६ बैशाख २०८१, बिहिबार

ए मेरो हजुर -२ को आक्रमक व्यापार 


भाद्र १९ , काठमाडौँ | आफू निर्देशित पहिलो फिल्म ‘ए मेरो हजुर–२’ले आक्रामक व्यापार गरेकोमा झरना थापा पुलकित भएकी छिन् । शुक्रबारदेखि राजधानी र मोफसलका झन्डै ६ दर्जन हलमा एकसाथ प्रदर्शनरत फिल्मले बिहीबार राति सम्पन्न प्रिमियर सोबाटै उत्साहजनक प्रतिक्रिया पाएको थियो ।

‘प्रिमियरमा फिल्मकर्मी, सञ्चारकर्मी र आफन्तबाट उत्साहजनक प्रतिक्रिया पाएँ । तर, पनि दर्शकले कस्तो मान्छन्, त्यसमा भने चिन्तित थिएँ,’ आइतबार निर्देशक झरनाले भनिन्, ‘हलमा फिल्म के होला भनेर रातभरि नै निद्रा लागेन ।’ पहिलो निर्देशन, त्यसमाथि आफ्नै लगानी, हलमा पर्याप्त दर्शक आउलान् कि नआउलान् भनेर निकै चिन्ताका साथ रात गुजारे पनि बिहानीले झरनामा खुसी सञ्चार गरिदियो ।

‘निकै मिहिनेत र लगावका साथ काम गरेकी थिएँ । तर, पनि कहिलेकाहीँ परिणाम आफूले सोचेजस्तो नआउन सक्छ,’ उनले भनिन्, ‘त्यसैले बाहिर जति नै कन्फिडेन्स देखाए पनि मनमा कताकता डर भने लुकिरहेको हुँदो रहेछ ।’ ए मेरो हजुर–२ ले राजधानी र मोफसलका मल्टिप्लेक्स तथा सिंगल थिएटरमा समेत हाउसफुल, कतै ओभर फ्लोको व्यापार गरिरहेको छ । ‘मोफसलका कतिपय हलमा अहिलेसम्मकै रेकर्ड तोडेको खबर आएको छ |

झरना र सुनीलकुमारसहित ए मेरो हजुर–२ का प्रमुख कलाकार सलिनमान बनिया, साम्राज्ञी शाह र सलोन बस्नेत शनिबार राजधानीका केही हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका थिए । दर्शकको भिड देखेर आफ्ना आँखा रसाएको झरनाले बताइन् । ‘दर्शकको अपार माया देखेर मेरा आँखा रसाएर आए,’ झरनाले भनिन्, ‘मैले अहिलेसम्म सवा एक सयभन्दा बढी फिल्ममा अभिनय गरेँ, तर यत्तिको दर्शकको भिड कुनैमा पनि देखेकी थिइनँ ।’

‘सबैको साथ पाएर सफल भएँ, म निकै खुसी छु,’ झरना भन्छिन्, ‘दर्शकले मलाई अभिनेत्रीका रूपमा जति माया गर्नुभएको थियो, त्योभन्दा पनि बढी निर्देशकका रूपमा ए मेरो हजुर–२ बाट माया र सम्मान पाएकी छु । मेरो हौसला बढेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !