१३ बैशाख २०८१, बिहिबार

नेपालको इतिहासको एउटा कालखण्डको संक्षिप्त चर्चा


सुरेन्द्र, त्रैलोक्य, जङ्ग बहादुर
केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई

काठमाडौँ, जेठ २३। १. जङ्ग बहादुरले आफू पछि आफ्ना सन्तानमा श्री ३ महाराजको रोल क्रम बाँधिदिन सक्थे ।

राजा सुरेन्द्र र युवराज त्रैलोक्य पनि त्यही चाहन्थे ।

तर आफ्नो सत्तारोहणमा आफूलाई सधैँ सहयोग गरेका भाइहरूप्रति कृतज्ञता जनाउन जङ्ग बहादुरले आफूपछि आफ्ना भाइहरू र भाइहरू पछि मात्रै आफ्ना छोराहरूलाई श्री ३ को रोलमा राखिदिए ।

त्यसले निर्माण गरेको दरवारी षड्यन्त्र र असन्तोषको भनक उनले पाएका थिए तर जीवनको उत्तरार्धमा उनले त्यसलाई व्यवस्थापन गर्न सकेनन ।

रहस्यपूर्ण स्थितिमा उनको निधन भयो र उनको निधनको समाचार छोरा र ज्वाईहरूले थाहा पाउनु अघि उनका भाइ धीर समशेरले आफूले पाउने व्यवस्था गरेकाले जङ्ग बहादुरका छोरा र युवराज त्रैलोक्यलाई छलेर रणोद्वीपलाई श्री ३ मा नियुक्त गराए ।

२. केही समय पछि धीर समशेरको निधन भयो ।

रणोद्वीप आफू पछि जङ्गबहादुरका छोरा जगत जङ्गलाई श्री ३ बनाउन चाहन्थे ।

राजा सुरेन्द्रका ज्वाइ जगत जङ्गलाई श्री ३ बनाउने कुरा सुरेन्द्रले मन नपराउने कुरै भएन ।

फेरी युवराज त्रैलोक्य पनि जङ्ग बहादुर कै ज्वाइ थिए ।

यो सवै तारतम्य नियालिरहेका धीर समशेरका छोराहरूले षड्यन्त्रपूर्वक रणोद्वीप, जङ्ग बहादुरका छोराहरू नातीहरूको हत्या गरेर बीर समशेरलाई श्री ३ बनाए ।

त्यस्तो हिंसात्मक सत्ता परिवर्तनबाट असन्तुष्ट बनेका नेपाल स्थित ब्रिटिस दुत चार्ल्स एडवार्ड गिर्डलस्टोनले आफ्नो सरकार समक्ष नेपाललाई ब्रिटिस भारतमा गाभ्नु पर्ने सिफारिस गरे ।

३. ब्रिटिस भारत सरकारले सो सम्वन्धमा छलफल गर्दा नेपालले आवश्यक गोर्खा सैनिक उपलव्ध गराइरहेको,

उनीहरूलाई छनौट गर्न नेपाली भूमि उपलव्ध गराइरहेको र आवश्यक पर्दा सैन्य सहयोग समेत प्रदान गरिरहेकोले नेपालबाट पाउनु पर्ने सवै कुरा पाइसके पछि त्यस्तो गरीव र पहाडी भू-भाग किन लिनुपर्यो भन्ने निष्कर्ष निस्किएपछि ब्रिटिस भारतका तत्कालिन भायसराय लर्ड डफरिङ्गले वीर समशेरको सरकारलाई मान्यता दिएको पत्र ३० जनवरी १८८६ मा राजा पृथ्वी वीर विक्रमलाई पठाएका थिए ।

४. सो भन्दा केही वर्ष अघि अर्थात भीमसेन थापाको पतन पछि मुख्तियार भएका रणजङ्ग पाँडेले सुगौली सन्धिमा गुमेका भूभागहरू फिर्ता ल्याउन सैनिक तयारी पनि गरे ।

भारतको राम नगरमाथि आक्रमण गरे र त्यही क्रममा भारतका ९२ वटा बस्तीमाथि नियन्त्रण कायम गरे ।

युद्धको तयारी व्यापक रूपमा हुन थाल्यो ।

नेपालको राजनीतिक षड्यन्त्रको केन्द्र ब्रिटिस भारतका दुत हड्सन भएकाले उनलाई धपाउने रणनीति रणजङ्गले बनाए ।

उनलाई अपमानित गर्ने कार्यहरू पनि दरवारद्वारा गराए ।

राजा राजेन्द्रले टुँडिखेलबाट युद्धकोलागि तयार रहन उर्दी नै जारी गरिसकेका थिए ।

राजा र अन्य महत्वपूर्ण भारदारहरूको पत्र सहित गोप्य रूपमा एउटा उच्चस्तरीय प्रतिनिधि मण्डललाई पनि भारतीय राजा रजौटाहरू सँग सम्वन्ध स्थापना गर्न पठाएका थिए ।

तर उनीहरू अङ्ग्रेज सरकारको गिरफ्तारीमा परे ।

सबै पत्रहरू अंग्रेज सरकारले फेला पार्यो ।

त्यस पछि अंग्रेज सरकारले नेपालका राजालाई अत्यन्त अपमानजनक भाषा प्रयोग गरिएको चेतावनी पत्र पठायो ।

५. गभर्नर जनरलको तर्फबाट पाँडेहरूलाई हटाउन र नहटाइए नेपालले कडा मूल्य चुक्ता गर्ने बेहोरा सहितको कडा र अपमानजनक पत्र राजा राजेन्द्रलाई आए पछि राजा आत्तिए ।

त्यसको प्रत्युत्तरमा अझ नेपालको राष्ट्रिय स्वाभिमानमा अत्यन्त ठूलो चोट पुग्ने गरी क्षमा याचनाको पत्र पठाए ।

(हेर्नुहोस लुडविग स्टिलर सम्पादित लेटर्स फ्रम काठमाडौँ – दी कोट म्यासाकर) नेपालका प्रमुख भारदार हरूले त्यस्तै भाषामा अङ्ग्रेज सरकारलाई पत्राचार गरे ।

अङ्ग्रेज विरोधी मानिएका सवै प्रमुख भारदारहरू हटाइए ।

केही समय पछि सवै अनुकूल मिलाएर कालु पाँडे, वंश राज पाँडे र दामोदर पाँडेका सन्तानहरू र उनीहरूका निकटका व्यक्तिहरू एकएक गरेर काटिए ।

विरामी परेर बसेका रण जङ्गलाई आफ्ना भाइ खलकको गिंडिएको लास देखाउन लगियो । त्यसको केही बेरमै उनको पनि निधन भयो ।

६. नेपालको एकीकरणमा विशिष्ट भूमिका र बहादुरी प्रदर्शन गर्दै वीरगति प्राप्त कालुपाँडेका त्यस्तै सूरवीर र मुलुकको एकीकरणमा पृथ्वी नारायण शाहको साथ रहेर अति विशिष्ट योगदान गरेका बंशराज पाँडे दरवारी षड्यन्त्र कै क्रममा काटिएका थिए ।

एकिकरणमा र नेपाल भोट युद्धमा नेपाललाई असाधारण सफलता दिलाउने कालु पाँडेका अर्का छोरा दामोदर पाँडे पनि त्यसैगरी दरवार द्वारा टाउको छिनालिएका थिए ।

७. सन् १७९२मा नेपाल र चीन वीच भएको सन्धि अनुसार नेपाल र चीन विरुद्ध कुनै तेस्रो देश ले आक्रमण गरेमा एकले अर्कोलाई मद्दत गर्ने व्यवस्था थियो ।

१८१४मा नेपाल अङ्ग्रेज युद्ध शुरू हुनु अघि नेपालले ल्हासा स्थित चीन सरकारका प्रतिनिधि मार्फत त्यस्तो सहयोगको लागि पत्राचार गरेको थियो ।

सो पत्रको उत्तरमा चीनियाँ सरकारका प्रतिनिधिले अत्यन्त अमर्यादित र अपमानजनक भाषामा पत्र पठाए र आफूले यस्ता पत्र चीनियाँ बादशाह समक्ष नपठाउने, महाचीनका वरिपरी यस्ता अनेकौँ देश भएकाले कुनै एउटा मुलुकलाई कुनै सहयोग गर्न नसकिने,

नेपालले मागेको सहयोगमा आर्थिक सहयोगको प्रसंग रहेकोलाई इङ्गित गर्दै चीन सरकारका प्रतिनिधिले चीनले कुनै मुलुकलाई आफ्नो पैसा दिन नसक्ने र नेपालले यसरी हात पसारेकोमा समेत नराम्रो टिप्पणी गरेका थिए । ( हेर्नुहोस चित्तरंजन नेपाली जनरल भीमसेन थापा र तत्कालिन नेपाल)

यहाँ के स्मरणीय छ भने नेपालले अङ्ग्रेज सँगको युद्ध अघि नै चीन सरकार सँग त्यस्तो सहयोगको आग्रह गर्दा अङ्ग्रेज सरकारको तिब्बत र चीन रणनीति बारे पनि उल्लेख गरेको थियो ।

चीनले सो सम्वन्धमा अंग्रेज सरकार सँग पत्राचार गर्दा आफ्नो त्यस्तो कुनै लक्ष नभएको उल्लेख गरेर युद्धका कारणहरु उल्लेख गरेर पठाएको पत्र पाए पछि चीनियाँ पक्षले नेपाललाई उल्टै तथ्यहरू बङ्ग्याएको झूठो कुरा गरेको खप्की को भाषामा पत्र पठाएको थियो (लिओ रोज, स्ट्रेटेजी फर सर्भाइवल)

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

अनिर्वाचित संरचनाले निर्वाचित प्रधानमन्त्री हटाउन सक्दैन – विश्लेषक भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु