– सुस्मिता रिजाल
‘जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवता रमाउने गर्दछन्’ यो भावार्थलाई पुष्टि गर्न हाम्रा वेद, पुराणलगायतका धर्मग्रन्थ कहीं चुकेका छैनन् । हिन्दु धर्मले महिलामाथि कुनै भेदभाव गरेको देखिदैन बरु महिला शक्तिको प्रचार गर्नुका साथै महिलालाई उच्च दर्जामा राखेको कुरा हाम्रा धार्मिक ग्रन्थहरुले महिलालाई दिएको स्थानबाट पुष्टि हुन्छ । माता, देवी, सरस्वती, आदि नामबाट अहिले पनि महिला र महिला शक्तिलाई सम्मान गरिरहेको छौं । तर यो सम्मान प्राचिन युगका महिलालाई मात्र दिइरहेका छौं । किन त्यही व्यवहार अहिले हामीले व्यवहारमा उतार्न सकेका छैनौ ? यो सोचनीय विषय बन्न पुगेको छ ।
महिलाहरूले विगतदेखि घरधन्दामा आफ्नो समय विताउने र बाहिरी कामको लागि पुरुषको भर पर्ने चलनको विकास भएसँगै महिलालाई कमजोर शक्तिको रूपमा चित्रण गर्न थालिएको इतिहासले बताउँछ । खासगरी नेपालमा महिलाहरुको अवस्था र स्थितिलाई नियालेर हेर्दा महिलाहरु पुरुषभन्दा धेरै पछाडि छन् भन्ने कुरा उनीहरुको शैक्षिक स्तर, राजनितिमा भएको सहभागिता, सरकारी वा अन्य जुनसुकै क्षेत्रमा भएको सहभागिता, स्कूलहरुमा छात्राहरुको संख्या आदि कुराहरुबाट प्रष्ट हुन्छ ।
वास्तवमा गाउँघरमा त महिलाहरुले आफ्ना घरमा खाना पकाउने, खाना खुवाउने, वच्चाहरुको स्याहार गर्ने, भाँडा माझ्नेदेखि लिएर घरको अन्य सवै काम गर्नुपर्छ । त्यसको साथै आफूले नसक्ने काम समेत जिम्मा लिई पूरा गर्नुपर्ने, पूरा गर्न नसकेमा लोग्नेको कुटाइ खानुपर्ने वा भोकभोकै बस्नुपर्ने हुन्छ । त्यतिन्जेलसम्म पुरुषहरु आनन्दले गफ मारेर बस्ने वा अरु कुनै मनोरञ्जनात्मक काम गर्छन् । महिलाहरुलाई सन्तान उत्पादन गर्ने र पुरुषहरुको मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्ने चलन अझै पनि धेरै ठाउँमा देख्न सकिन्छ । यी घटना र हिंसा हुनुमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको अभाव नै प्रमुख कारण देखिन्छ ।
विगत केहि वर्षयता राजनैतिक चेतनाको विकाससंगै महिलाहरुले पनि घरबाहिर निस्केर काम गर्न थालेको देख्न सकिन्छ । यसले के देखाउछ भने अन्य देशको तुलनामा राजनीति क्षेत्रमा नेपाली महिलाहरू धेरै अगाडी बढेका छन् । कानुनले नै महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ । महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ ।
महिला हिंसा विरुद्धका थुप्रै कानुनहरू बनेका छन् । महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् ।
यति हुँदा पनि नेपालमा महिलामाथि हुने हिंसाका विभिन्न स्वरूपहरू छन् । बहुविवाह, बाल विवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका केही रूप हुन् । नेपालको सन्दर्भमा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा महिलामाथि हिंसा रहेको पाइन्छ । हिमाल, पहाडदेखि तराई–मधेससम्म, उच्च घरानादेखि सुकुम्बासी झुपडीसम्म, राजनीतिज्ञदेखि मतदातासम्म जहासुकै र जोसुकैबाट तथा जतिबेला पनि महिला हिंसा हुन सक्ने सम्भावना रहेको छ ।
महिलाहरूलाई बोक्सीको आरोपमा यातना दिने क्रम रोकिएको छैन । बलात्कारका घटनाहरूमा कमी आउन सकेको छैन । बालविवाह, बहुविवाहका घटना तथा महिला बेचबिखन तथा ओसारपोसारका घटनाहरू वृद्धि भइरहेका छन् । वार्षिक हजारौँको सङ्ख्यामा घरेलु हिंसाका घटना भइरहेका छन् । महिला हिंसा र दुव्र्यवहार अन्त्य गर्नका लागि विभिन्न क्षेत्रबाट प्रयास गरिए पनि महिलाप्रतिको उत्पीडन अन्त्य भएको छैन ।
पुरातनबादी सोच र पुरुषबादी मानासिकतामा शुद्धिकरण नभए सम्म नारी मुक्ति कतै सम्भव छैन । महिला माथि हुने यातना, हिंसा, बालिका भ्रुण हत्या, बलात्कार, बाल विवाह, बहुविवाह, अपहरण, तस्करी, बेचविखन, महिलाहरूमा आइपर्ने कठिनाइबारे चेतना जगाउन, महिला मानव अधिकारलाई विश्व व्यापी बनाउन, महिलाहरूप्रति गरिने सबै प्रकारका भेदभाव अन्त्य गर्नका लागि संयुक्त राष्ट्र सङ्घीय महासभाद्धारा महिला विरुद्ध भेदभाव उन्मुलन महासन्धि पारित गरिएको छ । तर यसले मात्र समस्याको समाधान गर्न सक्दैन । पुरातनबादी सोचमा परिवर्तन र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुनसके मात्र समानताको व्यवहार देख्न सकिन्छ ।