काँक्रेविहार, सुर्खेत । डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँगै अन्य सामुदायिक वन क्षेत्रमा गणना गर्दा डोल्पामा हिउँ चितुवाको संख्या नेपालकै उच्च भएपछि खुसीसँगै चुनौती थपिएको छ ।
हिउँ चितुवाको संख्या एक सय २० पुगेपछि आगामी दिनमा दिगो, वैज्ञानिक, एकीकृत व्यवस्थापनको चुनौती बढेको हो । विश्वमै दुर्लभ मानिएको हिउँ चितुवाको सङ्ख्या चिनसँग सिमा जोडिएको डोल्पामा वर्षै पिच्छे वृद्धि भएपछि यसको व्यवस्थापन तथा संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाको माग छ ।
हिउँ चितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा व्यवस्थापनको चिन्ता बढेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताउनुभयो । प्रदेश सरकारको मातहतका डिभिजन वन कार्यालय डोल्पाको अगुवाइमा सामुदायिक वन समुह भित्र हिउँ चितुवाको गणना गरिएको थियो ।
पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै तीसवटा हिँउ चितुवा फेला पारिएको छ । सर्वेक्षण अनुसार निकुञ्ज क्षेत्र बाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको सामुदायिक वन क्षेत्रमा प्रति एक सय वर्ग किमीमा हिँउ चितुवाको घनत्व १.५ रहेको छ ।
हिँउ चितुवा एशियाका १२ वटा राष्ट्रमा मात्र पाइने गर्दछ । नेपालमा सबैभन्दा धेरै डोल्पामा हिउँ चितुवा रहेको शे- फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए ।
चार बर्ष अघि क्यामेरा ट्रयाप विधिबाट हिँउ चितुवाको गणना गर्दा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा फेला परेको थियो । पछिल्लो तथ्याङ्क अनुसार निकुञ्जमा प्रति एक सय वर्ग किमी क्षेत्रफलमा हिँउ चितुवाको घनत्व २.२ रहेको छ ।
हिँउ चितुवाको सङ्ख्या बृद्धि भएसँगै मावन वन्यजन्तु द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामुलक र राहतका कार्यक्रम प्रभावकारी ढङ्गबाट लागु गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ ।
हिँउ चितुवाको सङ्ख्या वृद्धिले पर्यापर्यटन र आयआर्जनमा टेवा पुग्ने जनाइएको छ । हिँउ चितुवा गणना गर्दा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट गरिएको सर्वेक्षणमा ८० लाख र डिभिजन वन कार्यालयको तेतृत्वमा गरिएको सर्वेक्षणमा ४८ लाख रकम खर्च भएको विश्व वन्य जन्तु कोष (डब्लुडब्लुएफ)का अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले बताए ।
दुवै निकायले गरेको सर्वेक्षणमा प्राविधिक तथा आर्थिक सहयोग डब्लुडब्लुएफले गरेको छ । डोल्पा देशकै सबैभन्दा ठुलो जिल्ला हो । डोल्पाको माथिल्लो भागमा हिमाली क्षेत्र छ भने तल्लो क्षेत्रमा मध्यम खालको हावापानी छ ।
निकुन्ज तथा सामुदायिक वन क्षेत्रमा हिउँ तथा विकट भूगोल भएकाले संरक्षणको काम चुनौतिपूर्ण छ । हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ र संरक्षित वन्यजन्तु हो । यसले पर्यावरणको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका गर्ने विज्ञ बताउँछन् ।
ठूलो र दुर्गम भौगोलिक क्षेत्रको वासस्थानमा बस्ने भएकाले ठूला बिरालामध्ये विश्वव्यापी रूपमा कम अध्ययन गरिएका प्रजातिमा यो प्रजाति छ ।
नेपालमा हिउँचितुवाको बासस्थान ३० हजार वर्ग किलोमिटर मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर रहेको डब्लुडब्लुएफका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिए । यी क्षेत्रहरू बासस्थान र करिडोर दुवैको रूपमा महत्वपूर्ण रहेको उनले बताए ।
