तानसेन, २५ फागुन । यहाँका कुमाल समुदायले आफ्नो समुदायका लोपोन्मुख व्यवसाय, भाषा, कला तथा संस्कृति प्रवद्र्धनमा थप जुट्ने प्रतिवद्धता जनाएका छन् । नेपाल कुमाल समाज सुधार समिति पाल्पाको चौथो जिल्ला अधिवेशनका सहभागीले यसका लागि राज्यले सहयोग गर्न आवश्यक रहेको औँल्याए ।
शनिबार यहाँ आयोजित कार्यक्रममा समितिका केन्द्रीय सदस्य सावित्रा कुमालले आफ्नो समुदायको हकहित र अधिकारको संरक्षण गर्न समुदाय स्वयं जुट्न आवश्यक रहेको र संस्कृति संरक्षणमा एकजुट हुनुपर्ने बताउनुभएको छ । “जिल्लामा करिब छ स्थानीय तहका विभिन्न स्थानमा कुमाल समुदायको व्यवसाय न्यून रहेको र पेशालाई प्रोत्साहन गर्न राज्यले पहल गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडासदस्य लोकमाया कुमालले अहिले कुमाल समुदायका युवामा माटोका भाँडा बनाउने सीप अभाव रहेको बताउनुभयो । रामपुर नगरपालिका, बगनासकाली, रैनादेवी छहरा, माथागढी, रिब्दीकोट गाउँपालिका र तानसेन नगरपालिकालगायतका क्षेत्रमा कुमाल समुदायको बसोबास छ । पाण्डुरे नाच अर्थात् नचरी लोकसंस्कृतिको रूपमा सो समुदायमा परिचित छ ।
भाषा र सीप हस्तान्तरण नहुँदा पछाडि परेको रामपुरका गणेशकुमार कुमालले बताउनुभयो । रामपुर हेक्लाङ कुमालगाउँका यमकान्त कुमालले भन्नुभयो, “पहिले–पहिले धान, चामल, आलु, भट्ट, बोडीलगायत अन्न, तरकारी बालीलाई मानापाथीको भाउमा भाँडा बिक्री हुन्थ्यो, त्यसबाटै जहान पालिन्थ्यो तर रु २५ हजारसम्म कमाइ हुने गर्छ ।”