२४ बैशाख २०८१, सोमबार

हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी


प्रदीप गिरी

काठमाडौँ । विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुगेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए, ‘‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’’

सोही मञ्चमा बसेका गिरी प्रधानमन्त्रीको यो घोषणापछि हाँसेए भने उनका क्षेत्रका समर्थकले गड्गडाहट ताली बजाए । संयोग यस्तो भयो कि पछि उनले चुनाव हारे । आफ्ना स्पष्ट र प्रखर विचारसहित प्रायः सञ्चारमाध्यममा आइरहने नेता गिरीलाई पछि एक अन्तर्वार्ताका क्रममा प्रश्न सोधियो, ‘‘तपाइँले चुनाव जितेको भए त यतिखेर मन्त्री हुनुहुन्थ्यो होला हगि ?’’ उहाँको प्रतिक्रिया थियो, ‘‘हो, हुन्थेँहोला । तर मलाई मन्त्री बन्नबाट भगवानले बचाएका छन्, त्यसैले म खुसी छु । किनभने मैले चुनाव जितेको भए किसुनजीको आग्रह टार्न सक्दिनथेँ होला, त्यसैले भगवानले चुनाव हराएर मन्त्री हुनबाट बचाए ।’’

प्रदीप गिरी नेपालको समकालीन राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रुपमा स्थापित नाम हो । त्यसैले त चार÷चार पटकसम्म सांसद बन्नुभएका गिरीमा मन्त्री बन्ने चाह कहिल्यै जागेन । उहाँले सार्वजनिक रुपमै भन्ने गर्नुहुन्थ्यो, ‘‘मन्त्री हुँदा स्वतन्त्रता गुम्छ, मैले मनमौजी गर्न मिल्दैन, मेरो आफ्नो स्वतन्त्रता र आफ्नैपनको जीवन गुम्न पनि सक्छ । मन्त्री भएपछि मेरा सबै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ, म फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न नपाउने स्थितिमा पनि पुग्न सक्छु, मप्रति जनताका आशा अपेक्षा बढी होलान्, त्यसैले मलाई व्यक्तिगत जीवनमा हस्तक्षेप मान्य छैन ।’’

हाम्रो देशमा यतिखेरको राजनीति त्यस्तो छैन । मन्त्री बन्नुपर्ला भनेर भाग्नखोज्ने नेता सायदै कुनै पार्टीमा भेटिएलान् । अनि उनीजस्तो सांसद पदको पारिश्रमिक आएको दिन पुस्तक पसलमा गएर पुस्तक किन्न रुचाउने अध्ययन र चिन्तनमा समय व्यतित गर्ने नेता पनि विरलै छन् । त्यसैले उनले एक प्रखर चिन्तक मात्र होइन कि समाजवादी विचारका अगुवाको पहिचान निर्माण गर्न सफल भएका छन् ।

गिरीको जीवनशैली खुल्ला र उच्च विचारका धनीहरुका लागि पनि सरल र सादा जिउन सकिने अनुकरणीय उदाहरण हो । उनको पहिरनको पहिचान धेरै पछिसम्म पनि खद्दरको कुर्था र सुरुवाल थियो । स्वतन्त्रता र समानताका पक्षपाती उहाँको जन्मघर बाहेक अन्यत्र गाडी, घोडा या घरबङ्गला जोड्ने कुनै रहर रहेन । यहाँसम्म कि उनले कहाँ खान्थे, कहाँ सुत्थे भन्ने पनि कहिले त ठेगान नै हुँदैनथ्यो । आफ्नो पुख्र्यौली सम्पत्ति पनि उनले एक आश्रमका रुपमा दिइसकेका छन् ।

समाजशास्त्रको अध्ययन गरेका गिरीले सिद्धान्तमा भने माक्र्सवादी हौँ भन्नेहरुले भन्दा अब्बल माक्र्सवाद आत्मसात् गरे । लाग्छ, माक्र्सवादी चिन्तकहरुले पनि उहाँको विचार, व्यवहार र चिन्तनबाट धेरै सिक्न सक्छन् । उनी चाहे बनारसमा विपी कोइरालाको साथ र संगतसँगै तरुण पत्रिकाको सम्पादकका रुपमा होस् या उहाँलाई क्यान्सरले गालिरहँदा नैै किन नहोस्, बाल्यकालदेखि वृद्धसम्म नै प्राज्ञिक चिन्तनमा रमाए ।

त्यसैले उहाँ प्राज्ञिकदेखि श्रमिकसम्म सबै क्षेत्र र वर्गका जनताका मन मस्तिष्कमा बस्न सक्थे । मन्त्री या पदमा पुगेका र पदमा पुगेर ठूलो धनराशि आर्जन गरेकालाई मात्र राजनीतिक सफलता नमान्ने हो भने प्रदीप गिरी नेपालका एक सफल राजनीतिज्ञको नाम हो किनभने उनको राजनीतिक चिन्तन र व्यवहार सबै क्षेत्र र वर्गका नेपालीसामु लोकप्रिय छ र यसको आयतन कुनै निश्चित विचारधाराको घेराभन्दा निकै फराकिलो छ ।

त्यसैले त उनको स्वास्थ्यलाभको कामनादेखि आज उहाँको निधनसम्म आइपुग्दा सामाजिक सञ्जाल होस कि समाजका विभिन्न पेशा, व्यवसाय या विचारधाराभन्दा बाहिर निस्किएर सारा नेपालीले उनीप्रति श्रद्धा व्यक्त गरिरहेका छन् ।

देशमा अहिले अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूको पनि उनीप्रति उत्तिकै सम्मान देखिन्छ । त्यसैले प्रदीप गिरी नाम यतिखेर नेपाली राजनीतिको एक विशेष र विशिष्ट स्वरुपको मानकका रुपमा स्थापित हुन पुगेको छ । सधैँ युवा र यही वर्गप्रति भरोसा राख्ने उहाँको विचारलाई अहिलेको हर दलको युवा पिँढीले पछ्याउन सक्यो भने यही हतियारले हिजोआजकोजस्तो राजनीतिलाई प्रदीप गिरीको वैचारिक उचाइसम्म पुर्याउन सक्छ ।

उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै बीपीको संगत पाउनुभएका उनले विपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अडिग रही राजनीतिक सङ्घर्ष जारी राख्ने क्रममा पटक पटक गरेर करिब चार वर्ष जेल जीवन बिताए ।

विसं २०४२ पछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गर्नुभएका उहाँ कांग्रेसमा समावेशीकरणका पक्षधर थिए । उनले नै कांग्रेस पार्टीले ‘जमदम’ को नीति लिनुपर्ने भनी प्रस्तुत गर्नुभएको थियो । उहाँ कार्यक्रमलाई ज– जनजाति, म– महिला, द– दलित र म– मधेसी भनी अथ्र्याउथे । पिछडिएको क्षेत्र कर्णाली र पिछडा वर्ग, अल्पसंख्यकहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन सक्यो भने मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने तर्क उनी बारम्बार गर्थे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताए ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको बताए । उनले भने, ‘‘गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो ।’’ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई नेपाली राजनीतिका एक चिन्तनशील राजनीतिकर्मी भनेका छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गिरीलाई नेपाली राजनीतिका अग्ला व्यक्तित्व र समाजवादी चिन्तक भनेका छन् । उनले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदिप गिरीले पुर्याएको योगदानको जति नै चर्चा गरेपनि अधुरै रहने धारणा राखेका छन् ।

यही निष्ठा र आस्थाको धरोहरका रुपमा रहेका नेता गिरीको क्यान्सर रोगबाट गएराति निधन भएको छ । उको निधनले नेपालको राजनीतिमात्र होइन राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो महसुस गराएको छ । राजनीतिमा पदमात्र ठूलो होइन, नैतिकता र निष्ठा ठूलो हो भन्ने यथार्थ उनीको निधनप्रति देशले व्यक्त गरेको यो भावनाले पनि अभिव्यक्त गर्दछ । उनको यो निष्ठालाई जोगाइराख्नु अहिलेका राजनीतिकर्मीको दायित्व पनि हो ।

गिरी नेपालका राजनीतिक नेता भन्दा बढी चिन्तक एवं दार्शनिक थिए । भनिन्छ, दार्शनिक एवं चिन्तकको भौतिक शरीर मात्र नष्ट हुन्छ तर उनीहरु मर्दैनन् । उनीहरुका चिन्तन, दर्शन एवं सिद्धान्त युगयुगसम्म जीवन्त रहन्छन् । त्यसैले त माक्र्सवाद अहिले कम्युनिष्टभन्दा बाहिरको घेरामा फैलिँदो छ । विपी कोइरालाका राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अहिलेको नेपाली राजनीतिमा सबै विचारधाराको साझा विचार बनिरहेको छ ।

त्यसैले सर्जकहरु मर्दैनन् बरु चोला फेर्दछन् भनिएको हो । प्रदीप गिरीको भौतिक शरीरले यो भौतिक दुनियाँबाट विदा लिए पनि उनको विचारले थप युग सुहाउँदो विजारोपण गर्दै जानेछ । उनी आफ्ना विचार र निष्ठासहित नेपाली माटोमा सदा जिवितै रहनेछन् । हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !