१३ बैशाख २०८१, बिहिबार

इटहरीमा नन्द भाउजुको सेलरोटी उद्यम


सेलरोटी उद्यम

टङ्कीसिनवारी । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् । सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उनीहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिन्थे ।

विसं २०७३ सालमा उनीहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिए । वार्षिकोत्सवका सहभागी सबैले उनीहरुले पकाएको सेलसोटी औधी मीठो मानी खाए । सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो ।

वार्षिकोत्सवमा सहभागी भएका एकले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा एक सय वटा सेलरोटीको अर्डर दिनुभयो । नन्द, भाउजुले भोलिपल्ट सय सेलरोटी पकाएर सहभागीको घरैमा पुर्याइदिए । सेलरोटीको प्रसंशा त्यहाँ पनि भयो । यो उनीहरुको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो ।

इटहरी, धरान र विराटनगरका सुपरमार्केटले पनि नन्द, भाउजुले पकाएको सेलरोटी खोज्न थाले । नन्द, भाउजुले सोखका रूपमा थालेको सेलरोटीले विस्तारै व्यवसायको रूप लियो । उनीहरुले यसका लागि कम्पनी दर्ता गर्नुभयो र सेलरोटी पकाउँदै बिक्री गर्न थाले ।

उनीहरुले अहिले ‘अर्गानिक चन्द्रमा कोशेली तथा मसला उद्योग’मार्फत् सेलरोटी पकाउँदै आएका छन् । यसका लागि पाँच जनाले जागिर पाएका छन् । सेलरोटी पकाउने काममा मात्र सीमित नभएर नन्द भाउजुको जोडीले उद्योगको दायरा फराकिलो बनाउँदै लगे । हाल उनको कम्पनीमा अनर्सा, सुत्केरी मसला, बेसार, मसौरा, मकैको चामल, जौ चना मिश्रित सातुको पनि उत्पादन भइरहेको छ ।

हाल विराटनगर–२ स्थित शङ्करपुरमा आयोजना गरिएको ‘सिएनआइ एक्स्पो–२०७९’मा पनि उहाँहरुले स्टल राख्नुभएको छ । स्टलमा पकाएको सेलरोटी चाख्न उपभोक्ताको बाक्लो भिड देख्न सकिन्छ ।

एक्स्पोमा नन्द र भाउजुले दैनिक पाँच सयदेखि आठ सय सेलरोटी बिक्री गर्दै आएका छन् । एउटा सेलरोटीलाई रू ३० मा बिक्री गर्छन् । भाउजु रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेलरोटीले आफूलाई उद्यमी बनाएको बताउछन् ।

उनले सेलरोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु सुरु गरेको बताए र गरेको बताउछन् । अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको बताए । मिश्रका अनुसार उनीहरुले हाल दैनिक तीन हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ ।

सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उनको भनाइ छ । मिश्रले उधारोमा सामान लिने अनि समयमै पैसा नतिर्ने कतिपयको प्रवृत्तिका कारण समस्या भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !