५ श्रावण २०८१, शनिबार

ताप्लेजुङमा बेमौसमी हिमपातले जनजीवन कष्टकर


ताप्लेजुङ पाथिभरा बेमौसमी हिमपात

ताप्लेजुङ । ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ । पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ ।

पछिल्लो समय दैनिकजसो साँझ, बेलुका वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबार बेलुका तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरासहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । यसअघि सामान्य हिमपात भए पनि यति धेरै हिउँ खसेको थिएन । साँझ परेपछि वर्षा हुने र हिउँ पर्ने क्रम केही दिनदेखि चलिरहेको हिमाली बस्ती घुन्साका दीपक शेर्पाले बताए ।

यता ओलाङचुङगोलामा समेत केही दिनदेखि सामान्य वर्षासहित हिमपात भइरहेको छ । यो वर्ष ढिलो गरेर हिमपात भए पनि विगतका वर्षमा जस्तो बाक्लो हिमपात भने भएको छैन । “विगतमा यतिबेलाको जस्तो चैतमा हिउँ पर्दैनथ्यो, यो वर्ष हिउँ पर्ने बेला पुस–माघमा मौसम खुला भयो, हिजोआज वर्षा र हिमपात भइरहेको छ”, शेर्पाले भने ।

यो वर्ष शुक्रबार पहिलो पटक केहि उच्च क्षेत्रका गाउँमा समेत हिउँ परेको छ । सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन, मामांखे, मिक्वाखोला गाउँपालिकाको पापुङ लगायतका गाउँमा हिमपात भएको स्थानीयले बताए । हिउँदको समयमा पानी नपर्दा हिउँदे बालीनाली फस्टाउन नसके पनि पछिल्लो समयमा परेको वर्षाले भने किसानलाई सामान्य राहत मिलेको छ । तर तल्लो क्षेत्रसम्म नै हिउँ पर्दा भने अलैँची बालीमा क्षति हुन्छ ।

“अलैँची, मकै, जौँ, गहुँ, तरकारी र फलफूल खेतीका लागि हिउँदमै वर्षा हुनुपथ्र्यो, यो वर्ष हिउँदमा वर्षा भएन तैपनि आजभोलिको वर्षाले सामान्य राहत मिलेको छ”, फावाखोलाका कमल विष्टले भने । तर यतिबेला पर्ने हिउँले अलैँची खेतीलाई भने असर गर्ने उनको भनाइ छ । बाक्लो हिउँले अलैँचीका बोट ढल्ने, हिमपातपछि चर्को घाम लाग्दा बोट सुक्नेजस्ता समस्या देखिने गरेको उनले बताए ।

ताप्लेजुङमा यो वर्ष फागुन मध्यतिर फाट्टफुट्ट वर्षा र हिमपात भएको थियो । त्यसयता निकै दिनपछि चैत लाग्दादेखि सामान्यतया वर्षा भइरहेको छ । उच्च क्षेत्रमा भएको बेमौसमी हिमपातले आलुखेतीमा असर पुर्याएको छ । मानव बसोबास रहेका यहाँका हिमाली गाउँ घुन्सा, याङ्मा, ग्याब्ला, फले, ओलाङचुङगोला लगायतमा यतिबेला आलु रोपिसकिएको छ ।

केही दिनअघि रोपिएको आलु नउर्मिदै हिउँ परेकाले बीउ कुहिन सक्ने सम्भावना भएको स्थानीयले बताएका छन् । “हिजोआज भर्खरै आलु रोपिसकिएको छ, आलु उर्मिने बेलामा निरन्तर हिउँ पर्यो भने माटोभित्रै बीउ वा बीउको अङ्कुरण कुहिने सम्भावना हुन्छ”, घुन्साका दीपक शेर्पाले भने ।

यहाँका हिमाली बस्ती तथा गाउँको मुख्य खेती भनेकै आलु हो । आलुखेतीबाटै स्थानीयवासीले आम्दानी लिन्छन् । आलु फलाएर तल्लो क्षेत्रका बासिन्दासँग अन्न साटेर लैजाने चलन छ । उच्च क्षेत्रमा अन्नबाली नहुने भएकाले औलका मानिससँग आलुसँग अन्न साटेर लैजाने गरिएको हो ।

यता बेमौसमी हिमपातले बालीनालीमा मात्रै नभई वन्यजन्तु र बोटबिरुवामा समेत असर पुग्ने बताइन्छ । समयमा हिउँ नपर्दा चिसोमा अभ्यस्त बोटबिरुवा र वन्यजन्तुमा असर पुग्छ भने न्यानो मौसम हुने सिजनमा हिउँ पर्दा पनि बोटबिरुवा र वन्यजन्तुलाई असर पुग्छ ।

वसन्त ऋतुमा हुने बाक्लो हिमपातले फूल फुलेका र पालुवा फेरेका बोटबिरुवालाई वृद्धि विकास हुनबाट रोक्छ । यस्तै न्यानो खोजिरहेका जीवजनावर तथा वन्यजन्तुलाई समेत एक्कासी पर्ने हिमपातले कठिनाइ हुने गरेको स्थानीयवासीले बताएका छन् ।

बेमौसमी हिमपातले चिसो बढेसँगै उच्च क्षेत्रका बासिन्दालाई समेत असहज भएको स्थानीयले बताएका छन् । केही दिनअघि न्यानो मौसम सुरु भएर पशुचौपायासहित उच्च गोठ सार्दै लगेका पशुपालकले समेत समस्या भएको बताए ।

केही न्यानो महसुस गरेर माथिल्लो भेगमा गोठ सारेपछि भएको हिमपातले असर गरेको भेडापालक गोपाल विष्टले बताए । यस्तै वर्षा र हिमपातले हिमाल हेर्न, आरोहण गर्न आएका पर्यटकलाई समेत असर पुर्याउने पर्यटन व्यवसायीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !