दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेको छ । यी दुई फरक ठुला पार्टीहरु पार्टी एकता भएर सरकार चलाईरहेका छन् । पछिल्लो समयमा वाम गठवन्धनको सरकारवाट जनताले धेरै विकासको आशा गरेका छन् । तर अहिले हेर्ने हो भने कुनै खालका जनअपेक्षा अनुसारका विकासका कामहरु हुन् सकेका छैनन् । नेकपाका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले निकै नै जनता समक्ष विभिन्न आशाहरु देखाउनुभएको थियो । जनताहरुले पनि एकता भएपछि नेपालमा ठुलै विकास हुन्छ भन्ने आशा गरेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर चुनाव लडेसँगै चुनाव जित्न सफल भएका थिए । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नुभयो । चुनावमा सफल भएपनि पार्टी एकता हुनलाई निकै नै समस्या झेल्नु थियो । पार्टी एकताको लागि लामो समयदेखिको छलफल र प्रयासवाट २०७५ साल जेठ ३ गरे बिहिबार राष्ट्रिय सभागृहमा एकीकरण घोषणा गरी पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी भएको थियो । पार्टी एकता भएसँगै पद, भागवण्डा लगाउनलाई निकै नै कष्ट भएको छ । फरक ठुला दलहरु एकता भएसँगै पार्टीका अध्यक्ष को भन्ने विषयमा पार्टीभित्र विवाद भएको थियो । तर अन्तिममा पार्टीको महाधिवेशन नभएसम्मको लागि अध्यक्षमा ओली र प्रचण्ड रहेका छन् । देश र जनताको लागि विकास गर्छु भनेर भोट माग्न गएका यी पार्टीका नेताहरु आफ्नै पार्टी एकताको विषयमा अल्झिरहेका छन् ।
पछिल्लो समयमा यो वाम गठवन्धनका सरकारले देश र जनताको जनअपेक्षाका कुनै पनि काम गरिएको देखिदैन । मन्त्रिमण्डलभित्रै धेरै समस्या देखिन्छ । कुनै एक मन्त्रीले राम्रो काम गर्छु भनि अघि बढेका हुन्छन् तर अन्य मन्त्रीले काम गर्न वाधा पुर्याएको देखिन्छ । एउटा मन्त्रालयले गरेको कामलाई अर्को मन्त्रालयले कार्यन्वयन गर्न असहयोग गरेकोले सरकारले चाहेर पनि विकासको गति लिन सकेको छैन ।
केपी ओलीको भारत र चीन भ्रमणसँगै यी दुवै देशसँग विशेषगरी पानीजहाज, रेलको लागि प्रस्ताव गर्नुभएको छ । तर नेपालको परिस्थिति हेर्ने हो भने निकै नै नाजुक रहेको छ । न यातायातको राम्रो व्यवस्था छ, न खानेपानीको, नत साँस्कृतिक सम्पदाको उचित व्यवस्था छ । नेपालमा भएका स्रोत र साधनहरुलाई परिचालन गरी विकास गर्न नसकेपछि अरु देशहरुसँग विकासको लागि सहयोग माग्न बाध्य भएका छन् । देशमा भएका उद्योग, कारखानाहरु विभिन्न कारणले वन्द हुने र वन्द भइसकेको अवस्था छ । यसले गर्दा अधिकांश युवा विदेशी भूमिमा श्रम वेच्न वाध्य भएका छन् । त्यहि श्रमवाट आएको रिमिटेन्सले देशको अर्थतन्त्रमा टेवा पुराई राखेको छ ।
अर्कोतर्फ पछिल्लो समय दिनानुदिन वढिरहेको सामाजिक अपराधले पनि सरकारलाई विकासको वाटोमा अगाडी वढ्नलाई अवरोध गरेको होकी भन्ने आशंका देखिएको छ । अपराधका घटनालाई आफ्नो नियन्त्रणमा लिन नसकेको होकी भन्ने पछिल्ला केहि घटनाले पुष्टि गरिरहेका छन् र यस्ता घटनाहरुलाई सरकारले न्यूनीकरण गर्न सकेको छैन ।
दुईतिहाइ बहुमत सहितको सरकारले नेपालमा विकास गर्छ भन्ने सम्पूर्ण नेपाली जनताहरुको मनमा अझपनि भरोषा रहेको छ । तर अहिले हेर्ने हो भने यो सरकारले दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धिदेखि विभिन्न क्षेत्रमा कर बढाउदै आएको छ । अन्य खाद्यान्नको पनि मूल्य वृद्धि गरेका छन् । कर वृद्धिको विषयमा विभिन्न संगठनले आन्दोलन गर्दै आएतापनि सरकारले खासै चासो दिएको देखिदैन ।
अहिले प्रधानमन्त्री ओली विभिन्न देशको भ्रमणमा व्यस्त हुनुहुन्छ । तर वाम गठवन्धनका सरकार अन्योलग्रस्त अवस्थामा देखिन्छ । अहिले हेर्ने हो भने सयौ नेपालीहरु पराई भूमिमा जान वाध्य भएका छन् । कतिले ज्यान गुमाइरहेका छन् भने कतिजना नेपाल फर्कन पनि पाइरहेका छैनन् । आफ्नो जीविकापार्जन गर्नको लागि पनि नेपालीहरु अरुको देशमा पसिना बगाउनुपर्ने यो देशका नेपालीहरुको बाध्यता रहेको छ । आखिर किन ?
केहि समय अगाडि नेपालसँगैका देशहरु अहिले कहाँ पुगिसकेका छन् । आजभन्दा पचासौं वर्ष अगाडि कोरियाको लागि नेपालवाट खाद्यान्न चामलहरु सहयोग गरेको थियो । तर अहिले कोरियाको विकासहरुलाई नियालेर हेर्ने हो भने नेपाल र कोरिया आकाश र पातालको फरक देखिन्छ । नेपालले सहयोग गरेको देश कोरियामा अहिले नेपालीहरु पैसा कमाउनको लागि जान मरिहत्ते गरी इपीएस पास गर्ने तयारीमा रहेका छन् । एक वर्षमा सात हजारको कोटा खोलिएको हुन्छ । यसमा परीक्षाको लागि ७० हजार नेपालीहरुले फर्म भर्ने गरेको पाइन्छ ।
कोरिया जस्ता अन्य नेपालसँगैका देशहरु अन्य देशका नागरिकहरुलाई रोजगार दिन सक्ने भईसकेका छन् । तर अहिले नेपालको परिस्थितिलाई हेर्ने हो भने नेपालीहरुलाई रोजगार दिन सकेका छैनन् । विकासका कामको नाममा भ्रष्टाचार गरी नेपाललाई सकिसकेको छ । सिंगो देशका जनताको हितको लागि काम गर्नलाई राजनीतिमा लागेका नेताहरु अहिले भ्रष्टाचारमा मुछिएका छन् । कुनै एक नेताले राम्रो काम गर्न खोजेतापनि अन्य व्यक्तिहरुले अथवा आफ्नै पार्टीका नेताहरुले खुट्टा तानिरहेका हुन्छन् । संबिधान कार्यन्वयनको चरणमा छ । पूर्ण रुपमा कार्यन्वयन भइसकेको छैन ।
वाम गठवन्धनको सरकारको अहिले कुनै कार्ययोजना देखिदैनन् । योजनाविहिन भएका छन् । वाम गठवन्धनको सरकारले जनताको हितको लागि होइन, जनतालाई दु:ख, पिडा दिएका छन् । चुनावको समयमा बोलेका शब्द र अहिले हेर्ने हो भने धेरै नै फरक देखिन्छ । चुनाव जितेपछि यो गर्छु त्यो गर्छु भन्दै भाषण गर्ने नेताहरु चुनाव जितिसकेपछि सत्तामोहमा लिप्त हुने र जनताको सरोकारको कुनै चासो लिएको देखिदैन ।
नेपाललाई विकासको बाटोमा लैजानको लागि नेपालमा दुईवटा पार्टीभन्दा वढी हुन आवश्यक देखिदैन । संबिधानलाई पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्दछ । नेपलमा भएका जडीबुटीहरुलाई परिचालन गरी सम्पूर्ण उद्योग, कारखानाहरु संचालन गर्नुपर्छ । नेपालमा भएका सांस्कृतिक सम्पदाहरुको संरक्षण गरेमा पर्यटकहरु आकर्षित हुन्छन र त्यसवाट नेपाललाई आर्थिक रुपमा ठुलो टेवा पुग्छ । सन् २०२० सम्ममा नेपालमा २० लाख पर्यटक भित्राउने अभियानलाई व्यापक रुपमा अगाडि वढाएको भए अझै नेपालमा विकास हुन सक्ने सम्भावना देखिन्छ । नेपालमै योग्यता अनुसार रोजगार दिने सरकारले व्यवस्था गर्नुपर्दछ । समाजमा घटेका बलात्कार जस्ता जघन्य घटनाहरुलाई खोजी गरी पिडितलाई न्याय दिनुपर्दछ र पीडकलाई कानुनी कारवाही गर्नुपर्छ । भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । अनि मात्र वाम गठवन्धनको सरकारले जनताको मन जित्न सक्नेछ ।
*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।
यो पनि पढ्नुहोस्
शिक्षाको आवश्यकता र महत्व
के निर्मलाले न्याय पाउलिन त ?
कहिले होला हाम्रो शिक्षाको सम्मान सरकार