नेपालको तीन संरक्षित क्षेत्र (शे-फोक्सुण्डो, ढोरपाटन शिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र) र हिउँचितुवाको दुई भुपरिधी क्षेत्र (पश्चिम र मध्य) मा रहेका हिउँचितुवाको संख्या गणना गरिएको उनको भनाई छ । सरकारले यस क्षेत्रमा हिउँ चितुवाको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको हमालले जानकारी दिए ।
२०८० वैसाखदेखि भाद्र महिनासम्म गरिएको क्यामेरा ट्रयाप सर्वेक्षणले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज बाहिरको पूर्वी डोल्पा क्षेत्रका हिउँचितुवाको संख्या पहिलो पटक यकिन गरेको हो । सर्वेक्षणले प्रति एक सय वर्ग किलोमिटरमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ । यससँगै अध्ययन क्षेत्र भित्र ३० वटा हिउँ चितुवा भेटिएको छ ।
चार वर्ष अघि निकुञ्जभित्र गरिएको सर्वेक्षणमा प्रति एक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो । ९० वटा हिउँचितुवा निकुञ्ज र संरक्षण क्षेत्रभित्र भेटिएको थियो ।
हिँउ चितुवा विश्वमै एशियाका १२ राष्ट्रमा मात्र पाइन्छ । यसको कूल सङ्ख्या चार हजार देखि छ हजार पाँच सय मात्र रहेको अनुमान छ । हिँउ चितुवा धेरै पाइनेमा नेपाल चौथो राष्ट्रमा पर्दछ । नेपालमा तीन सय देखि चार सयको संख्यामा हिउँ चितुवा रहेको तथ्यांकले देखाएको छ । हिँउ चितुवा अवलोकनको लागि डोल्पा विश्वकै एक प्रमुख गन्तव्य हुनसक्ने डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ ।
वन कार्यालयका अनुसार पछिल्लो सर्वेक्षणले छार्का ताङ्सोङ, काइके र डोल्पो बुद्ध गाउँपालिकाका राष्ट्रिय निकुञ्ज बाहिरका क्षेत्र समेटेको थियो । हिमाली भुभागमा पर्ने करिब दुई हजार वर्ग किलोमिटर क्षेत्रफलमा ६० दिनसम्म यो अध्ययन गरिएको हो । अध्ययनमा ३३ जना वैज्ञानिक, डिभिजन वन कार्यालय डोल्पाका सात जना कर्मचारी, तीन विद्यार्थी र दुई जना डब्लु डब्लु एफ नेपालका वन्यजन्तु अनुसन्धानकर्ता सामेल थिए ।
“विश्वव्यापी रूपमा हिउँ चितुवाको अनुसन्धान र संरक्षणका विभिन्न प्रयास भईराखेका छन् । यस सन्दर्भमा नेपाल सरकारलाई सहयोग गर्न अनि हिउँचितुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग साझेदारी गर्न पाउँदा हामी थप जिम्मेवार भएका छौँ”, डब्लुडब्लूएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले भन्नुभयो । हिउँचितुवाको संरक्षण र स्थानीय समुदायको विकासलाई समानान्तर रूपमा अघि बढाउन डब्लुडब्लूएफ नेपालले समुदायमा आधारित संरक्षणका प्रयास जारी राख्ने पनि डा.गुरूङले जानकारी दिए ।
हिउँ चितुवाको संरक्षण गरि मानव–हिउँचितुवा द्वन्द्व घटाउन पशु वीमा तथा राहत व्यवस्था गरिएको छ । घरपालुवा पशु चौपायाको चरिचरन क्षेत्रलाई हिउँचितुवा संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन तथा जडिवुटी उत्पादन क्षेत्रको रुपमा विकास गर्नको लागि दीगो, वैज्ञानिक, एकीकृत व्यवस्थापन तर्फ साझा पहल र अभ्यास गर्नका सबैले सकारात्मक भूमिका खेल्ने अपेक्षा लिइएको छ ।
शे-फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज डोल्पा र मुगु जिल्लामा फैलिएको छ । शे–फोक्सुण्डोमा हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायतका हिमाली वन्यजन्तु पाइन्छन् ।
यस निकुञ्जलाई डाँफे, मुनाल, चिर लगायत दुइ सय प्रजातिका पंक्षीहरू, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार बिहारबारे भएको वैज्ञानिक अनुसन्धानले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।
निकुञ्जको मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल सन् २००७ मै रामसारमा सूचीकृत भएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बा यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।