२१ कार्तिक २०८१, बुधबार

दल नै राज्य, दल नै राष्ट्र ! दल नै समाज : नयाँ नेपालको साझा पहिचान !


केशव प्रसाद भट्टराई

दल नै राज्य, दल नै राष्ट्र ! दल नै समाज : नयाँ नेपालको साझा पहिचान !

१. पृथ्वीनारायण शाह, बहादुर शाहहरूले भू-भाग होइन, राष्ट्र जोडेका थिए ,
त्यसैले आन्तरिक सत्ता सङ्घर्षबाट उत्पन्न चुनौतीहरूलाई सामना गर्दै विशाल अङ्ग्रेज साम्राज्य र चीनियाँ साम्राज्यसँग समेत लड्दै राष्ट्रको एकीकरण गरिरहन सफल भएका थिए ।

उनीहरूले राष्ट्रको एकीकरण गरेकैले त्यसपछिका कठिन क्षणहरूदेखि आज यस्तो दुर्दशापूर्ण स्थिति हुँदा पनि राष्ट्र जिनतिन बाँचिरहन सकेको छ ।

२. हेरौँ त आजको अवस्था – सत्तारूढ दलका दुई जना प्रमुख पदाधिकारीहरूवीचका विवादका कारण राज्यका सवै अङ्गहरू महिनौदेखि बन्धक छन् ।

उनीहरू दुईजना वीचको भेटघाट र वार्ता नेपाली मिडियाको लागि आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र उत्तर कोरियाली नेता किम जोङ् उनको भेट वार्ता जस्तै महत्वको बन्न पुग्दछ ।

उनीहरू वीच भेटघाट गराउन पनि हामीलाई आन्तरिक र वाह्य मध्यस्थहरू आवश्यक पर्दछन् ।
सो दलका माथिल्ला तहका सदस्यहरू अराजक प्रचार युद्धमा व्यस्त छन् ।

३. आफ्नो कुनै समितिको बैठकलाई व्यवस्थित गर्न नसक्ने दलले नेपाली जनतालाई सुख र समृद्धि दिने सपना देखाइरहेको छ । हामी त्यसैमा मख्ख छौँ ।

यौटै दलका दुई चार नेता मिलेर बस्न नसक्ने अराजक राजनीतिको श्राप परेको हाम्रो मुलुकका दलहरूका सरकारहरूले यो जटील अन्तर्राष्ट्रिय परिवेशमा सवै मित्र राष्ट्रहरूसँग उन्नत स्तरको सम्वन्ध विकास गरेर नेपालको समृद्धि,सुरक्षा र स्थिरतालाई सुनिश्चित गराउने बारेको गुड्डी पत्याइरहेका छौँ ।

४. अचम्मको लोकतान्त्रिक गणतन्त्र छ हाम्रो !
एक दुई दलका दुई तीन जना बसेर राष्ट्रको लागि जे सुकै निर्णय गरिदिन्छन् ।
दुई चार जना बसेर मुलुकलाई गणतन्त्र, संघियता, र धर्मनिरपेक्षतामा लैजाने जस्तो राष्ट्रको साविकको परिचय खोस्ने र नयाँ परिचय दिनेकुराको निर्णय गरिदिन्छन ।

जङ्ग बहदुर, वीर समशेर, जुद्ध समशेर र मोहन समशेरहरूको राज्य संचालनमा गर्ने अनिवार्य आन्तरिक परामर्शको दायरा पनि गिरिजा प्रसाद, माधव नेपाल, प्रचण्ड, ओली र शेरबहादुरहरूको भन्दा फराकिलो हुन्थ्यो ।

तर उनीहरू निरङ्कुश सामन्ती शासक र यी महान लोकतन्त्रवादी !

५. अत्यन्त फरक मात्रै होइन विपरित राजनीतिक विचार, दर्शन, अभ्यास र परम्परा भएका दलहरू वीच रातारात एकीकरण हुन्छ यहाँ !

सहज र स्वाभाविक विकल्पहरू हुँदा हुँदै आफ्ना राजनीतिक दस्तावेजमा शत्रु भानिएका दल सँग रातारात संयुक्त सरकार बन्न सक्दछ हाम्रो मुलुकमा !

अर्को दलको झण्डा बोक्न र उसलाई भोट हाल्न किञ्चित मान्दैनौ हामी !

६. हामीले जानेको भत्काउन मात्रै हो !
ध्वंश मात्रै जानेको हो !

सिर्जना, रचनात्मकता, उन्नति र प्रगति हाम्रो स्वभावकै विपरित जस्तो छ ।

७. बलियो राष्ट्रले बलियो राज्य बनाउँछ ।
भारत राष्ट्रले भारत राज्यलाई स्वतन्त्र बनायो ।
प्रगति गराइरहेको छ !

युरोपका राष्ट्रहरू राज्यमा रूपान्तर भएका हुन् ।

८. तर अमेरिका पहिला राज्य बन्यो अनि राष्ट्र !
राष्ट्र बनिसकेको छैन, अमेरिका, बन्दै छ ।
पाकिस्तान राज्य मात्रै हो, राष्ट्र होइन ।
उनीहरूसँग बलियो राज्य र सरकार छ ।

९. हामीसँग राज्य कमजोर थियो तर बलियो राष्ट्र र समाज थियो ।
राष्ट्र र समाजले राज्यलाई बल र भर दिएर बचाएको थियो ।
तर १२ बुँदे पछिको परिवर्तनले राष्ट्र र समाज भत्कायो, राज्यको बल र भर खोस्यो !

राज्य बनाउन कुनै प्रयास नै गरेन,
राज्य दोहन मात्रै गरेर बस्यो ।
आज हामी सँग राष्ट्र, समाज, राज्य सवै ???

१०. ह्वाइट हाउस, सर्वोच्च अदालत, क्यापिटल बिल्डिंग, स्टेट डिपार्टमेन्ट, पेन्टागन, नेसनल सेक्युरिटी काउन्सिल,आन्तरिक सुरक्षा विभाग, सिआइए, एफबिआईहरूले संयुक्त रूपमा शासन गर्दछन अमेरिकामा ।

राष्ट्रपति अमेरिकाका राष्ट्र र सरकार प्रमुख हुन् , सर्वेसर्वा होइनन् ।
शासक होइनन् , संयोजक हुन् !

सहजकर्ता मात्रै हुन् अन्तिम निर्णय कर्ता होइनन् ।

त्यहाँ निर्णय व्यक्तिले गर्दैन, विधि र पद्धतिले गर्दछ ।
सँस्थाले गर्दछ ।

वास्तविक शासन त माथि भने जस्तै स्टेट डिपार्टमेन्ट, पेन्टागन, नेसनल सेक्युरिटी काउन्सिल र सिआइएहरूले गर्दछन ।

राजनीतिक व्यक्तिले शासन गर्दैनन् कडा छनौट प्रक्रियाबाट आएका विज्ञ र विशेषज्ञहरूले कानुन अन्तर्गत रहेर शासन गर्दछन ।

त्यसैले अमेरिका शक्तिशाली छ ।

११. भारत पनि त्यस्तै हो ।

अमेरिकाका जस्तै राज्य संरचनाहरूले भारतमा पनि शासन गर्दछन् ।
निर्वाचित संयन्त्रहरूले नीति र नियम बनाउँछन र प्रहरी, प्रशासन र न्यायपालिकाहरूको शासन छ त्यहाँ ।

प्रधानमन्त्री मोदीले त्यहाँको शासन प्रणालीको नेतृत्व गर्दछन !
निर्णय प्रणालीले गर्दछ ।

मोदी प्रणालीको अङ्ग बनेका छन् , त्यसैले उनी शक्तिशाली छन् ।
राज्य प्रणालीले त्यहाँ नेहरू, इन्दिरा गान्धी, नरसिंह राव, वाजपेयी र नरेन्द्र जस्ता शक्तिशाली सरकार प्रमुखहरूलाई नियन्त्रण गरेको अभ्यास र परम्परा छ ।

१२. सेना र आइएसआईले मात्रै धानेर बाँचेको छ पाकिस्तान !
संसारकै शक्तिशाली संगठन मध्ये हो पाकिस्तानको गुप्तचर संगठन अर्थात आइएसआई ।

त्यसैले भारत जस्तो ठूलो मुलुकको शक्तिशाली गुप्तचर संगठन रअ का प्रमुख रहिसकेका अमरजित सिंह दुलातले ‘आफूलाई कसैले के हुने मन छ भनेर सोधेमा पाकिस्तानको आइएस आईको प्रमुख हुने मन छ’ भन्ने आफ्नो उत्तर हुने बताएका छन् ।

सिआइए. आइएस आई वा रअहरू राज्य भित्रका राज्य हुन् !

राज्य धान्ने मूख्य संगठनहरू हुन् अर्थात डीप स्टेट हुन् ।

१३. हामीले त दलहरूमात्र बनायौँ !
राज्य संयन्त्र त बन्न नै दिएनौ !

राज्य यन्त्र र संरचनालाई बन्नै नदिए पछि सवै राज्य यन्त्र र संरचनाहरूलाई दलको भात्री संगठन बनाए पछि कसरी राज्यले राज्यको कर्म गरोस, सेवा देओस !
अनि राज्य कसरी बाँचोस ?

१४ . चार वा पाँच वर्षका लागि हुने निर्वाचनमा जस्तो सुकै कबोल, वाचा-बन्धन गरेर, हुने नहुने सवै कर्म-कुकर्म गरेर,
कुनै योग्यता र क्षमता सावित नगरेरै सत्तामा पुगेका व्यक्तिहरूलाई राज्यको अन्तिम अख्तियारी कुनै पनि सफल र गतिलो देशले दिएको हुन्न।

निर्वाचन प्रणालीको सीमा र अभाव थाहा छ उनीहरूलाई !

१५. हाम्रो जस्तो चार जना मानिस बस्यो,
मनलाग्दो तरिकाले मुलुकको संविधान, कानुन बनाउने,
मुलुकको राष्ट्रिय चरित्रलाई नै परिवर्तन गर्ने घोषणा गर्ने,
राज्यका महत्वपूर्ण पदहरुमा जथाभावी नियुक्तिहरू गर्ने नेपाल जस्तो मुलुकले त मुलुकले त भुटान र माल्दिभ्सले गरेको -पाएको जति प्रगति र सफलतालाई पनि धेरै परको देख्ने विवशता पालेर बस्नु पर्दछ ।

१६. बरू इथियोपिया र रुवान्डाले धेरै प्रगति गरिसके, हामी ?
हो ! राष्ट्रलाई राष्ट्रको न्युनतम धर्म निर्वाहगर्न दिइएन !
राज्यलाई राज्यको धर्म निर्वाह गर्न दिइएन !
सरकार सरकार भएन,
दलहरूले दल बन्न सकेनन् र
र नागरिकहरूले नागरिकको धर्म निर्वाह गर्न सकेनन् भने कुनै मुलुक नेपाल बन्छ !

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनहुन्छ ।

यो पनि पढ्नुहोस्

मित्र राष्ट्रहरूसँगको सम्बन्धमा विस्तार गर्दा दण्डित नेपाली शासक, भारदार र नेताहरू

नेपालको वर्तमान राजनीतिक संकटका विविध पाटाहरू

राष्ट्रको हित, उन्नति र योग्य व्यक्तिलाई योग्य स्थान

किन राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न सकिएन ?

पछिल्लो कालखण्डको भारतीय राजनीतिको नेपाल परिणाम

हामीलाई स्वतन्त्र राज्यको रूपमा नेपाल किन चाहियो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !