२४ पुस २०८१, बुधबार

राजधानीमा सार्वजनिक यातायातमा समस्या, विकल्प के ?


Sarbajanik yatayat
– सरोज रिजाल

काठमाण्डौ, देशको राजधानी, विदेशी नेपाल आउँदाको पहिलो गन्तव्य हो । काठमाण्डौले विकासको धेरै फड्को मारिसकेको अवस्थामा पनि यातायात क्षेत्र भने व्यवस्थित बन्न सकेको छैन । राजधानीमा दैनिकजसो कामकाजी मानिसले सार्वजनिक यातायातको प्रयोग अनिवार्य आवश्यक छ ।

काठमाण्डौवासीले दैनिक यात्राका क्रममा अनेक समस्या भोग्न बाध्य बन्नु परिरहेको छ । विशेषगरी बिहानको कार्यालय सुरु हुनुभन्दा अगाडि र बेलुकाको कार्यालय समयपछि सडकमा ज्यादा समस्या देखिएको पाइन्छ । कहिल्यै सहजरूपले गन्तव्यमा पुग्न सकिदैन । यसको मुख्य कारण के हो ? किन बिहान र बेलुका नै सवारी साधनको अभाव हुने गर्दछ ?

कार्यालय समयमा निजी सवारीको संख्या धेरै प्रयोगमा आउनु र बैकल्पिक सडकको सट्टा मुख्य सडक नै प्रयोग गर्नुले पनि सडकमा सवारी चाप बढेको देखिन्छ । तर सार्वजनिक सवारीहरू न्युन मात्र देखा पर्ने गर्दछन् । यसको कारण भनेको विहान विद्यालयको समय र र कार्यालय समय एउटै भएको हुँदा र सार्वजनिक सवारी साधनले निजी विद्यालय विद्यर्थी बोक्ने काम गर्दा सर्वसाधारणको लागि सवारी अपुग भएको र भएका सवारीमा क्षमताभन्दा बढि यात्रु बसमा चढाइरहेको देख्न सकिन्छ ।

कतिपय अवस्थामा निजी विद्यालयका विद्यार्थी बोक्नुपर्ने भन्दै सर्वसाधारण यात्रुलाई बिच बाटोमै अलपत्र पारेर समेत छोड्ने गरेका छन् सार्वजनिक यातायातले । त्यसैले निजी विद्यायललाई सार्वजनिक यातायातमा विद्यार्थी बोक्न प्रतिबन्ध लगाउन सकेको खण्डमा सवारीमा देखिएको यात्रु चाप घट्नुका साथै यात्रा सहज हुनेछ ।

अर्को कुरा सरकारले विद्यालय समय र कार्यालय समय फरक फरक बनाउने भनेर नीति बनाए पनि कार्यन्वयनमा त्यसो हुन सकेको छैन । किन यस विषयमा सरकार मौन छ ?
यातायात व्यवस्थापन सहज बनाउन यातायात व्यवस्था विभागले के गर्नुपर्छ ? सडकको रेखदेख तथा अनुगमन कसरी हुनु आवश्यक छ ?

निजी कार्यालय, सरकारी कार्यालय र विद्यालय खेल्ने र बन्द हुने समय फरक फरक भएको खण्डमा सार्वजनिक यातायातमा यात्रु चाप नियन्त्रण गर्न सकिन्छ । अर्को व्यवस्था भनेको सरकारले सवारी साधनलाई इजाजत दिँदा सबैबाटोमा सन्तुलित हिसाबले अनुमति दिएको भए हाल यात्रुले भोगिरहेको समस्या आउने थिएन । हाल अधिकांस सवारी साधनले मुख्यबाटोमा मात्रै गुड्ने अनुमति लिएका छन् ।

सरकारले ट्याम्पु तथा साना सवारीलाई राजधानीबाट विस्थापित गर्ने योजना ल्याएपनि ठोस विकल्प दिन सकेको छैन । यदि ठूला मात्रै सवारी साधन राजधानीमा चलाउन पाउने हो तर बाटोको इजाजत दिने क्रममा कुनै विचार नगर्ने हो भने यसले झन विकाराल समस्याको रूप लिन सक्ने देखिन्छ । अहिले भएका सवारी साधनलाई बैकल्पिक बाटोमा गुड्ने व्यवस्था गर्न सके सडकमा देखिएको जाम नियन्त्रण हुनका साथै यात्रुले पनि यात्रामा सहज महशुस गर्ने थिए ।

त्यतिमात्र होइन काठमाण्डौमा साँझ नपर्दै सार्वजनिक यातायातका साधन कम मात्र चलेको देख्न सकिन्छ । सर्वसाधारण मानिसको दैनिकी ८ देखि १० बजेसम्म नियमित चल्ने राजधानीमा उनीहरूले त्यसपछि आफ्नो गन्तव्यसम्म पुग्न कठिनाइ भोग्नु परिरहेको छ ।

त्यस्तै रातीको समयमा अस्पताल लगायतको आकस्मिक सेवा लिनुपर्ने अवस्थामा समेत निजी सवारी साधन प्रयोग गर्न बाध्य छन् राजधानीबासी । देशकै राजधानी जहाँ हरेक दिन स्वदेश तथा विदेशबाट हजारौं मानिस आउने यस सहर साँझ नहुँदै सुनसान हुने गर्दछ । निजी क्षेत्रका सवारी साधनले रातीको समयमा सेवा दिएपनि सेवा शुल्क धेरै महङ्गो छ जुन सर्वसाधारणको पहुँचभन्दा टाढाको विषय रहेको छ ।

सरकार सन्ध्याकालिन र रात्रीकालिन सार्वजनिक यातायातको व्यवस्था गर्न अग्रसर भएको देखिदैन । तर सरकारले सबै मुख्य तथा सहायक बाटोमा निश्चित संख्यामा सन्ध्याकालिन र रात्रीकालिन सार्वजनिक सवारीको व्यवस्था गरेर हाल देखिएको समस्याको समाधान गर्नु आवश्यक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !