३० कार्तिक २०८१, शुक्रबार

रवि र बालेनको प्रदेश संरचनाप्रति विमति, प्रदेशसभा उम्मेदवारलाई दिएनन् भोट


रवि लामिछाने र बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आज आम निर्वाचनमा प्रदेशसभा उम्मेदवार भोट दिन अस्वीकार गरेका छन् ।

आज भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लामिछाने र शाहले प्रदेशसभा सदस्य उम्मेदवारलाई मतदान नगरेका हुन् । यसरी भोलिको नेपाली राजनीतिका होनहार दुई यूवाले प्रदेशसभालाई बहिस्कार गर्नुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शाशकीय स्वरुपअन्तर्गतको प्रदेश संरचनाप्रति प्रश्नचिह्न पैदा भएको छ ।

लामिछानेले प्रदेशसभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मतदान गरेका हुन् । उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका लामिछानेले प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवैमा स्वस्तिक छाप नलगाएका हुन् ।

चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएपनि मतदाता नामावली काठमाडौँमा भएकोले उनले आफैंलाई भोट हाल्न नपाएका हुन् ।प्रदेश उम्मेदवारलाई मत नदिएकोबारे प्रतिक्रिया जनाउँदै लामिछानेले अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म प्रदेशसभा सदस्यको चुनावमा आफू सहभागी नहुने पनि बताएका छन् ।

यसैगरी काठमाडौं महानगरका मेयर शाहले पनि आज आइतबार प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत नदिएर प्रदेश संरचनाप्रतिको आफ्नाे असन्तुष्टि जाहेर गरेका छन् । उनले प्रदेशसभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा मतदान गरेनन् ।

बालेनले केन्द्र सरकार र स्थानीय सरकार नै प्रयाप्त भएको पनि बताएका छन् । प्रदेश राजनीतिक दलका कार्यकर्ताहरूलाई भाग पुर्याउन बनाईएको भर्ती केन्द्र र जनतालाई ऋणको पासो बोकाउने षडयन्त्र भएकाले प्रदेशको औचित्त्य नरहने भन्ने उनको ठम्माइ रहेको हो ।

काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका बालेन पनि प्रदेशसभातर्फका मतपत्र नबुझेरै बाहिरिएका हुन् । उनी बलियो स्थानीय तह भएपछि प्रदेश संरचनालाई निरन्तरता दिन जरुरी नभएको धारणा राखेका छन् ।

स्थानीय तह निर्वाचन अघिदेखि नै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रष्ट नभएको भनेर आरोप खेप्दै आएका बालेनले आज आइतबार प्रदेशसभा सदस्यलाई मत नदिएर प्रदेश संरचनाप्रतिको विमति जनाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !