७ मंसिर २०८१, शुक्रबार

नेपालको वर्तमान राजनीतिक संकटका विविध पाटाहरू


केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई

हाम्रो वर्तमान संकटका मूलत: सात पाटा छन् –

पहिलो, ओली, प्रचण्ड र माधव नेपालहरूको नितान्त व्यक्तिगत, अराजक र सिद्धान्तहीन महत्वाकांक्षा, अनि आफ्नो राजनीतिक भविष्यको सुरक्षाको चिन्ता र त्यस विरूद्धका उनीहरूका दृष्य -अदृष्य आन्तरिक र वाह्य साँठगाँठ र षड्यन्त्र !

दोस्रो, संविधान र शासन व्यवस्थावीच बेमेलको सैद्धान्तिक स्थिति – जस्तो राज्यले कुनै दर्शनलाई आफ्नो लक्ष्य बताउनु भनेको संविधानले नै एक दलीय अधिनायकवादको बाटो खोल्नु हो । त्यसको स्वाभाविक परिणाम नै मुलुक एक दलीय अधिनायकवाद तर्फ क्रमश: लागेको अवस्था छ ।

त्यो भनेको, स्पष्ट रूपमा नेपालको संविधानले समाजवादलाई आफ्नो लक्ष उल्लेख गरेर समाजवादलाई राज्य दर्शनको रूपमा स्वीकार गरेको र दुई तिहाई बहुमतको कम्युनिस्ट पार्टी माथि पार्टी भित्र र बाहिरबाट समाजवादको बाटोमा जान निरन्तर दवाव परिरहेको तर सामान्य संवैधानिक बाटोबाट त्यो सम्भव नभएको अवस्थामा मुलुकलाई त्यस्तो अधिनायकवाद तर्फ लैजाने प्रयाश विभिन्न कोणबाट भइरहेको छ ।

सत्तारूढ दलको नेतृत्व र सरकारमा बस्नेहरू फरक मत र दृष्टिकोणका होलान तर अवशर नपाएका ,कम्युनिस्ट विचार धारामा दीक्षित र शिक्षित हजारौँ -हजार व्यक्तिहरू यो अवशरको अत्यधिक उपयोग गरेर उनीहरूले स्वीकार गरेको जनवादी व्यवस्थामा प्रवेश गर्न दवाव निर्माण गरिरहेका छन् ।
सतहमुनी कम्पन पैदा गरिरहेका छन् ।

नेपालको कम्युनिस्ट पार्टीको शक्तिको अवस्था र समाजवादलाई राज्य दर्शनको रूपमा गरिएको स्वीकृतिले नेपालका मात्रै होइन संसारभरका कम्युनिस्टहरूले नेपालको कम्युनिस्ट पार्टीलाई नयाँ आशा र उत्साहकासाथ हेरिरहेका छन् ।
सहयोग र समर्थन गरिरहेका छन् ।
सत्तारूढ दलमाथि दवाव पनि निर्माण गरिरहेका छन् ।

चीनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीवीचको सम्वन्धका विभिन्न आयामहरू त्यसैको एउटा दृष्टान्त हो ।
चीन घोषितरूपमा नै प्रो-एक्टिभ डिप्लोमेसीमा नेपालमा सशक्तरूपमा उपस्थित भएकोलाई यसरी बुझ्न सकिन्छ ।
भारतका कम्युनिष्ट पार्टीहरू र अन्यहरू पनि लागिरहेकै छन् ।

तेस्रो, स्वाभाविक रूपमा त्यस्तो अधिनायकवाद तर्फको सैद्धान्तिक यात्रालाई रोक्ने छेक्ने अभ्यास पनि भइरहेको छ ।
त्यस्तो अभ्यास यसको संसदीय चरित्रले गरिरहेको छ ।

सत्तारूढ दलकै संसदीय प्रजातन्त्रका मूल्य र विधिहरूमा लामो समयदेखि अभ्यस्तहरूको एउटा ठूलो पङ्क्ति नै त्यसमा संलग्न छ ।
त्यस्तो संसदीय चरित्र अनुसार विभिन्न मुलुकका प्रजातान्त्रिक शक्तिहरू पनि नेपालको प्रजातन्त्रको रक्षाकोलागि त्यसरी नै लागि परिरहेका छन् ।

यसरी नेपालको राजनीतिमा विश्वका कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिहरू आपसमा जुधिरहेका छन् ।
त्यस्तो जुधाई यहाँको सत्तारूढ दल भित्र पनि छ र वाहिर पनि ।
नेपालको वर्तमान द्वन्द्व पछाडि यसरी त्यस्तो वाह्य पक्ष समेत संलग्न छ ।

चौथो, नेपालका प्रमुख राजनीतिक दलहरू र केही वाह्य शक्तिहरूले राजा, यहाँको धर्म, संस्कृति, परम्परा र सामाजिक पद्धतिलाई नेपालमा आफ्ना राजनीतिक र रणनीतिक लक्षहरूमा वाधक देखे ।

त्यसैले राजसँस्था हटाइयो र भविष्यमा राजसँस्थाको सम्भावित पुनरागमन रोक्ने, छेक्ने उद्धेश्यले राजसँस्थाका सामाजिक र सांस्कृतिक आधारहरूलाई भत्काइयो ।
राज्यको एकात्मक चरित्र पनि त्यस्ता राजनीतिक र रणनीतिक लक्षहरूमा वाधक देखिएकोले त्यसलाई पनि भाँच्ने उद्देस्यले उद्दण्ड र अराजक जातीय राज्य दर्शन, धर्म निरपेक्षता र संघियता ल्याइयो ।

राजनीतिक उद्दण्डता, अराजकता र जातीय र क्षेत्रीय घृणा, द्वेष र कुण्ठाको खेती गरेर राष्ट्र र राज्यलाई भाँच्न र भत्काउन त सकियो
तर राज्य र राष्ट्रको एकता र सद्भावलाई बोक्ने सँस्था र संरचना निर्माण गर्न सकिएन ।

त्यो उनीहरूको स्वभाव, संस्कार र क्षमताको कुरा पनि थिएन ।
त्यसबाट उत्पन्न स्थितिकै परिणाम राजनीतिक र शासन संचालन र न्युनतम सेवा प्रदायन क्षेत्रमा मात्र नभएर विभिन्न सामाजिक, आर्थिक, वित्तीय र व्यापारिक तथा विभिन्न सेवा र व्यवशाय क्षेत्रमा देखिएको चरम अराजकता र अव्यवस्था हो ।

त्यसरी उत्पन्न उत्पन्न अराजकता र अव्यवस्थालाई सामान्य संसदीय राजनीतिले सम्वोधन गर्न नसकिरहेको अवस्थामा जनमत र मुलुक राज्य संयन्त्र क्रमशः अधिनायकवाद मैत्री बन्दै गएको देखिन्छ ।

तर संसदीय व्यवस्था त्यहाँ फेरी वाधक बनिरहेको छ र त्यसले प्रणालीमा दवाव, तनाव र द्वन्द्व निर्माण गरिरहेको छ ।
त्यसैले संसदीय व्यवस्थालाई नै यहाँ पनि सङ्कटको श्रोतको रूपमा बुझ्ने र बताउने गरिएको छ ।
स्थायी सरकार भनेर चिनिने प्रशासन यन्त्र माथि दोष थोपरेर चोखो हुने चरम गैर जिम्मेवार र अनुत्तरदायी दाऊ खेलिँदैछ ।

पाँचौँ, भारतसँग हाम्रा समस्या, विवाद, द्वन्द्व र तनाव छन् ।
भारतसँगका शताव्दियौंदेखिका हाम्रा धार्मिक, सामाजिक, साँस्कृतिक सम्वन्ध छन् ।

त्यसमा भूगोलका सीमा शिक्षा र सन्देश पनि मिसिएका छन् ।
फेरी त्यसैमाथि मुलुकको रणनीतिक हित, स्वार्थ र हाम्रा सत्ताधारी समूह र राजनीतिक दलहरूका स्वार्थ र महत्वाकांक्षाहरू वीचको अन्तरघुलनबाट दशकौँ देखि नेपालको परराष्ट्र नीति र आन्तरिक राजनीतिले एउटा चरित्र ग्रहण गरेको थियो र छ ।

दुई मुलुक वीचको त्यो सम्वन्धले हाम्रालागि समस्या पनि उत्पन्न गरेको थियो,
नेपालको विदेश नीति र आन्तरिक राजनीतिको त्यो चरित्रले नै भारतसँगका हाम्रा समस्या, विवाद, द्वन्द्व र तनावहरूलाई सम्वोधन पनि गर्ने गर्दथ्यो ।
हाम्रो त्यो सम्वन्धका लाभ पनि थिए र हानी पनि थिए र छन् ।

हामीले हानी त हेर्यौं तर लाभ हेर्न सकेनौ, लाभलाई जगेर्ना गर्ने बारे सोचेनौ ।
लाभ जति दलका व्यक्तिले लिने,
सरकार र सत्ता मा बस्नेले लिने र हानी जति मुलुकलाई पार्ने क्रममा हामी लामो समय लागिरह्यौं ।

नेपाली राजनीति र वौद्धिक समुदायको एउटा समूह नेपालको भारतसँगको सम्बन्धलाई “विशेष सम्वन्ध”ले सम्वोधन गर्न चाहँदैन ।

तर विभिन्न आधारमा दुइ मुलुक वीचको सम्बन्ध विशेष नै छ ।
खुला सीमाना एउटा टड्कारो उदाहरण हो ।

भारतसँगको सम्बन्धको विशेष चरित्र त्यसबाट उत्पन्न हुने चुनौतीलाई दीर्घकालीनरूपमा व्यवस्थापन गर्ने उद्देस्यले र्न चीनसँगको सम्वन्ध विस्तारलाई रणनीतिक रूपमा उपयोग गर्ने एउटा शक्तिशाली आन्तरिक र वाह्य पक्ष पनि मुलुकमा क्रियाशील भइरहेको र सम्बन्धको त्यस्तो विशेष चरित्रलाई समय अनुरूप सामान्य समायोजन गरेर कायम राख्नु पर्दछ भनेर अर्को त्यस्तै पक्ष पनि क्रियाशील रहेको अवस्थामा दुई मुलुक भन्दा परका शक्ति राष्ट्रहरूको रूची र स्वार्थ समेत त्यसमा मिसिएको तर नेपाली राजनीतिले एउटा सहज, व्यवहारिक र मान्य समाधान दिन नसकिरहेको अवस्थाले पनि नेपालको राजनीतिमा सङ्कट थपिरहेको छ ।

स्पष्ट शव्दमा भन्दा,चीन लगायतका मुलुकमा आड लागेर बढी लाभ लिने, खोज्ने क्रममा हाम्रा राजनीतिक आग्रह र कुण्ठा समेत मिसाएर अव हामीले भारतसँगको सम्वन्धको त्यो चरित्रलाई संरचनात्मक रूपमा नै अन्त्य गर्ने प्रयाश गरिरहेका छौँ ।

भगवान रामचन्द्र र अयोध्याबारेको हालैको प्रधानमन्त्रीको टिप्पणी भारतसँग विद्यमान जनस्तरका त्यस्ता सघन र बहु आयामिक धार्मिक, सांस्कृतिक र सामाजिक सम्वन्धलाई तोडेर त्यसलाई औपचारिक सरकारी स्तरमा सीमित गर्ने रणनीतिक उद्देस्यले आएको देखिन्छ ।

यस्ता कुराहरूले उत्पन्न गर्ने तनाव र दवाव हाल हामीले विभिन्न रूपमा सामना गरिरहेका छौँ ।

छैठौँ, कुनै पनि मुलुकको राष्ट्रिय सुरक्षा भनेको मित्र राष्ट्रहरूसँगको सम्वन्धको सुरक्षा पनि हो ।
कथित क्रान्तिकारी नारा र राजनीतिक महत्वाकांक्षाको लडाईमा हामीले भारत र अमेरिका जस्ता मुलुकहरूसँगको सम्वन्धमा आफ्नालागि भन्दा पनि अरूकालागि पनि तनाव र द्वन्द्व बेसाइरहेका छौँ ।

त्यो द्वन्द्व र तनाव हाम्रो राजनीतिक सङ्कटको चरित्रमा रूपान्तरण हुँदैछ र भइरहेको छ !

सातौँ, पहिला कुनै स्थान विशेषमा राष्ट्र निर्माण हुन्छ र त्यसले कालान्तरमा राज्यको स्वरूप ग्रहण गर्दछ ।

यस्तो राष्ट्र र राज्य निर्माणको प्रक्रिया प्राकृतिक हुन्छ र सयौँ वर्ष लगाएर यो प्रक्रिया पुरा हुन्छ ।

बीसौँ सताव्दीमा आएर राष्ट्र र राज्य निर्माणका कृत्रिम प्रक्रिया आरम्भ भए उदाहरण पाकिस्तान र बङ्गलादेश हो ।
आज आएर पनि नयाँ नयाँ पाकिस्तान र बङ्गलादेशहरू खडा गरिदै छन् ।
पछिल्लो उदाहरण दक्षिणी सुडान हो ।

लेनिन र स्टालिनले कृतिम राज्यको रूपमा सोभियत सङ्घ निर्माण गरे ।
सत्तरी वर्ष सम्ममा त्यसले राज्यको रूपमा स्थिरता पाएन ।

माओको चीन त्यस्तै नियति भोग्दै थियो ।
देङ्ग र उनका उत्तराधिकारीहरूले आफूलाई सच्याए र पुरानो चीनको राष्ट्रिय परम्परा र संस्कृतिसँग कम्युनिस्ट शासन प्रणालीलाई जोडेर त्यसलाई राजनीतिक र ऐतिहासिक वैधता दिने कोशिश गरे र गरिरहेका छन् ।

आजको राज्य व्यवस्थालाई आज भन्दा २५-२६ सय वर्ष अघिका कन्फ्युसससँग जोडिरहेका, आफूलाई एउटा प्राचीन सभ्यताको प्रतिनिधि राष्ट्रको रूपमा प्रस्तुत गर्न थालेका छन् ।

तर नेपालमा गिरिजाप्रसाद , प्रचण्ड-बाबुराम र माधव नेपालहरूले नेपाल राष्ट्रको ऐतिहासिक पहिचानलाई मेटेर, मासेर नयाँ र कृतिम बहुराष्ट्रिय राज्यको अवधारणामा मुलुकलाई लगे ।

राष्ट्र र राज्यलाई दल जस्तै मानव निर्मित कृतिम संगठनको रूपमा बुझे ।
नेपालको आजको सङ्कट र समस्या भनेको आफ्नो राष्ट्रिय इतिहासबाट छुट्टिएको , आफ्नो धर्म, समाज, सभ्यता र संस्कृतिबाट अलगिएको गिरिजाप्रसाद , प्रचण्ड-बाबुराम र माधव नेपालहरूबाट खडा गरिएको जातिवादी र क्षेत्रीयतावादी राज्यको स्वरूपमा आएको कथित नयाँ नेपाल हो ।

आफू सर्वेसर्वा भएको समयमा सत्ता र शक्तिको अहङ्कारको नशाले चूर भएर उनीहरूले नेपाल राष्ट्र र राज्यको स्वाभाविक र प्राकृतिक परिचय खोसेर अलग बाटोमा हिँडाए ,
त्यसैको परिणाम आजको नेपाल हो ।

यो शासन प्रणालीले यी माथि उल्लेखित सङ्कट, विवाद र द्वन्द्वलाई व्यवस्थापन गर्न सक्दैन र जे जस्तो स्थितिमा हामी छौँ सजिलै अर्को विकल्पमा जान पनि दिँदैन ।

कुनै यौटै दल र शक्तिले त्यो सङ्कटलाई व्यवस्थापन गर्ने सामर्थ्य पनि राख्दैन ।
त्यसैले राष्ट्रिय सङ्कट गहिरिएको छ ।
लाग्दछ, भोली, पर्सी, निकोर्सी वा एकाध वर्ष भित्र मुलुकमा जे पनि हुन सक्दछ ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रको हित, उन्नति र योग्य व्यक्तिलाई योग्य स्थान

भारतीय टिभी च्यानलको प्रोपगान्डा वार र रेडियो पेकिङको एउटा सन्दर्भ

वर्तमान नेपाली सत्ता राजनीतिमा कमजोर भारत र शक्तिशाली चीन

किन राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न सकिएन ?

पछिल्लो कालखण्डको भारतीय राजनीतिको नेपाल परिणाम

हामीलाई स्वतन्त्र राज्यको रूपमा नेपाल किन चाहियो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !