१८ बैशाख २०८१, मंगलबार

एमाले महाधिवेशन समापन : एकता र विभाजनको मनोविज्ञानलाई समाहित


बन्दसत्र

सौराहा । आम राजनीतिक चासोका बीच चितवनको सौराहमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका तीन धारलाई समाहित गरेको छ ।

महाधिवेशनले पूर्ववत् एमाले, नेकपा (माओवादी केन्द्र) बाट एकतामा सामेल र १० बुँदे सहमतिका पक्षधरको मनोविज्ञानलाई समाहित गरेको छ । महाधिवेशनपछि एकता, ऊर्जा र सङ्कल्पको भावना बोकेर प्रतिनिधि फर्कन थालेका छन् ।

कूल ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला, अन्य जातजातिगत प्रतिनिधित्वसहित अधिकांश युवा अनुहारको प्रवेशले पनि एमालेभित्र ऊर्जा उत्पन्न भएको मानिएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको विवादका कारण हुन पुगेको प्रतिनिधिसभाको विघटन, अन्तरपार्टी सङ्घर्ष र सर्वोच्च अदालतका दुई फैसलाबाट तरङ्गित तथा प्रतिपक्षमा आइपुगेको संसद्को ठूलो दल एमालेको महाधिवेशनका प्रतिनिधिले नयाँ नेतृत्व चयन सहमतिमा गर्न दिएको म्याण्डेटअनुसार नै परिणाम निकालेको छ ।

प्रतिनिधि र कार्यकर्ताको भवनाबमोजिम पुनः अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनु, पार्टी विभाजन हुनुपूर्व तत्कालीन नेता माधवकुमार नेपाल निकट मानिने अष्टलक्ष्मी शाक्यले उपाध्यक्षहरुमा सर्वाधिक मत हासिल गर्नु र उपाध्यक्षमा माओवादीबाट एकतामा सामेल रामबहादुर थापा विजयी हुनुले तीनवटै मनोविज्ञान सहमति र निर्वाचन दुवैका माध्यमबाट व्यक्त भएको मानिएको छ ।

हलमा सहमतिको प्रस्ताव नगरेर सिधै निर्वाचन गराइएको भए ती तीन धार यसरुपमा समेटिन नसक्ने र पार्टीमा पुनः फुटको खतरा हुने आँकलन गरिएको थियो । निर्वाचनमा प्रतिनिधिले अध्यक्ष पदमा पराजित डा. भीमबहादुर रावल र उपाध्यक्षमा पराजित घनश्याम भुसाललाई केन्द्रीय सदस्यमा विजयी गराएर आन्तरिक एकताको भावना प्रदर्शन गरेका छन्, यद्यपि डा. रावलले केन्द्रीय सदस्य पदको शपथ लिनुभएको छैन । अध्यक्ष ओलीले उनलाई शपथ लिन आग्रह गरिसकेका छन् ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनका प्रतिनिधिले गरेको फैसला पार्टीको साङ्गठनिक र राजनीतिक जीवनमा दूरगामी महत्व राख्ने खालको हुने बताए ।

महाधिवेशनपूर्व नै एमालेका अध्यक्ष ओली र अन्य नेताले पार्टीले आगामी निकट भविष्यमा विभिन्न तहका निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले दशौँ महाधिवेशनले एकढिक्का भएर त्यसको सामना गर्ने सन्देश दिने बताउँदै आएका थिए । महाधिवेशनको बन्दसत्रको पहिलो दिन मङ्सिर ११ गते अध्यक्ष ओलीले पार्टीभित्र प्रतिस्पर्धा हुने र विपक्षी पार्टीसँग मात्रै प्रतिद्वन्द्वी हुने जनाएर सहमतिका लागि आह्वान गरेका थिए ।

एमालेको गत असोजमा सम्पन्न विधान महाधिवेशनले नीतिगत मुद्धामा छलफलसहित दस्तावेज पारित गरेकाले दशौँ महाधिवेशनमा नेतृत्व चयनको मुख्य कार्यसूची राखिएको हो । एमालेका नेता भुसालले विधान महाधिवेशनयता पार्टी सही विचार र नीतिमा रहेको सार्वजनिक गर्नुले एमाले नीति र मनोविज्ञानमा एकतायुक्त छ भन्ने सहज आधार पनि मिलेको छ ।

दशौँ राष्ट्रिय महाधिवेशनले सोही नीतिलाई पछ्याउँदै समसामयिक राजनीतिकलगायत विविध विषयमा १७ बुँदे घोषणापत्र पनि जारी गरेको छ । दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धिको आधार निर्माण गर्ने मुख्य नारा बोकेको महाधिवेशनमा यस विचारमाथि कुनै विवाद उत्पन्न भएको सुनिएन ।

यही मङ्सिर १० गते चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटित महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो ।

अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा. रावल, नेता भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । निर्वाचन हुनुलाई उहाँहरुले लोकतान्त्रिक अभ्यासका रुपमा लिएका छन् ।

अध्यक्ष ओलीले भ्रम र स्वार्थका आधारमा पार्टी विभाजनमा लागेका र अन्य पार्टीमा रहेका कार्यकर्तालाई एमालेमा आएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गरेको आह्वानलाई उनी र नयाँ कमिटीले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखाउने भावना र व्यवहारले एमालेको भावी साङ्गठनिक जीवनबारे थप आँकलन गर्न सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !