१४ बैशाख २०८१, शुक्रबार

हामी यस्तै हो, नेपाल पनि यस्तै हो : देश कतिञ्जेल यसरी नै चलिरहन्छ थाहा छैन 


नेपाल
केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई

१. सन् २००७-२००८ मा ब्रिटिस राजकुमार ह्यारी सैन्य प्रशिक्षणको क्रममा रोयल गोर्खा राइफल्सको फस्ट बटालियनमा अफगानिस्तानमा कार्यरत थिए ।

त्यतिखेर उनलाई गोर्खा सैनिकहरुसँग रहेको उनलाई कहिले जानकारी भयो भन्ने प्रश्न सोधिँदा उनले जवाफ दिए गोर्खा सैनिकहरूको वीचमा भन्दा सुरक्षित अर्को स्थान दुनियाँमा कहीँ पनि छैन ।

*****

२. सिङ्गापुरका उच्च अधिकारीदेखि आम मानिसमा पनि गोर्खा सैनिकहरूका प्रति त्यही धारणा रहेको पाइन्छ ।

भारतीय सेनामा र अन्य सेवामा पनि गोर्खालीहरू उम्दा मानिन्छन ।

आफ्ना सेवामा रहेका गोर्खाली र नेपालीहरूका लागि भारतको आम भाषा बहादुर हो ।

यो बहादुर शव्दले भारतमा राखेको महत्व नै भारतका एक पूर्व प्रधानमन्त्रीको नाम लाल बहादुर शास्त्री रहेको हुन सक्दछ कि ?

नेपालमा भारतका एक राजदुत थिए – राज बहादुर !

बहादुर नेपाली !!!

राष्ट्र संघीय शान्ति सेनामा नेपाली सैनिकहरू विश्वमा अब्बल भनिन्छन, कुनै पनि जिम्मेवारीका लागि श्रेष्ठ सैनिक मानिन्छन ।

*****

३. तर ४/५ हजार नेपाली सेनाको माझ राजा वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या भयो ।

माओवादीले ब्यारेकमै नेपाली सेनालाई सखाप पारे, सवै हातहतियार लुटेर लगे ।

जनताको रक्षाको कुरै छोडौँ सेनालाई आफ्नै ब्यारेकहरू जोगाउन धौ-धौ थियो ।

न राजा जोगिए न आम जनता !

सेना, प्रहरी र सवै राज्य संरचनाहरू सदरमुकाममा गुडुल्किएर, थर्थरी कामेर बसेका हुन् !

जनता भगवान भरोसे !

*****

४. सेनाले नेपालमा राम्रो पब्लिक स्कूल-कलेज चलाएको छ,

मेडिकल कलेज चलाएको छ,

पेट्रोल पम्प चलाएको छ,

पसल चलाएको छ, बाटो खनेको छ, ठेक्का पट्टा लिएको छ ।

बन पालेको काम गरेको छ ।

तर सैन्य कर्म ???

*****

५. नेपालका राजनीतिक दल पनि कम छैनन् ।

आन्दोलन र क्रान्ति उनीहरूको प्यासन बनेको छ ।

अरुले यौटै आन्दोलन र क्रान्तिबाट आफ्नो राजनीतिक, आर्थिक र सामाजिक लक्ष प्राप्त गर्न सफल भए ।

हामीलाई बारम्बार क्रान्ति र आन्दोलन गर्नु परेको छ ।

अरूलाई यौटै संविधानले पुगेको छ, एउटै संविधान मार्फत प्राप्य सवै प्राप्त छ उनीहरूलाई !

हाम्रा हरेकलाई नयाँ संविधान लेख्नु पर्दछ ।

हाम्रा नेताहरू १४-१५ बर्ष जेल बसेका छन् ।

देश-विदेश देखेका बुझेका छन् ,

पढेका पनि छन् ।

तर सरकार चलाएको र पार्टी चलाएको हेर्दा ???

*****

६. यहीँका यिनै सरकारी स्कूल र कलेजमा पढेकाहरू दुनियाँको कुनै पनि उत्कृष्ट विश्वविद्यालयमा प्रवेश पाउने ल्याकत राख्दछन् ।

ती विश्वविद्यालयबाट उत्क्रिष्ट नतिजा सहितको परीक्षा परिणाम आर्जन गरेका छन् ।

विश्वका नामी र ठूला व्यवशायिक प्रतिष्ठानहरूमा र त्यहाँका सार्वजनिक सेवाका क्षेत्रमा असाधारण क्षमता प्रदर्शन गरेका छन् ,

तर उनीहरू जव नेपालमा आएर काम गर्न थाल्दछन — स्तरहीन, गतिहीन, उर्जाहीन र सङ्कल्पहीन भएर साधारण नेपाली कर्मचारी, हाकिम, सांसद , मन्त्री बनेर सकिन्छन् ।

*****

७. हाम्रा श्रमिकहरू आगोको मुस्लो आउने जस्तो तातो ठाउँमा राम्रो काम गर्न सक्दछन , बाह्रै महिना हिँउ पर्ने ठाउँ, बाह्रै महिना पानी पर्ने र कहिल्यै पानी नै नपर्ने ठाउँमा दैनिक १८ घण्टा काम गरेर खान सक्दछन् ।

तर दुनियाँकै उत्कृष्ट हावापानी र भूगोलमा आफ्नो परिवारका साथमा रहेर ६-८ घण्टा काम गर्न सक्दैनन् ।

*****

८. तिनै मानिस अन्यत्र गए आजीवन उत्पादक भएर बाँच्न चाहन्छन् नेपालमा आए बाँचुन्जेल राजनीतिमा लागेर सुतेर र ठगी खान मात्रै जान्दछन् ।

अन्यत्र गए कुकुरको दिसा रूमालमा उठाएर घरमा ल्याउँछन् वा निश्चित ठाउँमा लगेर ठेगान लगाउँछन्, नेपालमा भए सडकमा र पार्कमा कुकुर हगाउन लैजान्छन् ।

*****

९. संसारको सवैभन्दा अवैज्ञानिक विचार हामीकहाँ सवैभन्दा वैज्ञानिक बन्दछ ।

भ्रममा बाँच्न हामीलाई औधि मन पर्दछ ।

आडम्बर, झूठ र असत्य हाम्रो राजनीतिक र सामाजिक जीवनको अङ्ग बनेको छ ।

हाम्रो लागि संसद र सडक एकै हो ।

हामीलाई निर्वाध लुटेर खान मात्रै राष्ट चाहिएको हो ।

सत्तरी बर्षदेखिको संविधान सभाको हाम्रो सङ्घर्षपूर्ण प्रतीक्षा पछिको संविधान सभाले सुतेको खाएको दिसा पिसाव गर्न गएको समेत समय जोड्दा सत्तरी घण्टा मै संविधान पास गर्ने मुलुक हो हाम्रो ।

*****

१०. एउटा सामान्य कानुन, अध्यादेश वा संसदीय अनुमोदन चाहिने कुनै अनुदान सम्झौतालाई पार्टीभित्र व्यापक छलफलको माग हुने हाम्रो मुलुकमा सम्विधान पारित हुँदै गर्दा कुनै पार्टी प्रणालीमा छलफल भएको सुनिएन -पढिएन ।

जुन संविधानबारे पार्टीमा कहिल्यै छलफल भएन त्यो संविधानको एउटा अनुसूचीको कुनै व्यवस्थाको संशोधन नगरी नहुने व्यवस्थालाई संशोधन गर्दा हामीले पार्टीमा व्यापक छलफलको आवश्यकता देख्ने गर्दछौँ ।

*****

११. नेपालको मानिएको तर आधिकारिक रूपमा नेपालको नक्सामा समावेश नभएको दुई मुलुक वीच विवादित रहेको भू-भाग सम्वन्धमा ओली सरकारले आफ्नो औपचारिक दृष्टिकोण राखेकै थियो ।

त्यो दुई मुलुक वीचको सघन कूटनीतिक वार्ता र लेनदेनको विषय थियो ।

तर प्रचण्ड माधव नेपाल गूटले प्रधानमन्त्री ओलीलाई राजनीतिक र कूटनीतिक अप्ठेरोमा धकेल्ने उद्धेश्यले सीमा सम्वन्धी नेपालको दावीलाई तत्काल राष्ट्रपतिको सम्वोधनमा समावेश गर्न सचिवालयको बहुमत जुटाएर दवाव दियो ।

केही दिन अघि मात्रै फरक राय सहित सार्वजनिक भएका ओलीलाई त्यसैको आडमा राजनीतिक रूपमा खुइल्याउन सम्म खुइल्याउने र प्रधान मन्त्रीको रूपमा टिक्न नदिने रणनीति त्यस भित्र रहेको बुझ्न सकिन्छ ।

*****

१२. सरकार चलाउने कुरामा जे जस्तो कमी कमजोरी देखिएपनि राजनीतिक आत्मरक्षा र प्रतिरक्षाको सवालमा प्रधानमन्त्री ओलीको छैठौँ इन्द्रिय अत्यन्त जागरूक देखिन्छ ।

सचिवालयको बहुमतले ल्याएको उक्त सवाललाई उनले आफ्नो आत्म रक्षाको मात्रै नभएर आफ्नो राजनीतिक पूँजी निर्माणको अचूक साधनको रूपमा स्वीकार गरे ।

पार्टीमा समेत आफ्ना विरोधीलाई ठेगान लगाउने हतियारको रूपमा लिए ।

तत्काल राष्ट्रपतिको सम्वोधनमा उक्त विषय समेटिदिए, नयाँ नक्सा पनि जारी भयो ।

सो अनुरूप संविधान संसोधनको प्रस्ताव दर्ता गराए ।

*****

१३. उक्त भू-भाग आजको भोली नै नेपालले प्राप्त गर्ने त होइन,

लामो राजनीतिक र कूटनीतिक यात्रा तय गर्नुपर्दछ त्यसको लागि ।

यो बाँकी अढाई वर्ष ओलीजीलाई हटाउने कोशिश कसैले गर्ने हो भने उक्त भू-भाग नेपालमा ल्याउने प्रयासमा वाधा पुर्याउने उद्धेश्यको रूपमा चित्रित हुनेछ ।

अर्को चुनाव उनको पार्टीले त्यसैको नाममा लड्नेछ ।

अघिल्लो पटक लिम्पियाधुरा – लिपुलेक र कालापानी नक्सामा ल्याइयो अवको पटक भू-भाग नै ल्याइने नाराका सामू अरू नारा ???

ओलीजी कुनै कारणले पार्टी सभापति र प्रधानमन्त्री हुन सकेनन् भने जो ओलीप्रति जो जत्ति बढी बफादार हुन्छ,

जसले ओलीजीलाई आफ्नो आदर्श मान्दछ,

जसले उनको नाममा चुनाव लड्छ पार्टी सभापति र प्रधानमन्त्रीमा उसको दावी र सम्भावना उत्तिकै बलियो बन्न पुग्दछ ।

ओलीजीका विरोधी र उनलाई सताउने भनी चिनिएकाहरू राम राम … ???

नेपालको राजनीतिक अभ्यासको चरित्र यही हो ।

*****

१४. अन्त्यमा, आफ्नै पार्टीभित्र वा बाहिरबाट सरकारका अक्षमता र अभाव विरूद्ध पार्टी फोरम वा सडकमा उठ्ने हरेक आवाजलाई गुमेको भूभाग फिर्ता ल्याउने सरकारको प्रतिबद्धता विरूद्दको षड्यन्त्र र राष्ट्रघातको रूपमा चित्रण गर्न ओली र सरकार पक्षलाई छेक्न कसैलाई निकै सकस पर्ला नै !

सरकार विरूद्धका हरेक कदम सरकारलाई भू-भाग फिर्ता ल्याउनबाट रोक्ने वाह्य शक्ति प्रेरित गतिविधिको ठप्पा लगाइदिन कसले छेक्ने अव ।

ओली समर्थकहरूलाई प्राप्त हुने भयो राजनीतिक संजीवनी बुटी !

महा मृत्युन्जय मन्त्र !

ओलीजी पदमा रहेपनि र नरहेपनि एउटा आदर्श राष्ट्र नायक !

यो त अमोघ सुरक्षा कवच भयो ओलीजीलाई !

त्यसैले यो व्यवस्था रहिरहे यसैगरी जाला अर्को एक दुई चुनाव !

आफ्नो राजनीतिक भविष्यको लागि आवश्यक देखिए ओलीले एमसीसी फालिदिन्छन ।

एमसीसीको विरोधी ओली होइनन्, प्रचण्ड, झलनाथ, माधव नेपाल समूह हो भनेर चिनाइदिए, पुग्यो उनलाई ।

एमसीसीको खारेजीले लाभ ओलीजीलाई, नोक्सानी प्रचण्ड-माधव नेपाल समूहलाई !

नक्साको सवाल ???

राजनीतिक लाभ आफूलाई, रणनीतिक नोक्सानी विरोधीलाई यही हो ओलीको मास्टर स्ट्रोक !

*****

१५. हामी यस्तै हौँ !

यसरी नै चलिरहेको छ र चल्ने हो हाम्रो देश !

तर कतिञ्जेल हो भगवान जानुन !

*यो लेखकको निजी नितान्त धारणा हो ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।

यो पनि पढ्नुहोस्

राजा महेन्द्र कि वीरेन्द्र को उदार र प्रजातान्त्रिक ?

नेपालको इतिहासको एउटा कालखण्डको संक्षिप्त चर्चा

अनिर्वाचित संरचनाले निर्वाचित प्रधानमन्त्री हटाउन सक्दैन – विश्लेषक भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !