७ मंसिर २०८१, शुक्रबार

कालापानीमा भारतीय सेना राख्न दिने सहमतिको परिवेश


कालापानी
केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई

१. कुनै समय वीपी कोइरालाका अति निकट भएर राजनीतिमा उठेका र पछि राजा महेन्द्रको अत्यन्त निकट र विश्वासी भएर विभिन्न मन्त्रालय र राष्ट्रिय पंचायत एबं गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्ष समेत रहेका विश्ववन्धु थापाले हालै नेपाली टेलिभिजनका केही अन्तर्वार्तामा १९६२ मा चीन र भारत वीच भएको युद्धपछि भारतीय प्रधानमन्त्री नेहरूले कालापानीमा सेना राख्न दिने अनुरोध सहितको पत्र राजा महेन्द्रलाई पठाएको उल्लेख गरेका छन् ।

*****

२. दोहोरो भूमिकामा रहेर नेपाली काङ्ग्रेस र वीपी कोइरालाबारे राजा महेन्द्रलाई सूक्ष्म भन्दा सूक्ष्म/गोप्य व्यक्तिगत, सरकारी र सांगठानिक जानकारी उपलव्ध गराएर सत्र साल पुस १ गतेको कदम चाल्न प्रेरक र प्रमुख सहयोगीको भूमिकामा रहेका मूख्य तीन पात्रमध्ये एक थापाका केही भनाईहरूलाई प्राप्त प्रमाण र साक्षहरूले समर्थन गर्दैनन् ।

९३ वर्षका व्यक्तिमा उमेरका कारण हुने स्मृति समस्या र केही आग्रह शेषलाई पनि अन्यथा मान्न सकिने कुरो भएन ।

*****

३. तर पनि नेपालको इतिहासका एउटा कालखण्डका महत्वपूर्ण पात्र भएकाले उनका अन्य कथन र विचारहरू भन्दा पनि माथि भनिए जस्तै कालापानीमा रहेका भारतीय सेनाको सन्दर्भ रहेकोले त्यसमा लक्षित भएर सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ ।

*****

४. क्युबामा सोभियत सङ्घले अमेरिकालाई लक्ष गरेर क्षेप्याश्त्र तैनाथ गर्ने कार्य गरिरहेको र त्यसका विरूद्ध अमेरिकाले आक्रमण गर्ने सम्भावनाले विश्व आक्रान्त बनिरहेको अवस्थामा अक्टोबर २०, १९६२ को राती चीनले भारतको लद्दाख क्षेत्रमाथि आक्रमण गरेको थियो ।

*****

५. दुई हप्ताको चरम तनाव पछि अक्टोवर २८, १९६२मा सोभियत नेता ख्रुश्चेभले एकाएक क्युबामा तैनाथ गरिँदै गरिएको क्षेप्याश्त्र प्रणालीलाई हटाइने र भत्काइने घोषणा गरे ।

अमेरिकी राष्ट्रपति जोन केनेडीले पनि क्युबा विरुद्धको समुद्री नाकाबन्दी लगाएका थिए र सोभियत सङ्घले क्युबामा रहेका बम वर्षक विमानहरू समेत हटाइने घोषणा गरेपछि नोभेम्वर २०, १९६२मा क्युबा विरूद्धको अमेरिकी नाकाबन्दी हट्यो ।

*****

६. क्युबा विरूद्धको अमेरिकी नाकावन्दी हटेको भोलीपल्ट अर्थात नोभेम्बर २१ मा चीन अरुणाचल प्रदेशमा आफूले नियन्त्रणमा लिएको भूभाग छोडेर पछि हट्यो तर लद्दाख क्षेत्रमा अक्साई चीनको भारतीय भू-भागलाई नियन्त्रणमा लिएर युद्ध बन्दीको घोषणा गर्यो ।

विश्वका महाशक्ति राष्ट्रहरू क्युवामा जुधिरहेका बखत हत्त न पत्त भारतमाथि आक्रमण गरेर तिब्बत, सिञ्जियाङ्, पाकिस्तान, अफगानिस्तान र मध्ये एसियाको भूराजनीतिलाई समेत प्रभाव पार्न सकिने संवेदनशील रणनीतिक महत्व बोकेको अक्साइ चीनको भू-भागलाई आफ्नो कव्जामा लिइहाल्ने र दक्षिण एसियामा आफ्नो रणनीतिक प्रभुत्व स्थापना गरिहाल्ने उद्देस्यले चीनले उक्त आक्रमण गरेको देखिन्छ ।

यसरी चीनले त्यस सवालमा आफ्नो चरम राजनीतिक अवशरवादिता पनि प्रदर्शन गरेको थियो ।

*****

७. भारत माथिको सो आक्रमणले नेपाललाई चिन्तित बनाएको सन्दर्भलाई उल्लेख गरेर राजा महेन्द्रले सो आक्रमणले आफूलाई स्तव्ध पारेको र वार्ता तथा शान्तिपूर्ण उपाय अवलम्वन गरेर सवै विवादको अन्त्य हुनुपर्ने विचार पनि उनले व्यक्त गरेका थिए र

त्यसपछि नेपाली काङ्ग्रेसको सशस्त्र विद्रोह अन्त्य भएको, भारतीय नाकाबन्दी हटेको र नेपाल -भारत सम्वन्ध सहज हुन गएको बारे यस अघिको अर्को प्रस्तुतिमा चर्चा भइसकेको छ ।

*****

८. अब बिश्व बन्धु थापाले उठाएको सन्दर्भमा प्रवेश गरौँ ।

चीन-भारत युद्ध चलिरहेकै बखत नोभेम्वर १०, १९६२ मा राष्ट्रिय संवाद समिति (हालको राष्ट्रिय समाचार समिति) लाई दिएको एक अन्तर्वार्तामा काङ्ग्रेसका गतिविधि विरूद्ध तीव्र आक्रोश व्यक्त गर्दै भारतले त्यस्तो गतिविधिलाई नियन्त्रण गराएको कुराको प्रशंसा गर्दै भारतीय प्रधानमन्त्री नेहरूको प्रशंसा समेत राजाले गरेका थिए ।

लगत्तै मार्चमा सरल, स्वच्छ छविका, इमान्दार, दृढ इच्छा शक्तिका स्वामी, कुशल कूटनीतिज्ञ र नेहरूले आफ्नो उत्तराधिकारीको रूपमा अघि बढाएका भारतीय गृहमन्त्री लाल बहादुर शास्त्री चार दिने औपचारिक भ्रमणमा नेपाल आएका थिए ।

****

९. त्यतिखेर राजा आफैँ मन्त्री परिषदका अध्यक्ष,डा तुलसी गिरी मन्त्री परिषदका उपाध्यक्ष र बिश्वबन्धु थापा गृहमन्त्री थिए ।

शास्त्रीले राजा, डा. गिरी र गृहमन्त्री थापासँग अन्तरङ्ग कुराकानी गरेको अभिलेख छ ।

शाश्त्रीको उक्त भ्रमणले दुई मुलुकवीच विद्यमान सवै समस्याबारे सहमतिपूर्ण समाधानमा पुगेको देखिन्छ ।

काठमाडौँमा प्रेससँग कुरा गर्दै शाश्त्रीले नेपाल भारत वीच कुनै ठूलो समस्या नरहेको जानकारी गराएका थिए ।

*****

१०. नेपालबाट फर्किए पछि मार्च ७, १९६३ मा आफ्नो नेपाल भ्रमण अत्यन्त सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी शाश्त्रीले भारतीय संसदलाई गराए ।

संसदमा उनको सम्वोधनको क्रममा खास गरेर सांसद एस. एम. बनर्जी र हरिविष्णु कामथले श्री शाश्त्रीको नेपाल भ्रमणको अवशरमा विशेष सहमति भएको सम्वन्धमा वारवार प्रश्न गरेका थिए ।

ती प्रश्नहरूद्वारा लक्षित गम्भीरतालाई मध्यनजर गर्दै भारतीय संसदका सभामुखले त्यस्ता कुरालाई सार्वजनिक जानकारीमा ल्याउन नहुने गृह मन्त्रीको आशयलाई सम्मान गर्न सांसदहरूलाई आग्रह गरेका थिए ।

त्यस पछि सांसदहरू त्यसमा सहमत भएका थिए ।

*****

११. कालापानीमा भारतीय सेना राख्न नेहरूले गरेको अनुरोध र राजा महेन्द्रको स्वीकृतिबारे बिश्व बन्धु थापाले गरेको खुलासालाई माथिको सन्दर्भले पुष्टि गर्दछ ।

अर्थात भारतीय संसदमा त्यसैको गुञ्जन प्रतिविम्वित भएको बुझ्न सकिन्छ ।

अर्को कुरो, थापा स्वयम् नेपालमा शाश्त्रीका समकक्षी गृहमन्त्री र राजा महेन्द्रका अत्यन्त विश्वस्त व्यक्ति समेत भएको अवस्थामा दुई गृहमन्त्री वीचका वार्तामा पनि उक्त प्रसङ्ग धेर थोर उठेकै हुनुपर्दछ ।

हालका अन्तर्वार्ताहरूमा बिश्व बन्धु थापाले त्यो विषयबाट आफू पन्छिन चाहेको देखिन्छ ।

वस्तुत: उनलाई राजा महेन्द्र र शास्त्री दुवैले सो बारे उनलाई जानकारी गराएको हुनु पर्दछ ।

*****

१२. त्यस पछि अगस्टमा राजा महेन्द्रको अत्यन्त सफल भारत भ्रमण भएको थियो ।

भारतीय राष्ट्रपति डा. राधाकृष्णन पनि त्यसको केही समय पछि नेपाल भ्रमणमा आएका थिए ।

ती दुवै भ्रमण सहित अगस्ट १९६४मा नेपालका परराष्ट्र मन्त्री किर्तिनिधि विष्टको निमन्त्रणामा नेपाल आएका भारतीय विदेश मन्त्री स्वर्ण सिंहको अत्यन्त सफल मानिएको नेपाल भ्रमण पछि जनवरी १९६५मा नेपाल र भारत वीच ठूलो रणनीतिक महत्व बोक्ने हातहतियार आयात सम्वन्धी सम्झौतामा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदुत सरदार यदुनाथ खनाल र भारतीय विदेश सचिव वाई. डी. गुणदिवेले हस्ताक्षर गरेका थिए ।

त्यसको लगत्तै फेव्रुवरीमा मन्त्री परिषदका उपाध्यक्ष तथा परराष्ट्रमन्त्री किर्तिनिधि विष्टले भारत भ्रमण गरेका थिए ।

*****

१३. माथि उल्लेखित सवै सन्दर्भलाई कालापानीमा भारतीय सेनाको उपस्थितिको सन्दर्भमा हेरिनु पर्दछ ।

*****

१४. यहाँ के स्मरणीय छ भने मे १९६४मा प्रधानमन्त्री नेहरूको निधन पछि लालबहादुर शास्त्री भारतका प्रधान मन्त्री भए ।

प्रधान मन्त्री भए लगत्तै उनले नेपालका लागि एक उपयुक्त राजदुत खोजी गर्न लागे ।

भारतीय विदेश मन्त्रालयका अधिकारीहरूको परम्परागत दृष्टिकोण भन्दा फरक विचार र दृष्टिकोणका एक उदार र नेपाल प्रति असाधारण रूपमा सद्भाव राख्ने व्यक्तिको खोजीको क्रममा आचार्य विनोवा भावेको निकट सम्पर्कमा रहेर गान्धीवादी अर्थतन्त्रमा अध्ययन र अनुषन्धान गरिरहेका श्रीमन नारायण उनको नजरमा आए र विनोवा भावे मार्फत नेपालमा राजदुतको जिम्मेवारी सम्हाल्न उनलाई मनाउन सफल भए ।

*****

१५. श्री मन नारायण र राजा महेन्द्र एक अर्का माथि यति धेरै विश्वास गर्दथे कि भारतीय राजदुतको यौटा अनुरोधमा सम्पूर्ण प्रक्रिया पुरा गरी चीनियाहरूलाई ठेक्कामा दिइसकिएको पूर्व पश्चिम राजमार्गको ढल्केवर मेची खण्डको निर्माण कार्यको जिम्मा भारतलाई सुम्पिने निर्णय गरिदिएका थिए ।

*****

१६. यहाँ बिर्सन नसकिने एउटा अर्को सन्दर्भ के छ भने सत्र साल पुस एक गतेको काण्डपछि भारतसँग बिग्रिएको सम्वन्धलाई सन्तुलनमा ल्याउने उद्देस्यले राजा महेन्द्रले सेप्टेम्बर २८ देखि अक्टोबर १५ सम्मको सत्र दिने लामो चीन भ्रमणमा थिए ।

१७. नेपाल -चीन सीमा सम्वन्धमा प्रारम्भिक चरणको सहमति र समझदारी त वीपी कोइराला सरकारकै कार्यकालमा भएको थियो ।

राजा महेन्द्रको उक्त भ्रमणमा त्यसलाई औपचारिक सन्धिमा रूपान्तरण गर्ने तयारी थियो ।

तर सगरमाथाको हकमा वीपी र माओ तथा चाउ एनलाईसँगको वार्तामा सगरमाथाको शिर नेपालको हुनेबारे भएको सहमतिमा केही परिवर्तन गरेर सगरमाथाको उत्तरी पानी ढलो चीनको र दक्षिणी पानी ढलो नेपालको हुने गरी सहमति गरियो ।

*****

१८. अर्को कुरो, प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीन सरकार समक्ष नेपाल- चीन जोड्ने सडक निर्माणको प्रस्ताव राखेका थिए तर चाउ एनलाईले त्यसकोलागि उपयुक्त समय नआएको बताएर त्यसलाई टारेका थिए ।

वीपी कोइरालाको चीन भ्रमणको अवशरमा चीनले त्यस्तो सडक निर्माणको प्रस्ताव राख्दा वीपीले तत्काल त्यस्तो सडक निर्माण आवश्यक नभएको बताएर त्यसलाई पन्छाएका थिए ।

राजा महेन्द्र चीनको भ्रमण सकेर नेपाल फर्किने अघिल्लो दिन मात्रै चीनले नेपाल र चीन जोड्ने तत्कालिन परिस्थितिमा विराट भू रणनीतिक महत्व राख्ने राजमार्गको प्रस्ताव राख्यो ।

त्यस्तो महत्वपूर्ण विषयलाई अन्तिम समयमा आएर आफूलाई ठूलो राजनीतिक र कूटनीतिक अप्ठ्यारोमा पर्ने गरी ल्याइएकोमा राजा महेन्द्र स्तव्ध भए ।

नेपालको राजनीति र भारतसँगको सम्वन्धको त्यस्तो संवेदनशील घडीमा चीनको प्रस्तावलाई अस्वीकार गर्ने रणनीतिक सुविधा आफूलाई नभएको अनुभव उनले गरे ।

उक्त प्रस्तावलाई अस्वीकार गर्दा सीमा सन्धि पनि खतरामा पर्ने संभावना उनले देखे ।

*****

१९. त्यस अवस्थामा नेपालको कुन कुन भूभाग भएर चीनको कुन भूभागलाई जोड्ने जस्तो कुराको मोटामोटी खाका समेत तयार नभएको अवस्थामा त्यसबारे पछि निर्णयहुने गरी यौटै मिति अर्थात १५ अक्टोवर १९६१ मा नेपाल-चीन सीमा सन्धि र नेपाल चीन सडक मार्ग निर्माण सम्वन्धी सहमतिमा दुवै मुलुकले हस्ताक्षर गरे ।

भ्रमणको अन्त्यमा प्रकाशित विज्ञप्तिमा उक्त सडक बारे स्पष्ट उल्लेख गरिएन दुई मुलुक वीच सडक यातायात विस्तार गर्ने कुरा मात्र उल्लेख गरियो ।

*****

२०. यो परिवेशले राजा महेन्द्रलाई भारतसँग पनि एउटा समझदारीमा पुग्नै पर्ने आवश्यकताको वोध गराएको र त्यसैको परिणाम १९६२को चीन भारत युद्ध लगत्तै कालापानीमा भारतीय सेनालाई अस्थायी रूपमा बस्नदिन उनी वाध्य भएको बुझ्न सकिन्छ ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

हामी यस्तै हो, नेपाल पनि यस्तै हो : देश कतिञ्जेल यसरी नै चलिरहन्छ थाहा छैन

राजा महेन्द्र कि वीरेन्द्र को उदार र प्रजातान्त्रिक ?

नेपालको इतिहासको एउटा कालखण्डको संक्षिप्त चर्चा

अनिर्वाचित संरचनाले निर्वाचित प्रधानमन्त्री हटाउन सक्दैन – विश्लेषक भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !