१४ बैशाख २०८१, शुक्रबार

नारायणहिटी राजदरबार हत्याकाण्डको २१ बर्ष पूरा, रहस्य अझै गर्भमै


दरवार हत्याकाण्ड

काठमाडौँ । दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड २१ वर्ष पूरा भएर २२ औं वर्षमा टेक्दै गर्दा पनि यो घटना रहस्यमय हत्याकाण्डको पर्दाफास हुन नसकी अझै पनि रहस्य गर्भमै रहेको छ ।

२०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र राजा वीरेन्द्रको सपरिवारसहित १० जनाको रहस्यमय हत्या भएको थियो । यही हत्याकाण्डले नै गणतन्त्रको विउ उम्रेको भन्नेहरु पनि धेरै छन् । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रुपमा लिने गरिन्छ ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र राजकुमार निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह लगायतको हत्या भएको थियो ।

दरवार हत्याकाण्डपछि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार युवराज दीपेन्द्रलाई दोषी ठहर गरेका थियो ।

उक्त समितिले यूवराज दीपेन्द्र शाहले सबैलाई गोली चलाएर हत्या गरी आफूलाई पनि गोली हानेर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेपनि यसलाई धेरैले विश्वास गरेका छैनन् र घटनाको पूर्ण छानबिन पनि हुन सकेको छैन । त्यसैले यस घटनालाई अहिले पनि रहस्यमय हत्याकाण्ड नै मानिरहेका छन् ।

कतै यो हत्याकाण्डको पछि सिमित स्वार्थपूर्ति गर्न केही व्यक्तिहरू लागेको होकी भन्ने कुरा घटनाले देखाएको छ । राजदरबार हत्या हुँदा राजकुमार दिपेन्द्रलाई दोषी ठहराउनु र मार्ने मान्छे स्वयम्को पनि हत्या हुनु एउटा रहस्य बनेको देखिन्छ ।

प्रतिसोधमा गरेको हत्यामा स्वयंलाई गोली लागेको देख्दा राजकुमारले नभई राजकुमारको मुकुण्डो लगाएको अर्को व्यक्तिले हत्या गरेको सहज अनुमान लगाउन सकिन्छ । राजदरबारमा घटेको घटना सुनियोजित भएको देखिन्छ भने त्यति बेला घट्ना घट्दा सुरक्षा फौज कहाँ थियो र उसले हत्या रोक्न किन चाहेनन् भन्ने कुरा रहस्य बनेको छ ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत यो घटनालाई ग्राण्ड डिजाइनको संज्ञा दिएका थिए । तर डिजाइनर को हुन्? भन्ने कुरा रहस्यमै सीमित भएको छ ।

तत्कालीन सभामुख तारानाथ रानाभाटले उच्चस्तरीय छानबिन प्रतिवेदन सार्वजानिक गरेका थिए । उक्त घटनामा युवराज दीपेन्द्रलाई दोषी ठहरेपनि धेरै नेपालीहरु रहस्यमय घटना नै भनिरहेका छन् । तत्कालीन सभामुख रानाभाटले यो घटनामा तत्कालीन छानबिन समितिको प्रतिवेदनले जे कुरा निकाल्यो सोही कुरा पढेर आफूले सार्वजानिक गरेको बताउछन् ।

तत्कालीन सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश लगायत सम्मिलित छानबिन टोलीले तत्कालीन युवराज दीपेन्द्रलाई घटनाका लागि जिम्मेवार ठहर्याउनु गलत थियो भन्ने कुरा युवराज दीपेन्द्रको मृत्युले समेत प्रष्ट पारेको देखिन्छ ।

यो हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चाएको थियो । यो घटना अहिलेसम्म पनि रहस्यको गर्वमा नै कायमै रहेको छ । जेठ १९ को त्यो कहालिलाग्दो घटनाले अहिले पनि हरेक नेपालीको मन झस्काउने गर्छ । हरेक शुक्रवार राजसंस्थाको पारिवारिक जमघट हुने गथ्र्यो।

उदार जनप्रिय र शान्ति प्रेमी राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र वीरविक्रम शाह राजा भए ।

तर उनले प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काए । सशस्त्र युद्ध गरेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्र समाप्ति र गणतन्त्रको घोषणा भयो। ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

राजतन्त्रको समाप्ति भएर मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, राजनीतिक व्यवस्थामा चलेपनि राजा वीरेन्द्रलाई मनमा सजाएका धेरै नेपालीहरु छन् । त्यसैले जेठ १९ को कहालिलाग्दो दरबार हत्याको घटना नेपालीको मनबाट मेटिन सकेको छैन ।

हरेक नेपालीले भुल्न नसक्ने गरी घटाएको हत्याकाण्ड कहिल्यै भुल्न नसक्ने देखिन्छ । राजदरबार हत्याकाण्डपछि मुलुक नयाँ मोडमा आएको भएतापनि सोचे जस्तो सफलता नभएको देखिन्छ । मुलुकको राज्य व्यवस्था समेत परिवर्तन भएर देशमा गणतन्त्रको स्थापना भएको छ ।

तिनै जनप्रिय स्वर्गीय पूर्वराजा वीरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्ज तनावग्रस्त भएको थियो । पूर्वराजा शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको थियो ।

राजनैतिक दलहरुको सहमति विना शालिक राख्न आटेको भन्दै अन्य दलले विरोध गरेपछि विवाद शुरु भएको थियो ।‌ आज बिहीबार बिहान वीरेन्द्रचोकमा शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर र अश्रुग्याँस प्रहार समेत गरेको थियो ।

२०६२/६३ सालको जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएपछि वीरेन्द्रको सालिक हटाएर सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । आज दरबार हत्याकाण्ड पुरा भएको २१ वर्ष पुरा भएको सन्दर्भमा स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक संजाल ट्वीटरमा लेख्दै नेपालगंजमा जनस्तरबाट पुनःस्थापित स्व.राजा वीरेन्द्रको शालिक माथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकड सम्बन्धि घट्नामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको बताउनुको साथै पक्राउ परेका सबैलाई तत्काल रिहाई गर्न तथा इतिहासको सम्मान गर्न नेपाल सरकारसँग माँग गरेका छन् ।

यस्तै राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा हिजो बुधबार र आज बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको हो ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले ले सामाजिक संजाल ट्वीटरमा लेख्दै बिगतमा आन्दोलनको रापतापमा राजा लगायत विपी, भानुभक्त समेतको शालिक तोडफोड गरिएको गलत भएको भन्दै नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्र राजाको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक नभएको भन्दै शालिक राखेर राजा फर्कने नभई इतिहासको सम्झना मात्र भएकोले लोकतन्त्र यति असहिष्णु हुनुहुदैन भनेका छन् ।

बिगतका राजाहरुले गरेका कामको मुल्याङ्कन नगरी सवै उल्टो मात्र देख्नु ‘भदौंमा आखाँ फुटेको गोरुले सधैं हरियो मात्र देख्नु’ जस्तै हो । राजनीतिक दलका नेताहरुले देशलाई खाडलमा पुर्याउन लागेको, गणतन्त्र नै असफल हुने स्थितिमा पुग्न लागेको हो की भन्ने सम्मको विश्लेषण हुन थालेको छ । यतिवेला सत्ता र शक्तिको खिचातानीमा राजाले गरेका उपलब्धिलाई राजनीतिक दलहरुले बिर्सेका छन् ।

लोकतन्त्रमा राजनैतिक दलहरुको सहमति विना शालिक राख्न नपाउने भन्ने यो कस्तो अतिवाद हो ? विगतमा जे जस्ता व्यवस्था भएपनि इतिहासको सम्झना गरेर सोलाई सम्मान गर्न नसक्नु पतनको संकेत हो । अहिले यिनै राजनीतिक दलका नेताहरुले आफै लोकतन्त्रलाई धरापमा पार्दै छन् ।

हामीले काम गर्दा शंकाको दायरामा आफूलाई राखेर गरेको कामले जीवनमा कहिलै सफल नहुने र गरेको गल्ती पटकपटक मानसपटलमा उब्जी रहने भएकाले आज लोकतन्त्र नै धरापमा पर्न थालेको छ । राजनीतिक दलहरुप्रति जनतामा चरम निराशा बढ्दै जाने हो भने फेरि ‘आउ राजा देश बचाऊ’ भनेर जनता सडकमा बुलन्द रुपमा आउने स्थितिको सिर्जना नहोस् भन्ने कामना मात्र गर्न सकिन्छ ।

नारायणहिटी हत्याकाण्डको २१ बर्ष पुरा भई सक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृंखला चलिरहनु लोकतान्त्रिक गणतन्त्र निम्ति अशोभनीय हो । उक्त हत्याकाण्डको राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्नु वर्तमान सरकारको दायित्व हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !