलौकिक ज्ञान उपलब्ध गराएर मनुष्यलाई मोक्ष प्राप्त गराउनु हो । वेदहरूमा पनि ऋग्वेद अति प्राचीन मानिन्छ । यजुर्वेदले संस्कार र तत्सम्बन्धी बिषयको वर्णन गर्दछ । यसमा मन्त्रहरूकै बाहुल्य हुन्छ । चार वेदहरूमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद पर्दछन् । वेदहरूबाट कार्यरूपमा उपवेदहरूको सृजना भयो । उपवेदहरू चार प्रकारका मानिएका छन्, यी हुन् :
१) आयुर्वेद जसबाट औषधिहरू र उपचार सम्बन्धी बोध हुन्छ ।
२) धनुर्वेद जसबाट शस्त्र अस्त्रको निर्माण, धर्मको रक्षाको लागि धनुर्वेद प्रयोगमा ल्याइएको छ ।
३) गान्धर्व वेद जसबाट सार स्वर संगीत इत्यादिको प्रतिपादन हुन्छ ।
४) स्थापत्य वेद जसबाट मूर्तिकलाहरूको साकार रूपमा प्रयोग गरिन्छ ।
तसर्थ चार वेद र चार उपवेदबाट नै पुराणहरूको सृष्टि भएको हो ।
कल्प, व्याकरण, छन्द, शिक्षा, ज्योतिष र निरुक्तलाई वेदाड्ड भनिन्छ ।
श्रुतिहरूले अति आदिकालका हाम्रा पूवजहरूको स्वजनको बिषय सम्बन्धी उनीहरूको आचरण, विचार धारा, दर्शन र प्रथाहरू उपर व्यापक प्रकाश पारेको देखिन्छ । मनुष्यको आचरण नियमित गर्ने उपदेशहरू समाविष्ट भएको वैदिक धर्मग्रन्थहरूको प्रभुत्व प्रत्यक्ष ईश्वरोक्ति उपर आधारित हुन्छ भन्ने सिद्धान्त छ । यी उपदेशहरूको विवेक र यिनका आधिकारिक चरित्र जो छन् त्यस उपर सन्देहात्मक युक्तिको प्रयोगद्वारा प्रश्न पनि उठाइदैन र परीक्षण पनि गरिदैन ।
इश्वरोक्तिको कार्यक्षेत्र भित्र सिद्ध र साध्य दुई किसिमका शीर्षकहरूको निर्देश हुन्छ । पछिल्लो साध्य भन्ने शीर्षक कुनै कार्यको औचित्य र अनौचित्य जान्न वा ग्रहण गर्न सक्ने युक्ति युक्त चरित्रहरू मध्येको नभएकोले सो साध्य शिर्षकलाई विचार वा युक्ति जस्ता ज्ञानको सामान्य श्रोतबाट निश्चित गर्नसम्म अपूर्ण मानिनु पर्दछ भन्ने कुरा वैदिक दार्शनिकहरूले स्वीकार गरेका छन् । यति मात्र होइन यदि कुनै कर्मको नैतिक चरित्र पत्ता लगाउनमा कसैले सो कर्मकै फललाई उद्धृत गर्नुपर्ने भयो भने पनि उक्त विचार र युक्ति जस्तो ज्ञानको सामान्य लौकिक स्रोतहरूको कमी प्रत्यक्ष हुन्छ । यद्यपी ती सामान्य लौकिक स्रोतहरूले मनुष्य जीवनको अल्पावधि भित्रै कर्मको फल प्रदर्शित गरेर मनुष्यलाई यो कर्मको फल अनुमान गर्न सक्ने बनाउन सक्यौं भने पनि त्यहां असीमित क्षेत्र रहि नै रहन्छ । त्यसै यस क्षेत्रको परिधि बाहिर त्यो विचार र युक्ति जस्ता ज्ञानका सामान्य लौकिक स्रोतहरू आफ्नो ऋङ्खलाभित्र लपेटिएर रहनै सक्दैनन् ।
स्मरणातीत जनरीतिस्थितिलाई मनु स्वयंमा अलिखित् कानून मान्दछन् र उनी यसको महत्व उपर जोड दिन्छन् । स्मृतीकारहरू सज्जनहरूको प्रथालाई आचार सदाचार र शिष्टाचारको नामले उच्चारण गर्दछन् । व्यापक दृष्टिमा ती शब्दहरूको अर्थ सद्गुण सम्पन्न मानिसहरूको रीतिस्थिति भन्ने हुन्छ । अर्थात् सदाचार त्यस्ता सद्गुणी मानिसहरूको त्यो धारणा हो जसमा औचित्य सम्बन्धी तत्व अवश्य निहित रहन्छ ।
हारित अनुसार सत्को मतलब असल हो । असल मानिसहरुरू ती हुन् जो दुष्टताबाट मुक्त रहन्छन् । ती मानिसहरूको आचरण सदाचार कहलाउंछ । शिष्टाचार सदाचारको पर्यायवाचीको रूपमा प्रयोग गरिन्छ । शिष्टाचारको मतलब शिष्ट जनताको रीतिस्थिति हो । बौधायन अनुसार जो ईष्र्या र अहंकारले रहित छन् जो स्वयंमा संतुष्ट छन् र इच्छा, आडम्बर, अहं, लोभ, मोह र क्रोधबाट मुक्त हुन्छन्, जस्ले धार्मिक प्रक्रियाद्वारा निर्धारित सारस्वर अनुसार वेदाध्ययन गरेका छन्, जो संग वेदहरूबाट अनुमान लगाउने र श्रुतिहरूबाट प्रत्यक्ष निर्देश खिच्ने ज्ञान हुन्छ ती शिष्ट मनुष्यहरू सदाचारी हुन् ।
सनातन धर्म भनेको प्राकृतिक सृष्टिका साथसाथै उदय भएको हो । जसको नाश छैन साथै उत्पत्ति पनि छैन । भईरहने र रही रहनेलाई सनातन धर्म भन्दछन् । त्यस्तै हिन्दू धर्म पनि सनातन धर्मको अभिन्न अड्ड मानिएको छ । जस्तो आत्मा र परमात्माको भिन्नता छैन नाम अलग भएतापनि कारण बस्तु एक हो । नबुझ्नाले द्वैत दृष्टि देखिएको मात्र हो । मूलतः सनातन धर्म र हिन्दू धर्म एक आपसमा बाधिएर प्राकृतिक सृष्टिको साथ साथै आएको हो । यसमा आदि अन्त्य केही पनि हुदैन, छैन ।
सनातन धर्म भनेको प्राकृतिक सृष्टिका साथसाथै उदय भएको हो । जसको नाश छैन साथै उत्पत्ति पनि छैन । भईरहने र रही रहनेलाई सनातन धर्म भन्दछन् ।
*मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ८० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।
यो पनि पढ्नुहोस्
मर्यादा पुरुषोत्तम भगवान् श्रीराम
माघे संक्रान्ति र यसको धार्मिक महत्व
होली पर्व र योसँग जोडिएको पौराणिक लोककथा
महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व
महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व