११ बैशाख २०८१, मंगलबार

झाडापखाला के हो ? झाडापखाला लागेको बेला के खाने र के नखाने ?


झाडापखाला के हो ?

दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकी समेत हुनुलाई झाडापखाला वा झाडावान्ता पनि भनिन्छ । झाडा पखाला हुँदा जलवियोजनका कारण शरीरबाट प्रशस्त पानी, नुन तथा पोषण तत्वहरु खेर जान्छन् जसलाई समयमै पूर्ति गर्न नसक्दा विरामीको ज्यानै समेत जान सक्छ । झाडापखाला हुनु भन्दा अगाडि देखिने लक्षणहरू पेट दुख्ने तथा पातलो दिसा हुने, शरीरमा तरलमात्राको कमी भई जलवियोजन (डिहाइड्रेशन) हुने,  ओठ, मुख सुख्खा हुने, अनि छिनछिनमा तिर्खा लाग्ने, वाकवाक लाग्ने तथा शरीर कमजोर र शिथिल हुने गर्दछ । झाडापखाला केही घण्टादेखि २/३ दिनसम्म पनि हुन सक्छ । झाडापखाला लाग्नुका धेरै कारणहरुमध्ये मुख्य तीन कारणहरुमा जीवाणु, विषाणु र परजीविहरु पर्दछन् ।

झाडापखाला लागेपछि गर्नुपर्ने कुरा

मौसममा आएको परिवर्तनले शरीरको तापक्रम सन्तुलन हुन नसक्दा र हामीले खाने खाना र पानीमा ध्यान नदिदा झाडापखाला लाग्ने गर्छ । गर्मीमा खाना छिट्टै बिग्रने र लामो समय राख्दा ढुसी पर्ने र नमिठो बास्ना पनि आउँने हुन्छ । भोक लाग्यो भन्दैमा जस्तो पायो त्यस्तै खाना खानाले स्वास्थ्य बिग्रने गर्छ ।

त्यस्तै पाचन शक्तिले पचाउन नसक्ने खानेकुरा खाएमा पनि यो रोग लाग्छ । अति धेरै भयो भने हाम्रो शरिरले पचाउन सक्दैन । शरीरलाई अनावश्यक अथवा अति धेरै तेलमा तारेका खाना जस्तै तारेको भुटेको मासु, भट्मास खानुहुँदैन । त्यस्तै धेरै नुनिलो, धेरै पिरो र मसलायूक्त खानेकुरा नखादा बेश हुन्छ ।

झाडापखाला लागेको बेला के खाने  ?

  • जीवनजलको पानी सकेसम्म पिउने ।
  • झोलिलो पदार्थ जस्तै नरम दाल, गेडागुडिको रस र फलफूलको जुस खानुपर्छ ।
  • कागती, अनार, मौसम, सुन्तलाको रस जस्ता रसिला खानेकुराले फाइदा गर्छ । काँक्रो, पाकेको मेवा खान सकिन्छ ।
  • भात, दाल, दही अथवा नरम खाना खाने ।
  • जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर उमालेको पानीमा मिलाएर पिउन सकिन्छ ।

झाडापखाला लागेको बेला के नखाने ?

  • बिरामीले रक्सी, चिया, कफी र दुध नखादा बेस हुन्छ ।
  • तेलमा तारेका खाना, अमिलो अचार, आलु, भान्टा गोवी पनि नखाने ।
  • झिंगा बसेको र नछोपिकन राखेको फोहोर खानेकुरा नखाने ।
  • बासी, सडेगलेका खानेकुराहरु नखाने ।
  • यदी फ्रिजमा राखेको खानेकुरा छ भने बाहिर निकाल्ने वित्तिकै नखाने ।
  • पहिल्यै देखि काटेर राखेको सलाद नखाने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !